सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार खप्तड गोल्डकपको फाइनलमा

17k Shares

धनगढी/सुदूरपश्चिमलाई पराजित गर्दै थ्री स्टार क्लव मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बिहिवार भएको खेलमा आयोजकलाई पेनाल्टी सुटआउटमा ४–२ ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको हो । थ्री स्टारले उपाधिका लागि शनिवार मनाङ मस्र्याङ्दी क्लवसँग खेल्नेछ ।

खेलको ३०औं मिनेटमा पहेँलो कार्ड पाएका थ्री स्टारका दिपेश गुरुङ ४४औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए। थ्री स्टार क्लव १० खेलाडीमा सिमित भएपनि पहिलो हाफमा दुबै टोलीले गोल गर्न सकेनन् । 

बिक्रम लामाले ८३ औं मिनेटमा हेड मार्फत गोल गर्दै थ्री स्टारलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको इन्जुरी समयमा आयोजक टीमका माधव भण्डारीले गोल गर्दै खेललाई पेनाल्टी सुटआउटमा पुर्याएका थिए । 

पेनाल्टी सुटआउटमा सुदूरपश्चिम–११ का विष्णु चौधरी र विमल ओलीको प्रहार थ्री स्टारका गोलकिपर मोहम्मद टाहाले रोकेका थिए। थ्री स्टारका बिक्रम लामा, आदित्य शाक्य, अशोक खवास र माथिन्जाको प्रहार सफल भएको थियो । सुदूरपश्चिमका फागुराम थारु र माइकल शाहीको प्रहारले जाली चुमेको थियो। खेलको ‘एसपीए म्यान अफ दि म्याच’ थ्री स्टारका कप्तान बिक्रम लामा घोषित भए। उनले नगद दश हजार रुपैयाँ प्राप्त गरे । 

यसअघि नै क्यामरुनको एभिनर फुटबल क्लवलाई हराउर्दै मनाङ मस्र्याङ्दी क्लव प्रतियोगिताको फाइनल प्रवेश गरिसकेको छ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रबद्र्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम ११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

सम्बन्धित समाचार