आफूखुसी औषधि खुवाउन आजैबाट छोडौं

20.2k Shares

छोरा–छोरी बिरामी हुँदा बाबु–आमा धेरै नै पिरिन्छन् । नपिरिउन पनि किन छोरा–छोरी अभिभावकका मुटुका टुक्रा नै हुन् । बच्चा बिरामी हुँदा अभिभावकको मनोदशा र उनीहरूले देखाउने व्यवहार मनै कुढिने खालको हुन्छ । उनीहरू खान सुत्नै छाडेर बिरामी छोरा–छोरीकै अघिल्तिर ढुनमुनि रहेका हुन्छन् ।  छोरा–छोरी बिरामी हुँदा अभिभावक नै बिरामी भएजस्तो किन देखिन्छ ? यस पटक खोजतलासको स्वास्थ्य वार्तामा हामीले सुमेरु अस्पताल धापाखेलका बालरोग विषेशज्ञ डा।विनित खरेलसँग यस्तै प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छौं । बालबालिकामा देखिने रोग, अभिभावकले निर्वाह गर्नुपर्ने जिम्मेवारीलगायतका विषयमा केन्द्रित रहेर डा। खरेलसँग कुराकानी गरेका छौं ।

बालरोग विशेषज्ञका रूपमा बिताएको यो अवधिमा पनि डा.विनित खरेलले बिरामी बच्चा लिएर अस्पताल आउँदा अभिभावक धेरै आत्तिने गरेको अनुभव संगालेका छन् । भन्छन्, ‘बिरामी बच्चा लिएर आत्तिँदै अस्पताल आइपुगेका अभिभावकलाई रिलिफ गराएर पठाउँदा भने मनै खुसी हुन्छ ।’ बालरोग विशेषज्ञ डा.खरेलसँगको अन्तर्वार्ताको विस्तृत विवरण स्

बालबालिकाहरू के कस्तो रोगबाट पीडित हुन्छन ?

बालबालिकामा कस्तो रोग देखिन्छन् भन्ने कुरा मौसममा भर पर्छ । जाडो मौसममा धेरै जसो बालबालिका रुघाखोकी, भाइरल, निमोनियाबाट पीडित हुन्छन् भने गर्मी मौसममा झाडापखाला, आउँ, एलर्जी, दादुराजस्ता समस्या देखा पर्छन् । धेरै जसो बच्चाहरू भाइरल इन्फेक्सनबाट पीडित भएको देखिन्छ । भाइरल इन्फेक्सनका कारण रुघाखोकी मात्रै नभएर झाडावान्ता पनि भइरहेको हुन्छ । बालबालिकामा देखिने ८० प्रतिशत रोगहरू भाइरल इन्फेक्सनबाट नै भइरहेको हुन्छन् ।

गर्मी मौसममा चिसा खानेकुरा खाँदा पनि बच्चाहरू बिरामी हुन सक्छन् । त्यसबाहेक दूषित पानीबाट टाइफाइड, हैजा, निमोनिया, घाउखटिरा तथा इन्सेफ्लाइटिसले सताउनुका साथै जुका पनि पर्न सक्छ । टंसिलाइटिस, कमन कोल्ड, चिकेर पक्स, मम्स पनि यो याममा देखा पर्न सक्छ ।

कुन उमेर समूहका बालबालिका रोगबाट बढी पीडित हुन्छन् ?

