काठमाडौंमा अटिजम स्कुलको शिलान्यास

1k Shares

काठमाडौं । टिजम भएका बालबालिकालाई पढाउनका लागि काठमाडौं महानगरपालिका—२९ मा अटिजम स्कुलको शिलान्यास गरिएको छ। 
बुधबार महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले काठमान्डौं स्कुल फर चिल्ड्रेन विद अटिजम एन्ड रिसर्च सेन्टरको शिलान्यास गरेकी हुन्। स्कुल शिलान्यासपछि बोल्दै डंगोलले हरेक बालबालिकाले पढ्न पाउनुपर्ने र अरु सरह नै समान अधिकार पाउनुपर्ने बताइन्। 
अटिजम भएका कारणले गर्दा शिक्षाबाट वञ्चित हुन नपर्ने वातावरण सरकारले सिर्जना गर्नुपर्ने उनको भनाइ थियो। शारीरिक अशक्तता भएकै कारणले शिक्षा लगायतको अधिकारबाट वञ्चित रहने बालबालिका धेरै रहेको उल्लेख गर्दै उनीहरूलाई सरकारले अधिकार दिनुपर्ने उनले बताइन्। 
‘हरेक बालबालिकाले पढ्न पाउने अधिकार छ। हरेक बालबालिकाले खेल्न पाउने अधिकार छ। हरेकले अवसर प्राप्त गर्ने, सँगै सम्मानपूर्वक बाँच्न पाउने हरेक बालबालिकाको समान अधिकार छ,’ उनले भनिन्, ‘यो भनिरहँदा पनि अटिजम भएका कारणले, फिजिकल डिजिबिलेटी भएका कारणले गर्दा शिक्षाबाट वञ्चित हुने बालबालिका अझै पनि हाम्रै समाजमा छ। अझै पनि धेरै त्यस्ता बालबालिका हुनुहुन्छ, जो शिक्षाबाट वञ्चित हुनुहुन्छ।’
महानगरले सबैको साझा सपनामा एउटा इटा थप गर्ने काम मात्रै गरेको उनको भनाइ छ। काठमाडौंमा अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकको सहयोग र सेवाको आवश्यकता बढ्दै गएको उनले बताइन्। 
‘अटिजम लगायतका अरु इन्टिलेचल, फिजिकल डिजिबिलेटी यसका बाधक हुनुहुँदैन भनेर हामी सबैले परिकल्पना गरेको शहर हो काठमाडौं,’ डंगोलले भनिन्, ‘देशको हरेक कुना काप्चामा पनि यो अधिकार प्राप्त गर्नका लागि फिजिकल इन्फास्ट्रक्चरदेखि हरेक व्यवस्था तय होस् भनेर हामीले साझा सपना बोकेका छौँ। साझा सपनाको लागि आज एउटा महत्त्वपूर्ण सुरुवात गरेका छौं।’
वडाको प्रशासनिक भवनको पूर्वतर्फ निर्माण हुने भवन ४५०।८० वककर्गमिटर क्षेत्रफलमा निर्माण हुनेछ। भवनका डिजाइनर इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनको लम्बाइ ९२ फिट र चौडाइ पूर्व तर्फ ३५ फिट र पश्चिम तर्फ २२ फिटको हुनेछ। १७ मिटर उचाइको ५ तले भवनका हरेक तला तीन हजार वर्गफिटका हुनेछन्। 
तीन हजार पाँच सय वर्गफिटको भूमिगत तलासहित भवन १८ हजार पाँच सय वर्गफिटको हुनेछ। भवनको भुमिगत तलामा ३० वटा दुई पाङ्ग्रे सवारी साधन पार्किङ गर्ने ठाउँ हुनेछ। 
जमिन तलामा खुला भाग, भ¥याङ् र लिफ्ट तथा भित्र पस्ने मुख्य ढोका हुनेछ। पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष हुनेछन्। चौथो तलामा प्रशासन र अनुसन्धान कक्ष हुनेछ। पाँचौँ तलामा बार्दली हुनेछ। 
जमिन तलामा खेल्ने खुला भाग हुनेछ। लिफ्ट आठ जना बोक्ने क्षमताको हुनेछ। शौचालय तथा कोठाहरू सबैको पहुँचयुक्त हुनेछन्। 
भवन निर्माणका लागि १० करोड ९१ लख ७९ हजार ६०२ रुपैयाँ लागत अनुमान गरिएको छ। सार्वजनिक खरिद प्रक्रियाबाट भवन निर्माणका लागि नौ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा सम्झौता भएको छ। 
निर्माण कम्पनीलाई मंसिर ३ गते कार्यादेश दिइएको छ। २०८४ चैत मसान्तभित्र निर्माण कार्य सम्पन्न गरिसक्नु पर्नेछ। 

सम्बन्धित समाचार