काठमाडौं । एक सातादेखि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम निरन्तर ओरालो लागिरहेको छ। यसको अर्थ दिनप्रतिदिन चिसो बढिरहेको छ।
यसै क्रममा आज बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियसमा झरेको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हिजो मंगलबार मंसिर ८ गते काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियस थियो। मंसिर २ गते बुधबार ९.५ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम त्यसयता निरन्तर घटिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार जुम्लामा आज न्यूनतम तापक्रम माइनस ८ डिग्री सेल्सियसमा झरेको छ। मौसम पूर्वानुमान महाशाखाले हरेक दिन काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम मापन गर्छ। न्यूनतम बिहान ८.४५ बजे र अधिकतम तापक्रम साँझ ५.४५ बजे मापन गरिन्छ।
मौसमविद्का अनुसार न्यूनतम मिनिमम तापक्रमले रातिदेखि बिहानसम्मको तापक्रम बताउँछ भने अधिकतम म्याक्सिमम तापक्रमले दिनभरको तापक्रमको अवस्था जनाउँछ।