आमुल परिवर्तन गर्ने तयारीका साथ पुराना र बदनाम हटाउँदै डिआइजी राणा

29.3k Shares

हेटौंडा । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख डिआइजी किरण राणाले आफ्नो मातहतका प्रहरी कार्यालयहरूमा आमूल परिवर्तन गर्ने तयारी गरेकी छन् । 
तर उनी आफ्नो अभियानमा सफल हुन सक्छिनसक्दिनन् त्यो भने हेर्न बांकी नै छ । नेपाल प्रहरीमा लामो समयदेखिको एउटा रोग छ त्यो भनेको दशौं बर्षसम्म पनि एकै ठाउँमा कार्यरत रहने, दरबन्दी अन्यत्र भए पनि दरबन्दीमा नगई सुबिधा सम्पन्न र अतिरिक्त आम्दानी हुने ठाउँमा मात्रै बस्ने । यसबाहेक मुद्दा शाखा र घुमुवाहरूको हकमा त उनीहरूलाई नियम नै लाग्दैन । किनकि आफ्नो हाकिम मात्रै होइन जिल्लादेखि प्रदेश र मुख्यालयको सम्बन्धित प्रमुखसम्मलाई नजरना चढाएर दशौं बर्षसम्म एकै ठाउँमा बस्ने गरेको देखिन्छ । कुनै पनि प्रहरी महानिरीक्षकले यो सेटिङको अवस्था हटाउन सकेनन् । अहिलेका महानिरीक्षकले काजमा बस्नेलाई दरबन्दीमा पठाउने अभियान चालेपनि त्यो पूर्णरूपमा कार्यान्वयनमा आउन सकेको छैन । 
बागमती प्रदेश प्रहरी प्रमुख किरण राणाले अहिले दुई बर्षभन्दा बढी बसेका सिपाहीदेखि सई दर्जासम्मका प्रहरीलाई प्रदेश मातहत सरूवाको अन्तिम तयारी गरेकी छिन् । अझ घुमुवा र मुद्दा शाखामा बस्नेलाई उनले अनिवार्य सरूवाको तयारी गरेकी छिन् । मकवानपुर र चितवन जिल्लामा त पन्ध्र बर्षदेखि बस्नेहरू पनि रहेको उनलाई सूचना पुगेको थाहा भएको छ । दरबन्दी जिल्ला मात्रै नभएर प्रदेश बाहिर भए पनि दरबन्दीमा नगएर  मकवानपुर र चितवनमा मात्रै बस्ने, कहिले घुमुवा, कहिले मुद्दा, कहिले मालदार चौकीमा टेण्डर हालेर जाने अनि गाँजादेखि काठ र गिट्टीबालुवाको तस्करी गराउने जस्ता काममा लागेका प्रहरीहरू धेरै छन् । यस्ता बदनाम जसले प्रहरी संगठन र बर्दीको दुरुपयोग गरेका छन् उनीहरूलाई सरूवा गरेर रमाना गराउन सके डिआइजी राणाको सराहनीय काम हुने प्रहरी अधिकारीहरू बताउँछन् ।
यसबाहेक ट्राफिक प्रहरीमा यो समस्या झन् विकराल छ । काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, रसुवा, धादिङ, नुवाकोटमा ट्राफिक प्रहरीको अतिरिक्त कमाई मकवानपुर र चितवनका ट्राफिकको भन्दा पनि धेरै हुनेहुनाले यहाँ कार्यरत ट्राफिक प्रहरीहरू अन्यत्र जान चहादैनन् ।  सरूवा वा काज भैहाले पनि चौतर्फी सोर्सफोर्स लगाएर साविककै ठाउँमा  बस्ने गर्दछन् । उनीहरूको पनि आमूल परिवर्तन गर्ने तयारीमा डिआइजी राणा रहेको थाहा भएको छ ।
वर्तमान प्रहरी महानिरीक्षक बसन्त कुंवरले नेतृत्व लिएपछि मकवानपुर प्रहरीले पहिलोपटक सुन पक्राउ गरेको छ । तस्करीको सुन पक्राउ परेपछि भने सुनको तस्करी भैरहेको पुष्टि हुन्छ । काठमाडौबाट गएको सुन कति प्रहरीको चेकिङ भए पनि कसरी हेटौंडामा बरामद भयो भन्ने प्रश्न पनि उठेको छ । काँचो सुन बिस्कुट नै बरामद भए पछि कि त उक्त सुन एयरपोर्ट या त रसुवाबाट तस्करी भएको पुष्टि हुन्छ । कसको सेटिङमा उक्त सुन मकवानपुरसम्म पुग्यो ? गम्भीर प्रश्न उठेको छ । रक्सौल बस्ने भारतीय नागरिकले लगानी गरेको उक्त सुन बिरगंज बस्ने नेपालीले भरियाको रूपमा बोकेर लगेको अवस्थामा बागमती प्रदेशको सुराकीमा मकवानपुर प्रहरीले बरामद गरेको थियो ।

सम्बन्धित समाचार