सामान्यतयाः दुई वर्षमुनिका बालबालिका बढी बिरामी पर्छन् । गर्मीमा मात्र नभै जुनसुकै मौसममा पनि यो उमेरका बालबालिका बढी बिरामी पर्छन् । यसबाहेक पाँच वर्षसम्मका बालबालिका पनि बिरामी पर्छन् । बालबालिका बिरामी पर्ने कारण यही हो भन्ने छैन । बिरामी पर्ने धेरै कारण हुन्छन् । रोगको प्रकृतिअनुसार बिरामी हुने कारण पत्ता लगाउन सकिन्छ । गर्मी मौसममा बान्ता तथा झाडापखाला लाग्ने कारण भने दूषित खानपान तथा पानी नै हो । बासी, सडेगलेका तथा झिंगा भन्किएका खानेकुरा, फोहोर पानी अनि फोहोरी हातबाट बनाइएका खानेकुराबाट पनि रोग लाग्नसक्छ । ६ महिना भन्दा कम उमेरका बच्चाहरू आमाको दूध चुस्ने भएकाले आमाकै एन्टीबडी र इम्युनो ग्लुलिन (प्रतिरक्षा प्रणालीको मुख्य अंश) बाट रोग प्रतिरोधात्मक क्षमता विकसित भएको हुन्छ । ६ महिनापछि बच्चाहरूले आफैंले इम्युनो ग्लुलिन (प्रतिरक्षा प्रणाली) तथा एन्टीबढी बनाउनु पर्ने भएकाले उनीहरूको शरीरले कति बनाउन सक्छ त्यसले रोग प्रतिरोधात्मक क्षमता निर्भर गर्छ । सबै अभिभावकहरू आफ्नो बच्चालाई इन्फेक्सन नहोस् भन्ने चाहन्छन् । अभिभावकको चाहनाले मात्रै हुँदैन । इन्फेक्सन भइसकेपछि बच्चाको शरीरमा एन्टीबढी र इम्युन सिस्टम बन्नुपर्छ । बच्चालाई रोगबाट बचाउन यी दुई कुरा नै महत्वपूर्ण हुन् ।

बालबालिकालाई रोग लाग्नबाट कसरी बचाउन सकिन्छ ?

बच्चाहरूलाई रोगबाट बचाउने कुरा अभिभावकका लागि ठूलो चुनौतिको विषय हो । आफ्ना सन्ततीलाई कसरी बचाउन सकिन्छ भन्ने बारेमा सबै अभिभावकले प्रयास गरिरहेका हुन्छन् । बच्चालाई रोगबाट बचाउन अभिभावकहरूले उनीहरूको नियमित खोप तथा ६ महिनासम्म नियमित स्तनपानमा पर्याप्त ध्यान दिनुपर्छ । ६ महिनासम्मका नवजात शिशुको पूर्ण भोजन स्तनपान नै हो भनेर सिद्ध भइसकेको छ । ६ महिनासम्म शुद्ध स्तनपान गराउनेलाई अनन्य स्तनपान (एक्क्लुसिभ ब्रेस्ट फिडिङ) भनिन्छ  । पाउडर दुध सेवन गर्ने शिशु भन्दा स्तनपान गर्नेहरूमा कम संक्रमण देखिएको तथ्यांकले देखाइसकेको छ । बच्चाहरूलाई नियमित खोप लगायो भने पनि रोग लाग्नबाट बचाउन सकिन्छ । इन्फेक्सन हुनबाट जोगाउँछ । हुर्कंदो उमेरका बच्चाहरू जब डे केयर वा स्कुल जान थाल्छन् त्यहाँ सबै खालका बच्चासँग भेट हुन्छ । त्यहाँ रोग सर्ने खतरा पनि उत्तिकै हुन्छ । परिवारका सदस्य मात्रै भएको घरको वातावरणबाट एक्कासी बच्चाहरूको भीड भाड हुने डे केयर वा स्कुलमा पुग्दा बालबालिकाले नयाँ खालको वातावरणसँग एक्पोज हुनुपर्छ । त्यहाँ आउने बच्चाहरू विभिन्न खाले रोग बोकेर आएका पनि हुन सक्छन् । त्यस्तोमा एडजस्ट हुन समय लाग्छ । स्कुल जाने बच्चाहरूमा इन्फेक्सनको दर बढी रहेको देखिन्छ । अहिले बच्चाहरू दुई–साढे दुई वर्षको उमेरदेखि नै डे केयर वा स्कुल गइरहेका हुन्छन् । डे केयर जान थालेको पहिलो तीन महिनासम्म बच्चामा इन्फेक्सन देखिने खतरा बढी हुन्छ । तीन महिनापछि बच्चा विस्तारै त्यो वातावरणसँग घुलमिल भइसक्छ । इन्फेक्सनको दर विस्तारै कम हुँदै जान्छ ।

बालबालिकामा नसर्ने रोग पनि बढी देखिन थालेको हो ?

