ओलीको सत्ता ढाल्न बन्यो यस्तो रणनीति 

14.9k Shares

काठमाडौं । गत हप्ता नेपाल कम्युनिस्ट पार्टीको एउटा समूहबीच गम्भीर छलफल भयो । जसमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश सहभागी थिए । बैठकमा ओलीको कार्यशैलीको गम्भीर समिक्षा र आगामी रणनीतिबारे छलफल भएको थियो । उनीहरुले ओलीलाई पटक—पटक सच्चिन भन्दा पनि कुनै फरक नआएको विषय उठाउँदै रणनीति बनाउने निष्कर्ष निकाले । 
प्रचण्डले आफू पार्टीभित्रको रस्साकस्सी र लफडापछि बल्ल एउटा सहमति गरेको तर प्रधानमन्त्री ओलीले आफूखुशी फेरि राजदूत नियुक्ति र मुख्यसचिव बनाएको विषय उठाए । उनले आफू हैरान भइसकेको बताए । आफूसँग दिनहुँजसो बालुवाटारमा भेट हुँदा नियुक्तिको कुनै कुरा नगरेको तर अचानक निर्णय गरेको विषय उठाए । झलनाथ खनालले आफूलाई ओलीले पार्टी निर्णय मान्नेमा पहिले नै शंका थियो भने । माधवकुमार नेपालले आफूले जति ओलीलाई कसैले नचिनेको सुनाए । आफूले जतिको ओलीलाई कसैले नभोगेको भन्दै अब प्रचण्डले तुरुन्त बैठक डाकेपछि छिनोफानो त्यहीं हुने सुनाए । 
नाराणकाजी श्रेष्ठले माधव नेपालले भने जसरी जानुपर्ने र कठोरभन्दा कठोर कदम चाल्न पनि पछि पर्न नहुने बताए । ओलीबाट पटक—पटक झड्का खाएका बामदेवले ओलीबाट खुराफाती र षड्यन्त्रबाहेक केही नहुने बताए । लगत्तै झलनाथ खनालले सोधे, बामदेव कमरेडले बल्ल बुझनुभएको हो र ? बामदेवले जवाफमा आफू सिधा कुरा गर्ने जे मनमा छ त्यही भन्ने बताए । माधव नेपालले बामदेवले छ बुँदे ल्याएर भुल गरेको बताए । उनले भने, हामीसँग एक वचन पनि नसोधी छ बुँदे ल्याउनुभयो अब केपीलाई राम्ररी चिन्नु भयो । बामदेवले छ बुँदे नल्याएको भए यो किस्सा सिद्धिसकेको हुनेथियो भन्दै माधव चर्किए । प्रचण्डले भने, बामदेव कमरेड सोझो भन्ने कि बहकिने हो ? 
झलनाथले आफू अध्यक्ष हुँदाहुँदै संसदीय दलमा आफूलाई हराई केपीलाई जुन दिनबाट बामदेवले जिताए र पार्टी अध्यक्षमा माधव नेपाललाई हराए त्यहीबाट बामदेवको दिनसाइत बिग्रिएको भने । बामदेवको भूमिकाबारे धेरैले प्रश्न उठाए । नारायणकाजी श्रेष्ठले सोधेः होइन बामदेव कमरेड तपाईंले किन छ बुँदै एक्कासी ल्याएको ? जवाफमा बामदेवले पार्टी फुट्न नदिन आफूले त्यसो गरेको भन्दै बचाऊ गरे । उनले भने, नत्र त केपीले पार्टी फुटाउन तयार पारेका रहेछन् । माधव नेपालले पार्टी फुटाउन सहज नभएको बताए । विगतमा साहना प्रधान, बामदेव गौतम, आर के मैनाली, सी पी मैनालीले पार्टी फुटाएर चलाउन नसकेर फेरि फर्कनुपरेको बताए । उनले भने, झापा आन्दोलनका हस्तीको त त्यो हालत भयो केपीले न पार्टीको काम गरे न संगठनको काम गरे । १४ वर्ष जेल बसेको न हो । केपीले पार्टी फुटाउन र चलाउने आठौं आश्चर्य हुने सुनाए । 
माधव नेपालले बामदेवलाई प्रश्न गरे, होइन बामदेव कमरेड तपाईंलाई कस्ले सुझाव दिन्छ । कस्ले भड्काउँछ तपाईलाई हामीले अनुमान गरेका छौं । प्रचण्डले पनि त्यस्तै सोधे । भने, होइन बामदेव कमरेड तपाईं किन अन्तिम चरणमा भड्कने ? झलनाथले अब सावधानी अपनाउनुपर्ने भने । बामदेवले आफूमाथि केपीबाट पटक पटक धोका खाएपनि सहेको सुनाए । आफूलाई बारम्बार अपमानित गरेको समेत बताए । उनले भने, मैंले धोका पाएर त केही हुँदैन अब पार्टी र देशले धोका पाउनु भएन । अब म सजग रहन्छु । बामदेवले अब पार्टी निर्णय नमान्नेलाई अब कठोर कदम चाल्नुपर्नेमा जोड दिए । तर, झलनाथले बामदेवले अन्तिमतिर साथ छाड्ने गरेको गुनासो पोखे । बामदेवले आफूले जति ओलीलाई कसैले सहयोग नगरेको तर आफूलाई नै पटक पटक अपमानित गरेको सुनाए । उनले भने, मैंले ओलीलाई सुधार्न सकिनँ, मेरो केही लागेन । 
