काठमाडौं । नेपाली कांग्रेसले सरकारको भ्रष्टाचारजन्य गतिविधि, सरकारको अधिनायकवादी शैलीविरुद्ध देशभरिका तरुण, खेलाडी र युवाहरूलाई मंसिर २९ गते देशैभरि प्रदर्शन गर्ने भएको छ ।
सो प्रदर्शनलाई सशक्त र प्रभावकारी बनाउनका लागि नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनसहितका युवा तथा खेलाडीहरूलाई पार्टी सभापति शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।
नेका पार्टी सभापति देउवा निवास बुढानिलकण्ठमा बुधबार भएको भेटवार्तामा सभापति देउवाले मंसिर २९ गतेको पार्टीले देशैभरि गर्न लागेको सरकारविरुद्ध प्रदर्शनलाई भव्य बनाउन खेलकुद विभाग सचिव तथा युवा नेता मीनकृष्ण महर्जनलाई निर्देशन दिएका हुन् ।
देशलाई सहि मार्गमा हिँडाउने युवा, तरुण र खेलाडी भएको भन्दै देउवाले कम्युनिस्टहरूले देशलाई गलत दिशातिर लैजान लागेकाले तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् ।
सभापति देउवाको निर्देशन उदृत गर्दै कांग्रेसका युवा नेता महर्जनले भने, ‘सभापतिज्यूले २०६२–६३ को जनआन्दोलनमा मैले खेलेको भूमिका र योगदान नजिकबाट नियालेर हेर्नुभएको कारण पनि मंसिर २९ गतेको प्रदर्शनलाई पनि सभापति देउवाले मेरो नेतृत्वमा युवा, तरुण र खेलाडीहरूलाई आन्दोलनमा सरिक हुन निर्देशन दिनुभएको हो ।’
सभापति देउवाको निर्देशनपछि विभागका सचिव महर्जनले खेलकुद विभागका प्रमुख एवम् पूर्व संचार मन्त्री मोहनबहादुर बस्नेत र ललितपुर कांग्रेसका सभापति मदनबहादुर अमात्यको निर्देशन र मार्गदर्शनमा आफूहरू सरकारविरोधी आन्दोलनमा सक्रियताका साथ लागेको जानकारी दिएका थिए ।
सभापति देउवाले विभागका सचिव महर्जनका साथै ललितपुर कांग्रेसका युवाहरूलाई आफै बोलाएर आन्दोलनको तयारी गर्न निर्देशन दिएका हुन् । ०६२–६३ को जनआन्दोलनका बेला युवा नेता महर्जन नेपाली कांग्रेसको काठमाडौं उपत्यका युवा परिचालन कमिटीका संयोजक थिए । उनले युवाहरूलाई शाही सरकारविरुद्ध परिचालन गरेका थिए ।
त्यस बेला रवि महर्जनलाई ललितपुरको पुल्चोकमा प्रहरीले चलाएको गोली लागेर गम्भीर घाइते भएका थिए । रवि महर्जन साफ गेमका गोल्ड मेडलिस्ट पनि हुन् ।
किकबक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन एवम् तरुण नेता विनोद महर्जनलाई पनि प्रहरीले प्रहार गरेको लाठी टाउँकोमा लागेर गम्भीर घाइते भएका थिए । विनोदलाई एक महिनासम्म वीर अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो ।
सभापति देउवासँगको भेटका लागि युवा नेता महर्जनका साथै नेपाली कांग्रेस बागमती गाउँपालिकाका सभापति एवम् वडाध्यक्ष विष्णु तिमल्सिना, आठौं साफ गेमका स्वर्ण पदक बिजेता रवि महर्जन, एन्फाका केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय खेलाडी दिनेश ब्यञ्जनकार, किकबक्सिङका पूर्व राष्ट्रिय च्याम्पियन तथा तरुण नेता विनोद महर्जनलगायतका नेताहरू बुढानिलकण्ठस्थित निवासमा पुगेका थिए ।