प्रचण्डको ज्यान लिनेदेखि जेल हाल्ने षड्यन्त्र

20.1k Shares

काठमाडौं । नेपालको राजनीतिका व्यवहारवादी र यथार्थवादी नेताको पहिचान स्थापित गरेका नेता बनेका छन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । उनले आफ्नो इच्छा मात्र नभई सिद्धान्तलाई नै बली चढाएर भएपनि देश र जनताको हितमा निर्णय लिन चुकेनन् । जनवादी शासन ल्याउने उद्देश्यका साथ सशस्त्र जनयुद्धमा होमिएका उनले धेरै रगत नबगोस् भनेर शान्ति सम्झौता गरे । प्रचण्ड विस्तारै लचिलो बन्दै देशका हितमा एकपछि अर्को निर्णय गर्न पुगे । उनकै कारण देशमा गणतन्त्र आयो । संघीयता र धर्मनीरपेक्ष प्रचण्डकै योगदान हो । तर, जुनसुकै प्रणाली देश हितमा छैनन् भने प्रचण्ड त्यसलाई उल्टाउन पछि हट्दैनन् । उनले पटक पटक आफैले स्थापना गरेका दलहरु नै बिघटन गरेको इतिहास साक्षी छ ।

प्रचण्ड धर्ममा विश्वास गर्दैनन् भन्ने सन्देश प्रवाह गरिएको थियो । तर, उनले भारतको मध्यप्रदेशस्थित महाकालेश्वरको दर्शन गरेर सबैलाई छक्क पारे । ब्राम्ह्ण परिवारमा जन्मिएका प्रचण्डले गेहरु वस्त्र लगाएरै दर्शन गरे । त्यसपछि स्वदेश फर्किएर पशुपतिनाथको दर्शन गरे । हिन्दू धर्म विरोधीहरु प्रचण्डको कदमबाट आत्तिए । उनी हिन्दू परिवारमा जन्मिएका हुन् र धर्मकर्ममा विश्वास गर्छन् भन्ने सन्देश गएको छ । तेस्रोपटक प्रधानमन्त्री बनेपछि प्रचण्ड दौरा सुरुवालमा देखिए । धेरैलाई यसले झड्का दियो । अहिले प्रचण्ड प्रायः दौरा सुरुवालमै देखिन्छन् ।

भारत भ्रमणबाट प्रचण्डले महत्वपूर्ण उपलब्धि हासिल गरे । विद्युत व्यापार, जलविद्युत आयोजनामा महत्वपूर्ण सम्झौता भयो । सीमा समस्याका विषय उठाए । प्रचण्डले खुलेर राष्ट्रहितमा आवाज उठाए । यसबाट विरोधीहरु आत्तिएका छन् । प्रचण्डले कुनैपनि बेला देशमा धर्मनीरपेक्षतालाई परिवर्तन गर्न कदम चाल्न सक्छन् भनेर आत्तिएका हुन् । यसबाट त्रसित भएकाहरु उनीविरुद्ध षड्यन्त्रमा लागेका छन् । त्यसो त प्रचण्डले शरणार्थी प्रकरणमा मैं हुँ भन्नेको छानविन गरेपछि घेराबन्दीको प्रयासहरु भइसकेको थियो । प्रचण्डले स्वयंले आफ्नो ज्यानको खतराबारे उजागर गरेका थिए । उनले जेठ महिनामा आफूलाई मार्ने षड्यन्त्र भएको बताएका थिए । आफूले भ्रष्टाचारविरुद्ध कडा कदम चालेको भन्दै प्रचण्डले ठूलै षड्यन्त्रको विषय उठाएको थियो । त्यसको केही हप्तामै प्रचण्डविरुद्ध मुद्दा दर्ताको आदेश जारी भयो ।

लेनिन बिष्टले दायर गरेको युद्ध अपराधको रिट दरपीठ भएपनि दर्ताको आदेश हुनेवित्तिकै सुनुवाई भयो । मुद्दाले अग्राधिकार पनि पाएको छ आज । लेनिन बिष्टलाई आफूलाई मानवअधिकारवादी दाबी गर्ने ठूलै समूहले उचालिरहेको छ । उनी हेग समेत पुगेर फर्किइसकेका छन् । यसमा पनि ठूलै गिरोहको साथ मिलिरहेको छ । बिष्टको रिट दरपीठ भइरहँदा अचानक दर्ता गर्ने आदेश आयो । त्यसपछि प्रचण्डको राजीनामाको माग संसदमा गरियो । माग गर्ने थिए राप्रपा सांसद ज्ञानेन्द्र शाही । यो सबै योजना अनुसार नै भएको देखिदै गएको छ । रिटमा प्रचण्ड र बाबुरामलाई लिखित जवाफ पेश गर्न भनिएको छ । मुद्दाले अग्राधिकार पनि पाएको छ । यसो हुनुमा प्रचण्डविरुद्ध ठूलै षड्यन्त्रका संकेतहरु देखिन थालेका छन् ।

त्यसो त लेनिन बिष्ट प्रचण्डलाई हेग लाने चेतावनी दिँदै आएका थिए । प्रचण्ड र बाबुरामविरुद्ध दर्ता भएको रिटमा बिष्टले बालसेनाका रुपमा प्रयोग गरी युद्ध अपराध गरेको आरोप लगाएका छन् । प्रचण्ड नेतृत्वको माओवादीले सशस्त्र गतिविधिका बेलामा ठूलो संख्यामा बाल सैनिक प्रयोग गरेको रिटमा भनिएको छ । बिष्टले बालसैनिक भएकै आधारमा लडाकु शिविरबाट अयोग्य घोषित गरी निकालिएको रिटमा उल्लेख गरेका छन् । लेनिन बिष्ट बर्हिगमित जनमुक्ति सेना, नेपालका अध्यक्ष हुन् । बिष्टले सशस्त्र द्वन्द्वकालमा माओवादीले २०५९ मा आफूलाई सैन्य भर्ती गर्दा १३ वर्ष मात्र भएको उल्लेख गरेका छन् । संयुक्तराष्ट्रसंघीय नेपालस्थित मिसनको भेरिफिकेशनले २९७३ जनालाई बाल सैन्यको रुपमा सूचीकृत गरेको थियो । नेपालमा २०६३ सालमा माओवादी सशस्त्र गतिविधि अन्त भएको थियो । शान्ति प्रक्रियाका दौरान माओवादी लडाकुको समायोजन हुँदा अनमिनले बालसैनिकलाई अयोग्य घोषित गरेको थियो । जसका कारण बालसैनिकको प्रयोगको विषय उठ्दै आएको छ । यसरी विषय उठाएर प्रचण्डलाई डर त्रास देखाउन एउटा समूह नै लागेको छ । प्रचण्ड निरन्तर त्यस्ता समूहसँग जुधिरहेका छन् । झन् उनले मन्दिर प्रवेश गरेपछि त्यस्ता समूह आत्तिएका छन् ।

सम्बन्धित समाचार