काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष प्रचण्ड सहित सचिवालयका ५ नेताले २२ कात्तिक २०७७ सचिवालयको औपचारिक बैठक बोलाउन माग गर्दै प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीलाई दुई पेजको पत्र बुझाए । ४८ घन्टाभित्र सचिवालय बैठक राख्न माग सहित प्रचण्ड सहितको पाँच नेताले पत्र बुझाएको चार दिनपछि प्रधानमन्त्री ओलीले बैठक होइन ५ पेज लामो उत्तर पठाए । त्यस्तो ‘उत्तरपत्र’ जहाँ कार्यकारी अध्यक्ष प्रचण्डमाथि प्रहार केन्द्रीत गरिएको छ ।
२२ कात्तिकमा अध्यक्ष प्रचण्ड सहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितको अनौपचारिक बैठकपछि प्रधानमन्त्री ओलीलाई माग पत्र बुझाइएको थियो । प्रधानमन्त्री ओलीले यही पत्रको उत्तर दिएका हुन् । पत्रमा अन्य ५ नेतालाई पनि बोधार्थ लेखेका छन् ।
एक सचिवालय सदस्यका अनुसार ५ पेज लामो उत्तरमा प्रधानमन्त्री ओलीले कार्यकारी अध्यक्षमाथि प्रहार केन्द्रीत गरेका छन् । ती सचिवालय सदस्य भन्छन्,‘मुलतः उत्तरमा अध्यक्ष प्रचण्डमाथि प्रहार केन्द्रीत गरिएको छ ।’ प्रधानमन्त्री ओलीले मुल समस्याको कारण प्रचण्डलाई नै देखाएका छन् । प्रचण्डले गुटबन्दी गरेर पार्टीलाई कमजोर बनाएको, सरकार बिरुद्ध घेराबन्दी गरेको लगायतका आरोप लगाएका छन् । सरकार विरुद्ध मोर्चाबन्दी गरेर सरकार विरुद्ध गलत प्रचार अध्यक्ष प्रचण्डले नै गराएको प्रधानमन्त्री ओलीले पत्रमा लेखेका छन् ।
पछिल्लो समयमा प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच तित्ततापूर्ण सम्बन्ध छ । खासगरी कर्णाली प्रदेशका मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव, राजदूत नियुक्ती, मन्त्रिपरिषद् पुन: गठन, पार्टीको अन्तर पार्टी निर्देशन लगायतका बिषयले ओली र प्रचण्ड दूरी बढेको हो । ओली र प्रचण्डबीचको विवादका कारण असोज १९ यता सचिवालय बैठक बस्न बस्न सकेको छैन । त्यस यता प्रचण्ड र वरिष्ठ नेता नेपाल समूहले विभिन्न अनौपचारिक बैठक राखेर छलफल गरेका छन् भने प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपालसँग बेग्ला–बेग्लै संवाद गरेर मनाउने प्रयास गरेका छन् ।
प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाउन अस्वीकार गर्दै आएका थिए । दुई अध्यक्षबीच सहमति गरेर मात्रै सचिवालय बैठक बोलाउनुपर्नेमा ओलीको जोड थियो । तर दुई अध्यक्षबीच कुनै सहमति बिना नै ओलीले एक कदमपछि हटेर आज (२८ शुक्रबार २०७७)मा सचिवालय बैठक ओलीले बोलाएका छन् ।
स्रोतका अनुसार सचिवालय बैठक अघि प्रचण्डले ओलीको १२ पेज लामो ‘आरोपपत्र’को उत्तर लेखिरहेका छन् । शुक्रबारको बैठक ओलीको १२ लामो ‘आरोपपत्र’ र प्रचण्डको प्रतिउत्तर केन्द्रीत हुने सम्भावना रहेको एक सचिवालय सदस्यले बताए ।