कोभिड संक्रमण नियन्त्रणमा अग्रणी गोदावरी

16.3k Shares

काठमाडौं । नेपालमा कोभिड संक्रमणले महामारीको रूप लिएपछि सरकारले नियन्त्रणका लागि जुट्न सबै क्षेत्रलाई आह्वान गर्‍यो । संक्रमण दर उच्च हुँदै गएपछि आफ्नो क्षेत्रका संक्रमितको व्यवस्थापन, कन्ट्याक ट्रेसिङ समुदायमा परीक्षण तथा सचेतना कार्यक्रमहरू सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिइयो । विशेषगरी कोभिडको दोस्रो लहर समुदायस्तरमा नै फैलिएपछि स्थानीय तहहरूलाई सक्रिय गराइयो ।

यो क्रममा अधिकांश प्रदेश र पालिकाहरूले निशुल्क परीक्षणदेखि आइसोलेसन व्यवस्थापन तथा गम्भीर उपचारमा सहजीकरण सम्मका महत्वपूर्ण कामहरू गरेको पाइयो । आइसोलेसन व्यवस्थापन र कोभिड नियन्त्रणका अन्य कार्यक्रममा उदाहरणीय बनेका स्थानीय तहमध्येको एक हो ललितपुरको ‘गोदावरी नगरपालिका’ ।

गोदावरीमा कोभिड संक्रमणको अवस्था
काठमाडौं उपत्यकामा कोभिड संक्रमितमध्ये दोस्रो धेरै संक्रमण फैलिएको जिल्ला हो ललितपुर, जहाँ जेठ १७ गतेसम्म सक्रिय संक्रमितको संख्या ६ हजार ३९१ तथा जम्मा संक्रमित ३३ हजार ३३२ पुगेका छन् भने ४३८ जनाको मृत्यु भइसकेको छ ।

दक्षिणी ललितपुरको गोदावरी नगरपालिकामा यही मितिमा संक्रमितको संख्या २ हजार ६ सयभन्दा पुगेको तथा ६ सयजना सक्रिय संक्रमित रहेको नगरपालिकाका जनस्वास्थ्य निर्देशक सुदर्शन बजगाइँ बताउँछन् । नगरपालिका भित्रका दुईवटा अस्पताल र एउटा आइसोलेसनमा गरी अहिले ३५ जना संक्रमितको उपचार भइरहेको छ भने अहिलेसम्म कोभिड संक्रमणका कारण ४५ जनाको मृत्यु भएको छ । तर संक्रमितको व्यवस्थापन र समुदायमा संक्रमण नियन्त्रणमा भने गोदावरी ललितपुर जिल्लाकै अग्रणी पालिका भएकोे ललितपुर जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन उपेन्द्र अर्याल बताउँछन् ।

संक्रमण नियन्त्रणका लागि बलियो पूर्वतयारी
गोदावरी नगरापालिकाले आर्थिक वर्ष २०७७/०७८ मा विपद् व्यवस्थापन कोषमा ३ करोड रुपैयाँ विनियोजन गरेको थियो । दोस्रो लहरको संक्रमण सुरु भएपछि नगरअन्तर्गतको बज्रबाराही चापागाउँ अस्पतालमा कोभिड उपचार सेवा विस्तारका लागि २ करोड रुपैयाँ नगरले छुट्यायो । बाँकी ३ करोड संघ सरकारको सहयोगले अस्पतालमा संक्रमितको उपचारका लागि हाइ डिपेन्डेन्सी युनिट (एचडीयू) तयार पारियो ।

टिकाभैरवस्थित आनन्दवन अस्पताल र चापागाउँ बज्रबाराही अस्पतालसलाई कोभिड अस्पतालको रूपमा प्रयोग गरियो भने ५० बेडको आइसोलेसन सेन्टर नगरपालिकाले थप गर्‍यो । बस्तीभन्दा छुट्टै आइसोलेसन सेन्टर हुनपर्ने सरकारको निर्देशिकालाई पछ्याउँदै नगरले १३ नम्बर वडामा रहेको भलिः पुच पार्टी प्यालेसलाई  आइसोलेसन सेन्टरका रूपमा प्रयोगमा ल्यायो ।

“आजभन्दा एक महिना अगाडि आइसोलेसन सेन्टर तयार पारेपनि हामीलाई अक्सिजनको व्यवस्था गर्न भने हम्मे हम्मे पर्‍यो, ” गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन आफ्नो अनुभव सुनाउँदै भन्छन्  “अक्सिजन सिलिन्डर भर्न म आफैँ ग्यास प्लान्टमा पुगेको थिएँ, त्यही कठिन समयमा हामीले केही नगरवासीलाई गुमायाैँ तर त्यसपछि भने उपचार नपाएरै कसैको मृत्यु नहोस् भनेर लागि परेका छौँ,” महर्जनले भने ।