पछिल्लो समय बच्चाहरूमा नसर्ने रोगहरू पनि देखिन थालेका छन् । अहिले रोग पहिचान गर्ने (डाइनोग्स्टिक) सेन्टरहरू ठाउँ ठाउँमा छन्, सिटि स्क्यान गर्ने पनि ठाउँ ठाउँ व्यवस्था छ, एमआइआई ठाउँ ठाउँमा छन्, प्याथोलोजी पनि राम्रा छन् । रगतसम्बन्धी जाँच गर्ने प्रविधि पनि धेरै नै एडभान्स भइसकेको छ । अहिले बच्चाहरूमा रोग बढेको भन्दा पनि रोग पहिचानको दर बढेको हो । पहिला पनि नसर्ने रोगहरू थिए, तर त्यति बेला परीक्षणको दायरा कम थियो । अहिले हामीले विषादीयुक्त खानेकुरा खान्छौं, तरकारी वा खाद्य पदार्थमा विषादी छर्ने गर्छै त्यसले पनि वातावरणमा असर गरेको हुन्छ । डाइनोग्स्टिक प्रणाली पनि एडभान्स भइरहेको एवम् विषादीहरू पनि धेरै प्रयोग गरेको हुनाले रोगहरू पनि धेरै देखिएका हुन जस्तो लाग्छ मलाई । डाइनोग्स्टिक पनि बढ्दो हुनु तथा बदलिँदो जीवन शैलीका कारण नसर्ने रोग देखिएका हुन सक्छन् । बच्चाहरूमा वंशाणुगत (जेनेटिक) रोगहरू पनि देखिन्छन् । खानपान, विद्यालयमा जाने उमेर तथा खोप लगाउनेतर्फ ध्यान दिए बच्चालाई स्वस्थ्य राख्न सकिन्छ । भाइरससँग एक्पोज्ड भइसकेपछि बच्चाहरू आफैंले त्यसलाई ट्याकल गर्छन् । अभिभावकलेहरूले विचार गर्नु पर्ने कुरा के हो भने समय तालिका अनुसार खोप दिनुपर्छ,  भीड भाड हुने स्थल वा अनावश्यक ठाउँमा उनीहरूलाई लैजानु हुँदैन ।

अहिले कस्तो रोग लागेको बालबालिका उपचारका लागि धेरै आउने गर्छन् ?

