काठमाडौं, २१ जेठ । अवरुद्ध प्रतिनिधिसभा बैठक भोलि सोमबार ११ बजेसम्मका लागि सारिएको छ । आइतबार ११ बजेपछि बसेको आइतबारको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको, प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको र अदालतको फैसलाको पूर्ण पाठ नआउँदै कैदीलाई आममाफी दिएको विषयमा विरोध जनाउँदै बैठक अवरुद्ध गरेका थिए ।
प्रमाणीकरण भएको विधेयक रद्द गर्नुपर्ने, संसदमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने माग गर्दै संसदमा नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १ घण्टाका लागि बैठक स्थगित गरेका थिए । बैठक स्थगन लगतै अवरुद्ध संसद् खुलाउन सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतक र सचेतकसँग अनौपचारिक छलफल गरेको उनका प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिए ।
