कांग्रेस सभापति गगनको कारबाही चेतावनी पछि के हुन्छ देउवा पक्षमा लागेका सांसदको पद

1.1k Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कारबाहीको चेतावनी दिएपछि के हुन्छ देउवा पक्षमा लागेका सांसदहरुको पद भन्ने विषयमा चौतर्फीरुपमा चासोको विषय बनेको छ । सभापति थापाले पूर्वसभापति शेरबहादुर देउवा समूहले गरिरहेको महाधिवेशनमा सहभागी जनप्रतिनिधिलाई कारबाहीको तयारी गरेक छन्। मंगलबारदेखि सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति गगन थापाले देउवा पक्षको महाधिवेशनलाई ‘अर्का पार्टी’को संज्ञा दिएर त्यसमा सहभागी हुने कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई कारबाही हुने बताए।
राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका जनप्रतिनिधिहरूलाई नयाँ पार्टीमा लाग्ने हो भने राजीनामा दिन उनको सुझाव छ। राजीनामा नदिएर देउवा पक्षको महाधिवेशनमा सहभागी भए विधानअनुसार कारबाही गरिने थापाले चेतावनी दिए ।
‘कांग्रेस विधानले कुनै व्यक्ति पार्टीको चुनाव चिह्न लिएर लडेको छ र ऊ अर्को पार्टीमा लाग्छ भने ऊ कांग्रेसको सदस्य कायम रहँदैन। त्यसैले म आह्वान गर्छु– तपाईं राष्ट्रियसभा, प्रतिनिधिसभा, प्रदेशसभा वा स्थानीय तहमा हुनुहुन्छ भने अधिवेशनमा आउनुभयो वा आउनुभएन फरक पर्दैन,’ सभापति थापाले भने, ‘तर, तपाईंले कांग्रेस छाडेर अर्को नयाँ पार्टीमा जानुभयो भने तपाईंले जुन सभामा हुनुहुन्छ राजीनामा गर्नुहोला, गर्नुभएन भने विधानअनुसार हुन्छ। विधान कार्यान्वयन गर्नु मेरो जिम्मेवारी हो।’
सभापति भएकोले सबैलाई मिलाएर लैजानुपर्ने दायित्व रहेको भन्दै साथै विधान पनि पालना गर्नुपर्ने जिम्मेवारी पनि रहेको बताए। प्रदेश र राष्ट्रियसभा गरी ३५ जना सांसद देउवा पक्षको अधिवेशनमा सहभागी हुने देखिएको छ। मधेस र कर्णाली प्रदेशका एक जना पनि सांसद देउवा पक्षमा देखिएका छैनन् भने कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा बहुमत सदस्यले साथ दिएको देखिन्छ।
कांग्रेसका कोसी प्रदेशसभा सदस्यहरू केदार कार्की, भुपेन्द्र राई, रामकुमार खत्री, इन्दिरा थापा, सुनिता गच्छदार, खगेश्वरी पौड्याल देउवा पक्षको महाधिवेशनमा सहभागी भएका छन्। विराटनगर महानरपालिका मेयर नागेश कोइरालासहित केही पालिका प्रमुख–उपप्रमुख पनि देउवा पक्षमा छन्। 
मधेस प्रदेशमा देउवा पक्षमा कांग्रेसका कोही पनि प्रदेशसभा सदस्य सहभागी छैनन्। पालिका प्रमुख पनि देखिने गरी सक्रिय भएको पाइँदैन। बागमतीमा प्रदेशमा कन्चन चन्द्र वादे, गोविन्द लम्साल, दिपेन्द्र श्रेष्ठ, मसिना खड्का, माया श्रेष्ठ, श्याम बहादुर खड्का, विनु रायमाझी पौडेल, बिमल ठकुरी, उर्मिला नेपाल लगायत १५ जना सांसद देउवा पक्षमा छन्। पालिका प्रमुख–उपप्रमुख भने समिति रहेको देउवा समूहका नेताहरू बताउँछन्।
गण्डकी प्रदेशमा सदस्य जीतबहादुर शेरचन, सरस्वती गुरुङ र दिपेन्द्र बहादुर थापा देउवा पक्षमा छन्। लुम्बिनी प्रदेशसभा सदस्य सरोज थापा ‘रोज राणा’, माया पुन लगायत ४ जना देउवा पक्षमा देखिन्छन्। 
कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्ली चौधरी भने दुवै पक्षका महाधिवेशनमा सहभागी छैनन्। कर्णाली प्रदेशसभा सदस्यहरू देउवा पक्षमा सहभागी छैनन्। आधा दर्जन पालिका प्रमुख–उपप्रमुख भने सहभागी छन्।
सुदूरपश्चिम प्रदेशसभा सदस्यमा संसदीय दलका नेता कमलबहादुर शाह, सांसद मेघराज खड्का, सरस्वती खड्का, गीता कुमारी चौधरी, शिव राज भट्ट, विक्रम सिंह धामी, डम्मरी महरा, प्रकाश बहादुर बम र मधु देवी भारती देउवा पक्षमा छन्। 
कांग्रेसका १७ सांसद मध्ये ८ जना सांसद गगन थापाको पक्षमा छन्। कांग्रेसले ३९ प्रमुख–अध्यक्ष र ४७ पालिकामा उपप्रमुख–उपाध्यक्ष जितेको थियो। सुदूरपश्चिम प्रदेशमा कांग्रेसका पालिका प्रमुख–उपप्रमुख अधिकांश देउवा पक्षमा छन्।
यस्तै  राष्ट्रियसभा सदस्यहरू कृष्णप्रसाद सिटौला, आनन्द ढुंगाना, जीतजंग बस्नेत, कृष्णप्रसाद पौडेल, खम्बबहादुर खाती र जगत तिमिल्सिना देउवा समूहमै छन्।
उनीहरू गत असोज १८–२३ मा सम्पन्न १५ औं महाधिवेशनमा सहभागी भएनन्। देउवा पक्षको महाधिवेशनमा  सिटौला, ढुंगाना जीतजंग बस्नेत, पौडेल, खातीको सक्रिय सहभागिता देखिन्छ। अहिलेसम्म तिमिल्सिना भने खुलेर देखिएका छैनन्।
यता प्रतिनिधिसभा सदस्यका ३८ जना सांसद संस्थापन पक्षमा छन्। केही सांसदले महाधिवेशनमा भाग नलिएपनि देउवा पक्षमा महाधिवेशनमा पनि सहभागिता देखिएको छैन। सभापति थापाको अभिव्यक्तिले ३५ जना सांसदमाथि कारबाही प्रक्रिया अगाडि बढ्ने देखिएको छ।  
‘अहिले यहाँ भइरहेको कांग्रेसको अधिवेशन हुँदै होइन। एउटै पार्टीको दुईवटा अधिवेशन हुँदैन। एकपछि अर्को मान्दै साथीहरूको कुरा पनि सुन्दै जोडेर यहाँसम्म पुगेको हो। अझै पनि जोड्छु। तर, यसको एउटा सीमा हुन्छ। कांग्रेसमा अहिलेसम्म समस्या थिएन। तर, अब कांग्रेस छोडेर अर्को पार्टीको सदस्यता लिने हो भने विधानले प्रस्ट बनाउँछ,’ थापाले भने।
कोसी प्रदेशका सांसद केदार कार्की सभापति थापाको अभिव्यक्तिलाई तनावको उपजको संज्ञा दिए।‘के को कारबाही हुन्छ ? धेरै तनाव भएको हो भने उहाँ गगन थापाले मानसिक सन्तुलन ठीक राखे हुन्छ। कारबाही गर्छौँ भनेर तर्साएर को तर्सिन्छ ? पहिला केही साथीहरूलाई कारबाहीको पत्र पठाउनुभयो। पछि आफूसँग आएपछि प्रष्टीकरण पनि दिनुपरेन। उहाँहरूलाई पार्टी भनेकै मजाक हो भन्ने लागेको छ,’ उनले भने।
सभापति थापाले उट्पट्याङ कुरा गरिरहेको भन्दै आफूहरू सुन्ने र पत्याउने पक्षमा नरहेको कार्कीले बताए।
‘हामीलाई कारबाही के आधारले हुन्छरु अदालतमा मुद्दा विचाराधीन छ। पार्टीमा को अधिकारिक भन्ने छैन,’ उनले भने, ‘उहाँहरूले बुझाएको विवरण निर्वाचन आयोगमा अद्यावधिक भएको छैन। उहाँ आफैं तनावमा हुनुहुन्छ। अरु धेरै मान्छे जाने भए भनेर ठूलो मान्छेलाई तर्साउन खोजेको होला। यस्ता बकवास कुराबाट को तर्सिन्छ ?’

सम्बन्धित समाचार