सुर्खेत । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले साना दलहरु फुटाउने योजना बनाएको भन्ने कुरा हल्लामात्रै भएको बताउनुभएको छ । उहाँले सरकारले दलहरु फुटाउने योजना गरेको भन्नु बाहिरी हल्लामात्रै भएको र त्यस्तो काम नगर्ने उल्लेख गर्नुभयो ।
पार्टी कार्यक्रममा आइतवार सुर्खेत आएका बखत नेपाल प्रेस युनियन सुर्खेतले गरेको पत्रकार सम्मेलनमा उहाँले दलहरु फुटाउने योजना बनाएको भन्नु सरकारविरुद्ध चलाइएको हल्लामात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले सरकारले सदन नचलेको बेला विभिन्न अध्यादेशहरु ल्याएको र ६० दिनभित्र ती अध्यादेशहरु पारित गर्न दलहरुसँग गृहकार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले नियम र विधिसम्मत अध्यादेशहर ल्याएको भन्दै उहाँले पारित गराउनका लागि छलफलहरु भइरहेको र ६० दिनभित्र पारित हुने जिकिर गर्नुभयो ।
यस्तै उहाँले जनताको राजनीतिक स्थायित्व होस् भन्ने चाहना पुरा गराउनका लागि काँग्रेस र एमालेले गठबन्धन गरेर सरकार गठन गर्नुपरेको उल्लेख गर्नुभयो । मुलुक राजनीतिक अस्थिरताले गर्दा झन पछाडि परेको, भ्रष्टाचार बढ्दै गएको र विभिन्न बेथिति बढेकोले राजनीतिक स्थायित्वका लागि जनचाहना अनुसार नै काँग्रेस र एमाले मिलेर सरकार गठन गर्नुपरेको उहाँको भनाइ छ । कांग्रेस र एमाले मिलेर बनेको सरकारले राजनीतिक स्थायित्व दिन प्रयासरत रहेको र कार्यसम्पादन मूल्याङ्कन गरेर काम गरिरहेको उपप्रधानमन्त्री सिंहले बताउनुभयो । जनताले चमत्कारिक रुपमा विकास र सुशासन चाहेको तर परिस्थिति सो अनुकूल नभएकोले क्रमशः अगाडि बढिरहेको उहाँले जनाउनुभयो।