अहिले हामी सिजनल रोगबाट पीडित बालबालिकाको उपचारमा व्यस्त भइरहेका हुन्छौं । रुघाखोकी, ज्वरो आउएका बालबालिका उपचार गराउन आइरहेका छन् । अभिभावकहरू बच्चालाई अस्पताल ल्याउँदा धेरै औषधिसहित आइरहको देखिन्छ । एन्टीबायोटिक पहिले नै ख्वाएर उपचारका लागि अस्पचाल आइरहेका हुन्छन् । बच्चालाई ज्वरो आउँदैमा हतार गरेर एन्टीबायोटिक चलाउने कामलाई रोक्नुपर्छ । औषधि पसलबाट औषधि किनेर बच्चालाई खुवाउने काम सबै अभिभावकले अहिलेनै रोक्नु पर्छ । पाँच वर्षभन्दा मुनिको बच्चालाई त त्यो काम गर्नै हुँदैन । डक्टरको परामर्शमा चल्नु पर्छ । डायरिया लाग्दैमा मेट्रोनिटाजोल खुबाउनु हुँदैन । साधारण जीवनजल वा जिङक चक्कीले निको हुन्छ भन्नेतर्फ ध्यान दिनुपर्छ । डायरिया लागेर जीवनजल वा जिङक चक्की सेवन गरेका बच्चालाई हामीले उपचार गरी सजिलै ठिक पार्छौ । जब बच्चाले बान्ता गर्छ त्यो बेलामा मात्रै अभिभावक डराउनु पर्छ । बच्चालाई झाडापखला लागेको बेला जीवनजल र जिङक चक्की ख्याउनु भन्दै रेडियोमा बज्ने विज्ञापनतर्फ अभिभावकको ध्यान पुग्नु पर्छ । तर त्यो विज्ञापनको सन्देश मनन गरेको देखिदैन । उपचारमा आउने अभिभावकलाई मैले त्यो विज्ञापन सुन्नु भएको छ भनेर सोध्ने पनि गरेको छु । उनीहरूको जवाफ आउँछ, सुनेको त हो, तर ध्यान दिएको छैन । उनीहरूले बच्चालाई अस्पताल ल्याउनु अघि नै मेट्रानिटाजोल ख्वाइ सकेका हुन्छन् । यो विज्ञापनको मर्मलाई सबैले बुझ्ने गरी सरकारले अझै फैलाउनु पर्छ । झाडावान्ता हुँदा जीवनजल र जिङक चक्की खुबाउँदा नै ठिक हुने प्रमाणित भइसकेको छ ।

बच्चा बिरामी हुँदा अभिभावक बढी नै चिन्तित देखिन्छन किन होला ?

बच्चा बिरामी हुँदा अभिभावक चिन्तित हुनु स्वभाविक हो । तर, आफू खुसी उपचार सुरु गर्नु गलत प्रवृत्ति हो । ज्वरो मात्रै आएको बच्चा हो भने दुई–तीन दिन कुर्दा केही हुँदैन । यसमा आत्तिनु पर्दैन । त्यस्ता बच्चालाई पारासिटामोल मात्रै ख्वाउँदा हुन्छ । त्यति गर्दा पनि ज्वरो कम भएन भने डक्टरलाई देखाउने त छँदैछ । चिकित्सकको परामर्श बिनै औषधि पसलेले दिने एन्टीबायोटिक खुबाउनु हुँदैन । पानी पट्टी लगाउने, नाक बन्द हुँदा नुन पानीले सफा गर्ने तथा पारासिटामोल खुवाएर घरेलु उपचार विधि अपनाउनु नै श्रेयस्कार मानिन्छ ।

विद्यालय शिक्षादेखि एमडीसम्मको यात्रा बारे बताइदिनुस न ?

मेरो विद्यालय शिक्षा आदर्श विद्या मन्दिर मानभवनबाट पूरा भएको हो । मोर्डन इन्डियन स्कुलबाट प्लस टु सकेको हु । एमबीबीएस छात्रवृत्तिमा पढ्न पाइन्छ की भनेर एक वर्ष प्रयास गरें । चीन जाने कि अन्य देशहरू जाँदा कस्तो हुन्छ भनेर हेर्न थालें । त्यही बीचमा काठमाडौं विश्वविद्यालयले एमबीबीएसको इन्ट्रान्स लियो । आफ्नै खर्चमा पढ्ने भन्दै दिएको इन्ट्रान्स परीक्षले मलाई एमबीबीएसतर्फको बाटो देखाएको हो । नाम निस्किएपछि म नेपाल मेडिकक कलेजमा भर्ना भइ एमबीबीएस पढ्न थाले । नेपाल मेडिकल कलेजबाट एमबीबीएस सकेपछि अमेरिका जान युएस एमएललीको तयारी गर्न थाले । एमएलइको तयारी गरिरहेकै बेला त्रिवि शिक्षण अस्पतालमा एमडीका लागि आवेदन खुल्यो । जाँच दिँदा मेरो छात्रवृत्तिमा नाम निस्कियो । २०१४ मा मैले पिडियाट्रिक सकाएको हुँ । बच्चाहरूलाई लगाइने खोप तथा बच्चातर्फ रुची भएकाले पिडियाट्रिक विषय छनोट गरेको हँु । एमडी सकाएपछि किस्ट अस्पतालमा काम गरें । किस्टमा मेरा बसाई ११ महिना रह्यो । त्यहाँ काम गर्दा मैले सिभिल अस्पतालमा पार्ट टाइममा काम गथ्र्यें ।