प्रचण्डले अब पार्टी निर्णय र हितभन्दा बाहिर केपीले गर्ने जुनसुकै निर्णयविरुद्ध माहोल बनाउने र कठोर भन्दा कठोर कदम चाल्न पनि पछि हट्न नहुने बताए । कठोर कदम चाल्न पनि पछि नहट्ने हो भने आफू त्यही अनुरुप योजना बनाएर कदम चाल्न तयार रहेको बताए । उनले आफुनो दुई चारजना मान्छे चोरेर ओलीले केही गर्न नसक्ने बताए । सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा भारी बहुमत रहेको सुनाए । 
यसरी प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ बसेर ओलीको कार्यशैलीबारे समिक्षा गरे । उनीहरुले ओलीविरुद्ध कडा कदम चालेर बढ्ने सहमति समेत निकालेको बुझिएको छ । यसरी नेकपाभित्र ओलीविरुद्ध फेरि मोर्चाबन्दी भएको छ । यसैको भेऊ पाएर ओलीले कर्णाली प्रदेशमा कम्पन ल्याए । तर, त्यो उनकै लागि प्रत्युत्पादक बन्ने देखिएको छ । प्रचण्ड र माधव नेपाल पक्षधर मिलेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता संकट टारिदिए । ओलीलाई प्रदेशबाटै कडा चुनौती दिए । यसको असर अन्य प्रदेशहरुमा पनि पर्नसक्ने देखिएको छ । 
नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद कर्णालीमा देखिएसँगै त्यसको असर अन्यत्र देखिनथालेको छ । कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता संकट टरेपनि यसको असर बागमती प्रदेश र प्रदेश १ मा देखिने भएको छ । विश्वस्त स्रोतका अनुसार बागमती प्रदेश र प्रदेश १ मा पनि मुख्यमन्त्रीहरुविरुद्ध अविश्वासको प्रस्तावको तयारी भएको छ । त्यस्तो अवस्था आउन नदिन केन्द्रमा नेताहरु छलफलमा जुटेका छन् । 
कर्णालीमा शाहीविरुद्ध ओली पक्षधरले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकार सञ्चालनमा दबाब सृजना गर्न खोजेपछि ओली पक्षले यस्तो रणनीति चालेको हो । तर, प्रचण्ड र माधव नेपाल पक्षधर मिलेर कर्णालीमा मुख्यमन्त्री शाहीको सत्ता संकट टारेका छन् । कर्णालीमा सत्ता संकट टरेपनि बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश १ का शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावको गृहकार्य शुरु भएको छ । दुवै प्रदेशमा प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल पक्षधर एकजुट भएमा सत्ता संकटमा पर्न सक्छ ।
प्रदेशहरुमा एक पक्षले अर्को पक्षको सत्ता ढाल्ने प्रयास शुरु गरेपछि त्यसको असर केन्द्रसम्म पर्न सक्ने देखिएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम एकजुट भई सत्ताबाट हटाउन खोजेका थिए । दुई पटकको प्रयास ओलीले असफल पारिदिएका थिए । तर, मन्त्रिमण्डल पुर्नगठनलगायत शक्ति बाँडफाँडबाट सहमति बनाइएको छ । यसको कुनै कार्यान्वयन नभएको भन्दै ओलीविरुद्ध उनीइतर समूहले मोर्चाबन्दी गरेको छ । यो समूहले नयाँ रणनीति बनाउन भेट तिव्र पारेको छ । पछिल्लो घटनाले कुनै न कुनै रुपमा ओलीविरुद्ध कडा चुनौती देखापर्दैछ । यसपटक केन्द्रमा मात्र नभई प्रदेश र स्थानीय तहमा समेत हलचल आउने गरी रणनीति बनाउन थालेका छन् । यसले नेकपालाई पुनः अर्को संकटमा धकेल्दैछ । 

सम्बन्धित समाचार