काठमाडौं । देश आर्थिक रुपमा समृद्ध हुँदैमा उसले आफ्नो सुरक्षा गर्न सक्दैन भन्ने पाठ चीनले १३औं शताब्दीमा सिकिसकेको छ । त्यतिबेला विश्वकै समृद्ध मध्येको चीनलाई घुमन्ते साना समूहहरु एकजुट भई बनेको मंगोलहरुको सैन्य दस्ताले ध्वस्त पारिदिएको थियो । जेंगिज खाँले अग्लो पर्खालले घेरिएको बेइजिङ शहरलाई तीन महिना घेराबन्दी गरी भोकप्यासमा पारेर ध्वंश पारेको इतिहास छ । धनाढ्यहरुले भरिएको बेइजिङवासीले मंगोलहरुबाट आफूलाई सुरक्षित बनाउन सकेनन् । उक्त घटनापछि चीनलाई फेरि उठ्न सयौं वर्ष लाग्यो । अहिलेको चीनमा आर्थिक समृद्धिले मात्र देशको सुरक्षा हुन सक्दैन सैन्य सामथ्र्य पनि उत्तिकै महत्वपूर्ण रहेको विषयले प्रधानता पाइरहेको छ । जसका कारण उसले आर्थिक वृद्धिदरभन्दा बढी रक्षाबजेटमा वृद्धि गर्दै आएको छ । चीनमा कम्युनिस्ट शासन स्थापनापछि माओत्सेतुङ र उनीपछिका सबै नेताहरुले सैन्य सामथ्र्य बढाउनमै ध्यान केन्द्रित गरेका छन् । माओपछि चीनको कम्युनिस्ट इतिहासमा सबैभन्दा शक्तिशाली नेता मानिएका सी चिनफिङ पनि यही पथमा छन् । उनको तेस्रो कार्यकाललाई पारित गर्ने चिनियाँ पिपल्स कँग्रेसको वार्षिक सत्रको सुरुवातमा रक्षा बजेट वृद्धिको घोषणा भइसकेको छ । चीनले रक्षा बजेटमा ७.२ प्रतिशतले वृद्धि गरेको खुलाएको छ । सन् २०२३ को ड्राफ्ट बजेटमा गत वर्षभन्दा वृद्धि गरी २२४ अर्ब ७९ करोड पु¥याएको घोषणा गरेको हो । सन् २०२१ मा चीनले ७.१ र २०२० मा ६.६ प्रतिशतले रक्षा बजेट बढाएको थियो । आर्थिक वृद्धिमा विगतभन्दा सुस्तता आएपनि चीनले रक्षा बजेट झन् बढाएको हो । चीनको सन् २०२२ मा जीडीपी वृद्धिदर ३ प्रतिशत थियो र सन् २०२३ मा ५ प्रतिशत वृद्धिदर हासिल गर्ने लक्ष्य राखेको छ । यसबाट पनि उसको सैन्य सामथ्र्य बढाउने नीति खुल्दछ ।
चीनले रक्षा बजेट वृद्धिको कारण र खर्चको क्षेत्रबारे पनि उल्लेख गरेको छ । चिनियाँ विदेश मन्त्रालयको धारणा सार्वजनिक गर्ने ग्लोबल टाइम्सले सेनाको आधुनिक रोडम्याप, विश्वमा बढ्दो सुरक्षा चुनौतीका अलावा अधिक सैन्य कूटनीतिक गतिविधिका लागि रक्षा बजेट बढाइएको उल्लेख गरेको हो । चीनले एशियामा मात्र आफूलाई सिमित राखेको छैन । यूरोप, अफ्रिका, दक्षिण र उत्तर अमेरिकाका अलावा प्यासिफिक टापु देशहरुमा पनि प्रभाव बढाइरहेको छ । यसका लागि पनि उसले ठूलो धनराशी खर्च गरिरहेको छ । सन् २०२३ मा चिनियाँ जनमुक्ति सेनाले अझै प्रभावकारी युद्धक विमान, सामुन्द्रिक