सुमेरु अस्पतालसँगको सहकार्य कसरी जु¥यो ?

सुमेरु अस्पतालले पिडियाट्रिक चिकित्सक मागेपछि म यहाँ आएको हुँ । सुमेरुमा काम गर्न थालको ५ वर्ष भइसकेको छ । पूर्णकालीन सेवामा काम गरेको ४ वर्ष भइसकेको छ । सुमेरुमा बच्चाहरूका लागि मेडिकल र सर्जिकल दुबै उपचार सेवा दिएका छौं । हामीसँग पिडियाट्रिक सर्जन नभएकाले पाटन अस्पतालमा काम गर्ने चिकित्सकलाई पार्ट टाइममा राखेका छौं । शल्यक्रिया गर्नुपर्ने बच्चाका आफन्तलाई हामी पाटनमै शल्यक्रिया गर्ने कि सुमेरु मै गर्ने भनेर छनोट गर्न दिन्छौैं । सुमेरु प्रवेश गरिसकेपछि आफ्नो बच्चाले उपचार सेवा पाएन भनेर फर्कनु पर्ने अवस्था छैन । हामीसँग सानो बच्चाहरूलाई राख्ने आइसीयू (पिडियाट्रिक इन्टेन्सिभ केयर युनिट, पिआइसीयु) छैन । एनआइसीयु (नर्सरी) हामी कहाँ छ । बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म दुईजना पूर्णकालीन डक्टरले कभर गरिरहेका छौं ।

बच्चाको उपचारमा खटिनु कत्तिको सजिलो हुन्छ ?

अन्य बिरामी भन्दा बच्चाको उपचार गर्न चुनौती नै छ । मेडिकल शिक्षाले के भन्छ भने ७५ प्रतिशत रोगहरू त्यसको विगतबाट नै पहिचान हुन्छन् । अस्पताल आएपछि गरिने परीक्षणले हामीलाई उपचार विधिको बाटो देखाउने हो । बच्चाको उपचार गर्दा सजिलो–अप्ठ्यरो भन्ने कुरा बुबा आमाको ज्ञानले पनि फरक पार्छ । कोही बुबा आमा यति स्मार्ट हुनुहुन्छ उनीहरू बच्चाको रोगका बारेमा हुबहु भनिदिनु हुन्छ । यसले गर्दा हामीलाई उपचार सुरु गर्न सजिलो हुन्छ । कुनै अभिकावक त्यो भन्न सक्नुहुन्न । त्यस्तो बेला उपचारका लागि आएका बच्चाको शारीरिक अवस्था, हाउभाउ, बच्चाले हामीसँग बोल्न–हाँस्न मन पराउँछ कि पराउँदैन, सुस्त छ कि चनाखो छ यी सबै पक्षको अवलोकन गरी उपचार सुरु गर्छौ । ज्वरो हेरेर, मुखमा घाउ भए–नभएको शरीरका अन्य भागमा रातो डाबर आए–नआएको जस्ता परीक्षणपछि रोग पहिचान गर्छौं ।

