मैतिदेवीमा खुकुरी प्रहार गरि लुटपाट गर्ने गिरोहका पाँच पक्राउ

15.5k Shares

काठमाडौं, पुस १७ । काठमाडौंको मैतिदेवीमा खुकुरी प्रहार गरी नगद लुटपाट गर्ने गिरोह पक्राउ परेको छ । यही पुस १५ गते दिउँसो मैतिदेविस्थित सन्दुस बचत तथा ऋण सहकारी संस्थामा मार्केटिङको काम गर्ने प्रेम गजमेरले मार्केटबाट कलेक्शन गरेको नगद एक लाख ६६ हजार नौ सय १५ र सहकारीका अन्य कागजात तथा चेकबुक सो समूहले खुकुरी प्रहार गरी लुटपाट गरेको थियो ।
चाबहिल स्थित ए वान क्याफे नजिक पुग्दा सो समूहले गजमेरलाई खुकुरीले प्रहार गरि घाइते बनाएर लुटपाट गरी फरार भएको प्रहरीले जनाएको छ । खोजतलासका क्रममा लुटपाट गरि लगेको नगद, सहकारीका कागजपत्र, झोला तथा पीडितलाई प्रहार गरेको खुकुरी थान २ तथा चोरी गरेका ४ वटा स्कुटर र १ थान मोटरसाइकलसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं असन बस्ने रोहन नेपाली शाही (२९ वर्ष), थानकोट बस्ने भय तुलाधर, (२२ वर्ष), जुम्लाको सिंजा घर भई बसुन्धरा बस्ने हरि शर्मा (२६), चक्रपथ बस्ने अमित तुलाधर (२७) र सोही स्थानका रोहित शाही (१८ वर्ष) रहेका छन् ।
प्रारम्भिक अनुसन्धानको क्रममा निजहरुले उपत्यकाका बिभिन्न स्थानबाट मोटरसाइकल तथा स्कुटर समेत चोरी गरि चलिरहेको गाडिबाट बिभिन्न सरसामानहरु जस्तै चुरोट, कपडा, टीभी तथा अन्य ईलेक्ट्रोनिक्स सामान पटक– पटक चोरी गरेको खुलेको छ । पक्राउ परेका व्यक्तिहरु उपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार