काठमाडौँ । तिहारको भाइटीकासँगै खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । काठमाडौं महानगरपालिका र लकडाउनपछि खाना खुवाइरहेका अभियन्ताबीच भाइटीकाको भोलिपल्टदेखि निश्चित स्थान पहिचान गर्ने वा प्याकेटमा मात्र खाना वितरण गर्ने सहमति भएको हो ।
शुक्रबार काठमाडौं महानगरपालिका र नि:शुल्क खाना खुवाउने विभिन्न अभियन्ता–संघसंस्थाका प्रतिनिधिबीच भएको सहमतिअनुसार खाना खुवाउने संस्थाले भाइटीकाको दिनसम्म खाना खुवाउने वैकल्पिक स्थानको खोजी गर्नुपर्नेछ ।
खाना खुवाउन बन्दस्थल पहिचान गरी त्यस क्षेत्रमा काठमाडौं महानगरपालिकाको सहयोग र समन्वयमा नि:शुल्क खाना खुवाउने सहमति भएको छ ।
केही दिनअघि महानगरपालिकाले खाना वितरणमा अवरोध गरेपछि चौतर्फी विरोध भएको थियो । कोरोना भाइरसको आतंकका कारण रोजगारी गुमाएका, मजदुर, असहाय र अशक्तलाई खुलामञ्चमा नि:शुल्क खाना खुवाइरहेका थिए । यसबाट संक्रमण फैलने खतरा हुने, फोहोर हुने र सहरको सौन्दर्य बिग्रने भन्दै महानगरपालिकाले खाना वितरण बन्द गर्न लागेको बताएको थियो ।
खुलामञ्चमा खाना खुवाउँदा संक्रमण झन् बढ्न सक्ने, स्वास्थ्यवर्द्धक वातावरण कायम नहुने र सामाजिक प्रतिष्ठा कायम नहुने ठहर दुबै पक्षले गरेका छन् ।