नवलपुर । पूर्वी नवलपरासी जिल्लाको लाइसेन्स वितरणमा दलालको सेटिङ र चलखेल हुने गरेको खुलासा भएको छ । काठमाडौंको केही ड्राइभिङ स्कुलले यहाँ सेटिङ मिलाउने गरेको समेत भेटिएको छ । काठमाडौंको धापासी, गोंगबु, बानियाँटार, हेपालीहाइट र बांसबारी क्षेत्रमा रहेका ड्राइभिङ स्कुलले आफू कहाँ सिक्न आउने व्यक्तिहरूलाई यहाँ लिखित तथा ट्रायलको रूपमा पठाउने गरेको समेत भेटिएको छ ।
यातायातका कर्मचारी र ट्राफिक प्रहरीको सेटिङमा काठमाडौदेखि अन्य बाहिरबाट आउनेहरूका हकमा सेटिङ मिलाएर फेल भए पनि पास गराउने काम गर्दै आएका छन् । ड्राइभिङ स्कुलका संचालकले आफु कहाँ सिक्न आउनेलाई तपाईं एक पटक गई दिनुपर्छ फेल भए पनि हामी पास गराएर लाइसेन्स ल्याई दिन्छौ भन्दै सेवाग्राही ल्याउने गरेको यातायातकै एक प्राबिधिक कर्मचारीले जानकारी दिए ।
प्रदेश सरकार मातहतको यस यातायात कार्यालयमा दलालको कव्जा छ भन्दा फरक पर्दैन । यातायातका कर्मचारीले बाहिर जिल्ला जिल्लाका ड्राइभिङ स्कुलका संचालकहरूसंग सेटिङ मिलाएर सेवाग्राही यहाँ ल्याउने र फेल भए पनि सेटिङमा पास गराउने अनि ल्याप्चे समेत लगाएर लाइसेन्स चाहिँ सक्कली नै दिने गरेका छन् । काठमाडौबाट ट्रायल दिन आएका अर्याल थरका एक जना सेवाग्राहीले भने, ट्रायल सिक्न जाँदा नै संचालकले नवलपुरमा तपाईं एक पटक जानुपर्छ फेल भए पनि सक्कली लाइसेन्स ल्याई दिने जिम्मा मेरो भयो भनेर भर्ना लिन्छन् । “उनले थपे, यो ड्राइभिङ स्कुलबाट सिकेर यहाँबाट लाइसेन्स लिनेको संख्या यहाँ सयौं छ ।
यहाँको यातायात कार्यालयमा प्रमुखको रूपमा ज्ञान प्रसाद फूंयाल भए पनि लामो समयदेखि टेकबहादुर घर्ती निमित्त कार्यालय प्रमुखको रूपमा कार्यरत छन् । कानूनले लाइसेन्सको सबै प्रक्रियाको अधिकार यातायातका कर्मचारीलाई दिएपनि सेटिङ मिलाउने, दलाल मिलाउने, ड्राइभिङ स्कुलसंगको सेटिङ मिलाउने काम ट्राफिक प्रहरीको तर्फबाट ट्रायलका खटिएका प्रहरीले गर्दै आइरहेका छन् । ट्राफिक प्रहरीको तर्फबाट लाइसेन्समा खटिने काम लामो समयदेखि बरिष्ठ सई लेखनाथ पुरी र हवल्दार पदम बडुले गर्दै आइरहेका छन् । बरिष्ठ सई पुरीले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरमा आउने सईलाई मातहतका युनिटमा पठाउन लगाउने र जिल्ला ट्राफिकमा आंफै बसि सबै सेटिङ र चांजोपांजो मिलाउने काम गर्दैन आइरहेका छन् ।
लाग्छ कि नवलपुर ट्राफिकको निरीक्षक नै उनै हुन । निरीक्षक त एक बर्ष आउंछन जान्छन् तर सई पुरी त लामो समयदेखि कव्जा जमाएर बसेका छन् र उनी जिल्ला ट्राफिकमा नै बस्छन् । अरू कसैलाई जिल्लामा टिक्न पनि दिदैनन। अझ दस बर्ष अघि देखि नै तत्कालीन नवलपरासी र हालको नवलपुर ट्राफिक प्रहरीमा अड्डा जमाएर बस्ने हुन हवल्दार पदम बडु । लाइसेन्सको सबै सेटिङ र चांजोपांजो मिलाउने काम हवल्दार बडुुले नै गर्ने कुरा दलाल देखि यहाँका प्रहरीको प्रमुख देखि यातायात कार्यालयका सबै प्रमुखलाई थाहा नभएको होइन । तर सबै आफ्नो भाग पाएपछि चुप छन् । किनकि यहाँ नजानेर पनि लाइसेन्स वितरण गर्दा उसको मात्रै होइन उसको कारणले कतिको ज्यान जाने हो कसैलाई मतलब र चिन्ता छैन , छ त केवल जसरी हुन्छ यातायातमा हुदा जतिसक्दो धेरै पैसा कमाउनु छ , भ्रष्टाचार गर्नु छ ।
हवल्दार पदम बडुले यहाँ ट्राफिक प्रहरीमा काम गरेर यहीँ जिल्ला ट्राफिक प्रहरी कार्यालय पछाडि जग्गा खरिद मात्रै होइन सुबिधा सम्पन्न घर समेत बनाई सकेका छन् । अर्को एकजना ट्राफिक हवल्दारले त बडुले गाडी समेत खरिद गरिसकेको बताए । लगातार दशौं बर्षदेखि एकै ठाउँ र लाइसेन्समा बसेर जग्गा , घर र गाडी खरिद गर्ने भाग्यमानी हुन हवल्दार बडु । बडुलाई संरक्षण गराउने र सबै सेटिङ मिलाउने काम बरिष्ठ सई लेखनाथ पुरी भएको जिल्ला ट्राफिकका सबै जसो जुनियर अफिसर बताउँछन् । अहिले ट्राफिक प्रहरीको प्रमुख भएर आएका निरीक्षक गणेश पौडेलले पनि यही समूहलाई च्यापेर आफ्नो फाइदा लिई रहेका छन् । हवल्दार बडुलाई त गण्डकी प्रदेशका ट्राफिक प्रहरीका तत्कालीन प्रमुख प्रभु ढकालले धेरै बदनाम र लामो समयदेखि बसेर लाइसेन्समा सेटिङ गरेको जनगुनासो आएपछि तनहुँ जिल्ला ट्राफिकमा सरूवा गरेका थिए ।तर ढकाल हिडे पछि आएका एसपी कृष्ण अधिकारीले यस्ता बदनाम बडुलाई फेरि नवलपुर जिल्ला ट्राफिक प्रहरी नै सरूवा गरिदिए ।ठूलो रकमको लेनदेन भए पछि बडु फर्काइएको यहाँका ट्राफिक प्रहरी बताउँछन् । हवल्दार बडुको सेटिङ र जनगुनासो गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी बुद्धि गुरूङ र प्रहरी महानिरीक्षक बसन्त कुंवर कहाँ सम्म पुगेको समाचार स्रोत बताउँछ । अब उनीहरूले के गर्छन् त्यो भने हेर्न बांकी नै छ। हाम्रो समाचार स्रोतको दावी छ, नवलपुर ट्राफिकले गण्डकी ट्राफिक प्रहरीको नाममा मासिक घटिमा पनि पाँच लाख पठाउने गरेको छ। त्यसैले पनि हवल्दार बडु र करिष्ठ सई लेखनाथ पुरीहरू जोगिदै आएका छन् ।