ओली सरकार संकटमा, राजीनामा नदिए कडा कदमको तयारी

18k Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका सामु अब राजीनामा या अविश्वासको प्रस्ताव सामना गर्नेबाहेकको विकल्प नरहने अवस्था बनेको छ । नेपाल कम्युनिस्ट पार्टीभित्र उनी सबै कमिटी र संसदीय दलमा समेत अल्पमतमा परिसकेका छन् । उनीविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दर्ता गरेको प्रस्ताव छलफलमा अगाडि बढिसकेपछि ओलीमाथि राजीनामाको नैतिक दबाब बढेको हो । ओलीको भुमिका र कार्यशैलीको कडा आलोचना गर्दै दर्ता भएको प्रचण्डको प्रस्ताव रोक्न ओलीले सबै उपाय अपनाएपनि सकेनन् । अब पार्टी कमिटीमा छलफलका लागि बढिसकेकाले यो स्वीकृत भए ओली राजीनामा दिने या अविश्वासको प्रस्ताव सामना गर्ने दबाबमा पर्ने निश्चितप्रायः छ । 
मङ्गलबारको सचिवालय बैठकमा ओलीले प्रचण्डको प्रस्ताव फिर्ता लिन भने । उनको आग्रह प्रचण्डले मानेनन् । त्यसपछि सचिवालयमा प्रचण्डको प्रस्ताव रोक्ने प्रस्ताव राखे । त्यो पनि अस्वीकृत भयो । त्यसपछि ओली जङ्गबहादुरको शैलीमा जङ्गिएर कारबाहीको चेतावनी दिए । यसमा उनको हतास मनस्थिति देखिन्थ्यो । नेकपा सचिवालयका एक सदस्यका अनुसार ओली जङ्गबहादुर शैलीमा जङ्गिएर प्रचण्डलाई चेतावनी दिन थाले । सोही अनुरुप बुधबारको बैठकमा ओली अनुपस्थित भए । पार्टी कमिटीलाई अन्तरिम भन्दै त्यसले गर्नसक्ने निर्णयमाथि समेत प्रश्न गरे । उनको स्पष्ट संकेत आफूलाई सरकारबाट फिर्ता बोलाउनेबारे पार्टी कमिटीले गर्नसक्ने निर्णयतर्फ संकेत थियो । ओलीले मङ्गलबार नै बुधबारको सचिवालय बैठकमा नजाने बताइसकेका थिए । ओलीको बुधबारको सचिवालय बैठकमा उपस्थित नभएपछि सचिवालय बैठक मंसिर २० गतेलाई तय गरिएको छ । ओली बुधबारको सचिवालय बैठकमा उपस्थित नभएपछि मंसिर १८ गते बिहीबार बस्ने भनिएको स्थायी कमिटीको बैठकसमेत प्रभावित भएपछि आगामी मंसिर २१ गते बस्ने तय भएको छ । यसरी ओली पार्टीलाई बेवास्ता गरेर संसदीय दलमा मजबुत बन्न सक्रिय हुनथालेका छन् । 
ओलीले पार्टी बैठकमा सचिवालय सदस्यहरूलाई धम्की दिन थालेपछि बहुमत सदस्यहरू गम्भीर भएका छन् । एक सचिवालय सदस्यले भने, ओलीमा अहंकार र म नै सबथोक हुँ भन्ने सोच विकास भएको छ । उनको यो कार्यशैलीविरुद्ध सचिवालयका बहुमत सदस्य एक भएका छन् । अब पार्टीको कमिटिबाट निर्णय गरेर ओलीलाई सरकारबाट फिर्ता बोलाउने तयारी भएको छ । त्यसका लागि सचिवालय हुँदै आवश्यक परे केन्द्रीय कमिटीसम्म प्रस्ताव लाने तयारी भइसकेको छ । पार्टी कमिटीमा ओलीइतर समूहको बहुमत भएकाले ओलीविरुद्ध निर्णय आउने निश्चित देखिइसकेको छ । त्यसमाथि प्रचण्डले ओलीमाथि लगाएको लिखित आरोप नै बहुमत सदस्यहरूबाट सदर भएमा ओली अध्यक्षबाट पनि हट्नुपर्ने अवस्था आउनसक्छ । त्यो अवस्था आउन नदिई ओलीलाई प्रधानमन्त्रीबाट मात्र हटाएर सेफल्यान्डिङ गराउन पूर्व एमालेका केही नेताहरू सक्रिय भएका छन् । 
पार्टी कमिटीको निर्णय नमानेमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी समेत भएको छ । प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ ओलीविरुद्धको मोर्चाबन्दीमा रहेकाले ओली संसदीय दलमा पनि अल्पमतमा छन् । ओली पक्षले बहुमतको दाबी गरेपनि पूर्व माओवादी र पूर्व एमालेका पनि झण्डै ४० प्रतिशत सांसद विपक्षमा छन् । यसबाट ओलीविरुद्धको अविश्वासको प्रस्ताव संसदीय दलबाटै पारित हुन्छ । संसदमै अविश्वासको प्रस्ताव अगाडि बढेमा नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीको समर्थन नहुँदा ओलीविरुद्धको अविश्वासको प्रस्ताव पारित हुन्छ । यसकारण पनि ओली अन्य दलहरूसँग पनि सत्ता जोगाउन छलफल गर्न थालेका छन् । उनले काँग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता समिकरणको प्रस्ताव गरिसकेका छन् । यसको खुलासा भएसँगै काँग्रेसको आन्तरिक राजनीतिमा समेत तरंग आएर विरोधको स्वर सुनिइसकेको छ । यसकारण ओलीको सत्तालाई काँग्रेस या राजपाले पनि जीवनदान दिने सम्भावना क्षीण हुँदै गएको छ । 
