झारफुकको नाममा बालिकाको हत्या गर्ने माता पक्राउ

14.9k Shares

काठमाडौं/बिरामी भएकी बालिकालाई रोग निको पार्ने भन्दै यातना दिएर हत्या गरेको आरोपमा एक कथित मातालाई प्रहरीले पक्राउ गरेको छ । रुपन्देहीको सैनामैना नगरपालिका १० की २२ वर्षीया माता भन्ने सोनिया रेश्मीको कुटपिटबाट सोही स्थानकी १४ वर्षीया सीता ज्ञवालीको मृत्यु भएपछि उनलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सैनामैना नगरपालिका १० फूलबारीकी १४ वर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा अनुसन्धान गर्न ती महिलालाई पक्राउ गरेको जनाएको छ । 

सुरुमा घाँटी र कान दुखेपछि ज्वरो आएर स्थानीय सालझण्डीको एक स्थानीय क्लिनिकमा उपचार गराई घरमै बसेकी सीतालाई मातासँग देखाउन भन्दै अभिभावकले सैनामैना १० बेम्टेनीकी २२ बर्षीया माता सोनिया रेश्मीकहाँ शनिवार साँझ लिएर गएका थिए ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउँछु भन्दै एक बालिकालाई भुइँमा लडाई घोप्टो पारी कुटपिट गरेको भिडिओ सार्वजनिक भएको थियो । 

माताले बालिकाको शरीरमाथि चढी घण्टी बजाउँदै गालामा थप्पड हान्ने, आइज, देखिस्, कति खान्छस्, मेरो पावर देखिस् भन्दै रुद्राक्षको मालाले शरीरको विभिन्न भागमा हान्ने, भुइँमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटकपटक जगले नाकमुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने गरेकी थिइन् ।

प्रहरीले मलामी गएका स्थानीय २३ जना गाउँलेलाई समेत नियन्त्रणमा लिएर सोमबार सोधपुछ गरेको छ । सोनियालाई हिरासतमा राखेर जिल्ला अदालत रुपन्देहीबाट पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अघिल्लो वर्ष काठमाडौंमै कथित माताको यातनाबाट सिन्धुपाल्चोककी १४ वर्षीया बालिकाको ज्यान गएको थियो । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका– २ की राधिका श्रेष्ठकी १४ वर्षीया छोरी रोशनी श्रेष्ठको अघिल्लो वर्षको पुसमा मृत्यु भएपछि त्यस घटनामा संलग्न आफूलाई माता दाबी गर्ने उमा शाही ठकुरी पक्राउ परेकी थिइन् । 

सम्बन्धित समाचार