काठमाडौं, १४ चैत्र । न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरुलाई निषेधित क्षेत्रतर्फ जानबाट प्रहरीले रोकेपछि टंगालमै बसेर प्रदर्शन गरिरहेका उनीहरुसँगै सभापति लामिछानेले भेट गरेका हुन् ।
आफू पीडितहरुको साथमा रहेको उल्लेख गर्दै सभापति लामिछानेले सरकारले पीडितहरुको माग तुरुन्त समाधान गरेर समस्याको समाधान गर्नुपर्ने बताएका छन् । मिटरब्याज पीडितहरुको समस्या समाधान गर्न पहल गर्ने उनको भनाइ छ । साथै सभापति लामिछानेले जाली तमसुक च्यातेर गरिबलाई ऋणमुक्त बनाउनुपर्नेमा जोड दिएका छन् । त्यसको लागि आफू हस्ताक्षर गर्न पनि तयार गरेको उनले बताए ।
उनले भने, ‘जाली तमसुक च्यातिनुपर्छ, गरिबलाई ऋणमुक्त बनाउनुपर्छ । त्यसका लागि मैले हस्ताक्षर गरेर हुने भए अहिले यहीँ नै हस्ताक्षर गर्न तयार छु ।’