मासिक साढे दुई लाख भाडा तिरेर सञ्चालनमा ल्याइएको आइसोलेसन सेन्टरमा दैनिक १ हजार रुपैयाँ प्रतिव्यक्तिका दरले खाना खर्च छुट्याइएको छ । जहाँ अहिले १९ जना संक्रमितको निशुल्क उपचार भइरहेको छ । यसबाहेक आनन्दवन अस्पतालमा र बज्रबाराही चापागाउँ अस्पतालमा गरी नगरले जम्मा ८५ बेड कोभिड संक्रमितका लागि व्यवस्था गरेको छ ।

समुदायमा संक्रमितको खोजी र उपचार
दोस्रो लहरको कोभिड संक्रमण समुदायस्तरमा फैलिन थालेपछि गोदावरी नगरपालिकाले २०७७ सालको कात्तिक ६ गतेदेखि नगरवासीलाई निशुल्क परीक्षणको व्यवस्था गरेको थियो । पहिलो चरणको संक्रमणमा नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको नगरले दोस्रो लहरको संक्रमणमा भने एन्टिजेन परीक्षण विधिलाई समेत प्रयोग गरियो ।

अहिलेसम्म नगरपालिकाभित्र ८ सयभन्दा बढी नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको जनस्वास्थ्य निर्देशक बजगाइँले बताए । नगरले संक्रमित देखिएकाहरूको भने घरमै गएर स्वाब संकलन तथा एन्टिजेन परीक्षण गर्ने गरेको छ । अस्पतालमा परीक्षणका लागि आउनेहरूका लागि बिहान साढे आठ बजेदेखि साढे १० बजेसम्म निशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाइएको छ ।

यता आइसोलेसनमा राखिएका संक्रमितको नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि  ३ जना चिकित्सक र दुई जना स्कुल नर्ससहितको स्वास्थ्यकर्मी टोली खटाइएको छ । गोदावरी नगरपालिकामा  संक्रमण नियन्त्रणका लागि अहिले २९ जनाको टोलीले निरन्तर समुदायस्तरमा काम गरिरहेको बजगाइँले बताए ।

नगर प्रमुख र उप–प्रमुखको गाडी एम्बुलेन्सको रूपमा प्रयोग
गोदावारी नगरपालिकामा कोभिड संक्रमितको संख्या बढ्न थालेपछि नगरले २ वटा एम्बुलेन्सलाई कोभिड डेडिकेटेड एम्बुलेन्सको रूपमा तयारी अवस्थामा राखेको थियो । चैत अन्तिम सातायता काठमाडौं उपत्यकामा कोभिड संक्रमितको संख्या अध्यधिक रूपमा बढ्यो र संक्रमितलाई अस्पतालसम्म लैजाने एम्बुलेन्सको समेत अभाव हुन थाल्यो । त्यही अवस्थामा नगर प्रमुख गजेन्द्र महर्जन तथा उप–प्रमुख मुना अधिकारीले प्रयोग गर्दै आएको गाडीलाई कोभिड संक्रमितका लागि प्रयोग गर्ने निर्णय गरियो ।

“अहिले पनि कुनै संक्रमितलाई अस्पतालसम्म पुयाउन एम्बुलेन्स पाइएन भने हामी आफुले चढेको गाडी प्रयोग गर्न दिन तयार छौँ, हाम्रो मोबाइलमा कल गर्दा हुन्छ,” नगरप्रमुख महर्जनले भने ।  

जिम्मेवारीलाई आत्तिएर होइन संयमित भएर निभाउनुपर्छ
महामारी नियन्त्रणमा राज्यलाई सहयोग गर्नु सबै स्थानीय निकायको जिम्मेवारी भएको नगर प्रमुख महर्जनको बुझाइ छ । “संक्रमण बढ्दै गएपछि जिम्मेवारी थपिन्छ भन्नेमा हामी जानकार थियौँ त्यसैले आर्थिक, मानसिक, जनशक्ति सबै हिसाबले तयार थियौँ । यस्तो बेलामा सबै स्थानीय तहहरूले आफ्नो जिम्मेवारी आत्तिएर डराएर होइन, बलियो पूर्वयोजनाका साथ संयमित भएर निभाउनुपर्छ भन्ने कुरा कोभिड संक्रमणको दुईवटा लहरले सिकाएको सबैभन्दा ठूलो अनुभव हो,” नगर प्रमुख महर्जनल सबैलाई सुझाउँछन् । बाह्रखरीडटकमबाट

सम्बन्धित समाचार