काठमाडौं । आज भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे पत्नीसहित तीन दिने नेपाल भ्रमणका लागि काठमाडौं आउँदै छन् । तीन दिनसम्म उनी सोल्टी होटेलमा नै बस्ने कार्यक्रम रहेको छ ।
सेनाध्यक्ष नरावणेको भ्रमणलाई लिएर काठमाडौं उपत्यकाभित्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ । नेपाल र भारत सीमा विवादको विषयमा सेनाध्यक्ष नरावणेले केही समयअघि दिएको अभिव्यक्तिले उनी नेपालमा आलोचित छन् । त्यही विषय उठाएर उनको विरोध पनि भएको छ ।
बिरोध हुनसक्ने सम्भावित स्थान र व्यक्ति प्रहरीको निगरानीमा रहेका छन् । केही मानिसलाई नियन्त्रणमा समेत लिएको प्रहरीले जानकारी दिएको छ । भारतीय सेनाध्यक्ष नरवणेलाई ‘कालो झण्डा देखाउँछु’ भन्ने पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।
युट्युब च्यानलमा अन्तर्वार्ता दिएर चर्चामा आएका गौतमलाई गएराति पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई कालो झण्डा देखाउँछु भन्ने अभिव्यक्ती उनले दिएका थिए । वृत्त ले अन्य कुरा नखुलाएपनि गौतम पक्राउ गरिएको भने जानकारी दियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनरल नरवणेलाई बिहीबार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।