नर्मल डेलिभरी (यौनिक सामान्य प्रशव) को क्रममा बेथा लागिसकेपछि आमाले कन्न (पुस) नसकेको अवस्थामा वा धेरै समय लगाएर जन्मिएका नवजात शिशुको अवस्था गम्भीर हुने र श्वास प्रश्वासमा कठिनाई आएको शिशुलाई स्टुमुलेशन एण्ड ब्यागमास्क भेन्टिलेसनबाट ठिक पार्न सकिन्छ । ठिक पारेका शिशुहरू रोइदिएको क्षणले हामीलाई खुसी महसुस हुन्छ ।

केही प्रतिशत शिशुहरुको मुटुको गति ६० वा त्यो भन्दा कम हुँदा उनीहरूलाई इन्टुभेसन एण्ड चेस्ट कम्प्रेसन गरी मुटुको गति एक सय वा त्यो भन्दामाथि पुगेर सुधार हुँदा हामीलाई पुरस्कार नै प्राप्त भएको जस्तो हुन्छ । बिरामी बच्चा लिएर अस्पताल आउँदा अभिभावक आत्तिसकेका  हुन्छन् । त्यस्तो बेलामा उनीहरूलाई रिलिफ गराएर पठाउँदा खुसी लाग्छ ।

सामाजिक कार्यमा कसरी संलग्न हुन पुग्नु भयो ?

सुमेरु नजिकैको ह्याप्पी होमका बच्चाहरू हामी कहाँ जाँच्न आउँथ्ये । बुझ्दा ह्याप्पी होम अनाथ बालबालिका राख्ने स्थल रहेको थाहा पाएँ । अनाथ शव्द सुन्ने वित्तिकै मेरो मनमा ती बच्चाहरूलाई केही गर्न पाए हुन्थ्यो भन्ने लाग्यो । त्यस्तैमा त्यहीँबाट ज्वरो आएको चार दिनको शिशु उपचारका लागि ल्याइयो । नवजात शिशुमा ज्वरो आउनु गम्भीर मानिन्छ । त्यो बच्चालाई भर्ना गर्नुपर्ने अवस्था थियो । बच्चाको स्थिति हेर्दा अन्यत्र पठाउनु भन्दा के गर्न सकिन्छ भनेर गाइने डक्टर अचिरा चतुर्वेदीसँग छलफल गरेँ । भर्ना गर्ने पैसा डा।अचिराले व्यवस्था गर्नुभयो । बच्चालाई भर्ना गरी ठिक पारेर पठायौं । सुमेरुमा कार्यरत डक्टरमध्ये पनि मिल्ने साथीहरू मिलेर बेला बेलामा बृद्धाश्रममा खाना वा आवश्यक परेका सामान खरिद गर्ने गरेका छौं । यो कार्यमा डा।अचिरा बढीनै क्रियाशील हुनुहुन्छ । हामीले पैसा जम्मा गरी बृद्धाश्रममा नपुगेको सामग्री पठाइदिने योजना बनाएका छौं । यस्ता कार्यले मन आनन्दित हुन्छ ।

परिवारिक अवस्था बताइदिनुहोस् न ?

पुख्र्यौली घर नेपालगञ्ज भए पनि म अहिले काठमाडौंको बल्खुमा बस्छु । नेपालगञ्जबाट काठमाडौं आएर हाम्रो परिवार यही सेटल भएको हो । कक्षा ७ मा पढ्दा मेरो बुबाको हृदयघातबाट निधन भएपछि मलाई मेरी आमा गंगा खरेलले हुर्काउनु भयो । उहाँ गुहेश्वरी माध्यामिक विद्यालयको प्रधानाध्यापक हुनुहुन्थ्यो । मनी स्मार्ट भएकाले तीनवटा दिदीसहित मैले जहाँ पुग्ने इच्छा राखेको थियौं त्यो पूरा भएको छ । मेरी श्रीमती डा.दिप्ती गौतम पाटन अस्पतालमा प्याथोलोजी विभागमा कार्यरत छिन् ।

सम्बन्धित समाचार