सबै कोणबाट ओली कमजोर बन्दै गएपछि उनको सत्ताको दिनगन्ति शुरु भएको छ । अब कम्तिमा एक महिनाभित्र ओलीको सत्ताको टुंगो लाग्ने निश्चित छ । संसदबाटै ओलीको छिनोफानो हुने सम्भावना बढेर गएकाले उनले संसद अधिवेशन बोलाउने सिफारिश राष्ट्रपति समक्ष अझै गरेका छैनन् । वर्षे अधिवेशन चाँडो अन्तको सिफारिश गरेर सम्भावित अविश्वासको प्रस्ताव टारेका थिए । उनको यो कदममा राष्ट्रपति विद्यादेवी भण्डारीले समेत साथ दिएकी थिइन् । संसदलाई निष्कृय बनाएर संसदीय गतिविधि नै हुन नदिने अभिप्रायका साथ ओली लागेका छन् । चार महिनाभन्दा बढी समययता संसदको बैठक बस्न सकेको छैन । हिउँद लाग्दा समेत हिउँदे अधिवेशन हुनसकेको छैन । तर, ओली अधिवेशन बोलाउन सिफारिश गर्ने कुनै तयारीमा छैनन् । उनले पार्टी बैठक त छल्न खोजिरहेका छन् । अब संसदलाई समेत छल्ने गतिविधि गर्न थालेका छन् । अध्यादेशहरू ल्याएर देश चलाउने निरंकुश व्यवस्थाको शैली अपनाउन थालेका छन् । 
ओलीले हिउँदे अधिवेशन बोलाउने सिफारिशमा ढिलाई गरेमा नयाँ घटनाक्रम विकास हुनसक्छ । संविधान अनुसार संसदको २५ प्रशितश सांसद संख्याबाट विशेष अधिवेशन बोलाउन मिल्छ । विशेष अधिवेशन बोलाएर भएपनि ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुनसक्छ । संसदीय प्रक्रियाबाट ओली हटाउने यो तयारी पनि भइसकेको छ । भरसक ओलीलाई राजीनामा गर्न लगाउने नभए प्रक्रियाबाट हटाउन नेकपाभित्र बहुमत सचिवालय केन्द्रीय सदस्यहरूको विरोधी मोर्चाको रणनीति छ । ओली भने राजीनामा दिनुपरे संकटकाल, संसद बिघटन देखि मध्यावधिको घोषणासम्म गर्ने रणनीति बनाएर बसेका छन् । यसका लागि उनले विश्वासपात्रहरूसँग छलफल पनि गरिसकेको बुझिएको छ । ओलीको यही रणनीतिलाई बुझेर प्रचण्डलगायतका नेताहरू संयमित भएर सरकार परिवर्तनमा लागेका छन् ।
जड्डबहादुर शैलीमा ओली   
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जङ्गबहादुरको नयाँ रुप बन्न थालेका छन् । मङ्गलबार बसेको नेपाल कम्युनिस्ट पार्टीको बैठकमा निकै कडा रुपमा प्रस्तुत भए । उनले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाहीको चेतावनी पनि दिए । तपाईंले प्रस्ताव फिर्ता लिने कि कारबाही भोग्ने ? ओलीको प्रचण्डमाथि आक्रोशयुक्त भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ओली जङ्गबहादुरको शैलीमा प्रस्तुत हुनुभयो । ओलीले प्रचण्डलाई कारबाहीको चेतावनी दिएपछि प्रचण्डले धम्की नदिन भनेका थिए । त्यसपछि बैठकमा दुवै नेताबीच चर्काचर्की भएको थियो । 
बैठकमा प्रचण्डले बोल्दाबोल्दै ओलीले जे मन लाग्यो त्यही बोल्न पाइन्छ ? भनी प्रश्न गरेका थिए । निकै आक्रोशित ओलीले प्रचण्डको प्रस्तावलाई छलफलका लागि योग्य र लायक नभएकाले अस्वीकृत गर्नुपर्ने प्रस्ताव राखे । तर, त्यसमा बहुमत सचिवालय सदस्य सहमत भएनन् । मन्तव्य दिँदादिँदै ओलीले रोक्न खोजेपछि प्रचण्डले प्रश्न गरे, तपाईं को हो ? मैंले ल्याएको प्रस्ताव फिर्ता हुँदैन, छलफल हुँदैन भन्ने ? त्यसपछि दुवै अध्यक्षबीच भनाभन भयो । अन्य सचिवालय सदस्यहरूले बोलेर साम्य पार्नुपरेको थियो । 
पार्टीभित्र सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटीसम्म ओली अल्पमतमा परेपनि टसमस भएका छैनन् । उनलाई सत्ताच्युत गर्ने विरोधीको प्रयास पनि सफल हुन सकेको छैन । प्रधानमन्त्री भइसकेका तीन नेता र उपप्रधानमन्त्री भइसकेका दुई नेताको मोर्चा बन्दा पनि ओली बलियै छन् । उनले उल्टै कारबाहीको चेतावनी दिएका छन् ।

सम्बन्धित समाचार