सरकारी छात्रवृत्तिमा आज भन्दा १७ वर्ष अगाडि पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलबाट अध्ययन गरी करिब ८—९ वर्ष अगाडिदेखि सुमेरु अस्पताल धापाखेलमा निरन्तर कार्यरत डा. बिकल विष्ट । डा. बिष्टको स्थायी बसोबो गोदावरी नगरपालिका वडा नं. २ हो भने अस्थाई बसोबास ललितपुर महानगरपालिका वडा नं. २३ धापाखेल हो । डा. बिष्टसँग खोजतलास साप्ताहिकले दाँत सम्बन्धी रोगका बारेमा गरेको संक्षिप्त कुराकानीको पूरा अंश ः
० दाँतको काम र महत्व के होला ?
हम्रो शरीरमा दन्त स्वास्थ्य (ओरल हाइजिन) को महत्व धेरै नै छ । दाँत र मुख (इचब िऋबखष्तथ) हाम्रो शरीरको प्रवेश द्वार हो । हाम्रो शरीरलाई चाहिने पोषण दाँत र मुख हुँदै सम्पूर्ण अंगहरुमा पुग्दछ । यदि दाँत अस्वस्थ छ भने खानेकुरा राम्रोसँग चपाएर खान नसक्ने अवस्था भयो भने शरीरलाई चाहिने पौष्टिक तत्व शरीरले लिन सक्दैन र त्यस्ता व्यक्तिमा विभिन्न प्रकारका रोगहरु लाग्न सक्ने सम्भावना बढ्छ । यदि दाँत स्वस्थ छ भने खाने कुरा राम्ररी चपाएर खानाले शरीरलाई चाहिने पौष्टिक तत्व शरीरले लिन्छ र पाचन प्रक्रियामा पनि सहजता हुने भएका कारणले पनि शारीरिक रुपमा त्यस्ता व्यक्त स्वस्थ रहन सक्छन् । त्यसैले अरु अंगभन्दा पनि दाँतले हाम्रो शरीरलाई स्वस्थ राख्ने महत्वपूर्ण भूमिका खेलेको हुन्छ । लागि त्यस्तै, स्वस्थ र सफा दाँतले मानिसको सौन्दर्य बढाउँछ, व्यक्तित्वसमेत झल्काउँछ ।
० दाँतमा कस्ता—कस्ता समस्याहरु देखिन्छन् ? त्यसको समस्याको उपायहरु के के होलान् ?
दाँतमा धेरै समस्याहरु देखिन्छन्, प्रायः धेरैलाई दाँतमा किरा लाग्ने रोगले सताएको पाइन्छ । प्रायः दाँतको उपचारमा आउने विरामीहरुमा किरा लाग्ने समस्या देखिन्छ । विशेष गरी हाम्रो समाजमा शरीरको विभिन्न भागमा प्रत्यक्ष असर अथवा जटिल समस्या आएपछि मात्र डाक्टरकोमा जाने प्रचलनका कारण पनि धेरै मानिसले दुःख पाउने गर्छन् । अझ दाँतको विरामीहरु त दाँत दुखेपछि डाक्टरकोमा आउने र दुखेको तोडमा दाँतै निकाल्नसमेत भन्छन् । कतिपय दाँतको विरामीहरुमा त दाँत किराले खाएको अवस्थामा दाँत झिक्नुपर्ने भ्रम छ । तर, हामीहरुले त्यस्ता विरामीहरुको दाँतको अवस्था हेरी रोट क्यानल ट्रिटमेन्ट (आरसीटी) गरी दाँतलाई जोगाउने काम गर्छौं भने सामान्य किरा लागेको तर नदुखेको दाँतलाई सिमेन्ट भरेर (फिलिङ) मात्र गरेर पनि उपचार गर्न सकिन्छ । हामी डाक्टरको हिसावले दाँतका विरामीहरुलाई दाँत सफा, स्वस्थ राख्नका लागि कस्ता कस्ता उपायहरु अप्नाउनुपर्छ सबै जानकारी गराएर पठाउने पर्छौं ।
० कहिले काहिँ गिजा सुन्निने र रगत समेत आउने गर्छ के कारणले यस्ता समस्या आउँछ ?
दाँतमा फोहोर जमेरका कारण गिजा सुन्निने र रगत आउने हुन्छ । जसलाई न्ष्लनष्खष्तष्क भनिन्छ । यो पनि धेरै मासिनहरुमा देखिने समस्या अर्थात रोग हो । समयमा यसको उपचार नहुँदा दाँत हल्लिने, गिजा तल सर्ने र समय अगाबै दाँत झर्ने हुन्छ । आफूलाई अप्ठ्यारो महसुस भएको र गिजा सुन्निने भएको अवस्थामा तत्कालै डाक्टरकोमा गई दाँत सफा (स्केलिङ्ग) गर्नाले यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।
० दाँत बाङ्गोटिङ्गो, टेढो कसरी हुन्छ ? 
दाँत बाङ्गोटिङ्गो, टेढो हुने कारणहरु धेरै छन्, बंशानुगत, बाबु—आमामा छ भने छोराछोरीमा पनि हुने सम्भावना हुन्छ । बच्चा गर्भमा हुँदा आमाको शरीरमा कुनै रोग लाग्यो, पोषणको कमी भयो भने पनि पछि गएर बच्चाको दाँत बाङ्गोटिङ्गो हुन सक्छ । लडेर चोडपटक लाग्दा पनि बाङ्गोटिङ्गो सक्छ, बच्चाको कुपोषण भयो भने, जन्मजात अतिरिक्त दाँत हुनाले अथवा कुनै दाँत नआउनाले, बच्चाहरुमा समय अगावै दाँत निकाल्नाले, दाँतहरुको आकार ठूलो छ भने अथवा धेरै साना दाँत छन् भने, बच्चाहरुमा औंला चुस्ने बानीले पनि पछि गएर बाङ्गोटिङ्गो ताँद हुनसक्छ । धेरै दाँतमा किरा लाग्नाले पनि हुनसक्छ ।
० बाँङ्गोटिङ्गो दाँतले शरीरलाई कस्तो असर गर्छ ?
दाँत बाङ्गोटिङ्गो भयो र धाह्रा आयो भनेर दाँतको उपचार खोज्नेहरु धेरै नै छन् । दाँत बाँगोटिङ्गो हुनु सौन्दर्यलाई त यसले प्रत्यक्षरुपमा असर पारेको हुन्छ भने यसले स्वास्थ्यमा समेत प्रतिकुल असर पार्छ । दाँत बाँगो टिङ्गो भएको खण्डमा दाँतमा किरा लाग्ने प्रबल सम्भावना हुन्छ भने फोहोर जमेर स्वाससमेत गन्हाउने हुन्छ । त्यस्तै, कुनै दुर्घना भएको खण्डमा दाँत भाँचिने सम्भावना बढी हुन्छ । किनकी दाँतको ब्यालेन्स नमिलेको खण्डमा कुनै पनि दुर्घटना हुँदा दाँत ठोकिएको अवस्थामा दाँतै भाँचिनेदेखि लिएर दाँतले ओँठआदि काट्ने सम्भावना बढी हुन्छ । कसैको बाँगो टिँगो दाँतकै कारण बोलीमा समस्या आउने गर्छ ।
० यस्तो बाङ्गोटिङ्गो दाँतको उपचार विधि चाहिँ के होला ?
बाङ्गोटिङ्गो दाँतको उपचार विधि भनेको तारले बाँधेर सिधा बनाउने काम गरिन्छ जसलाई अर्थो डण्टिक ट्रिटमेन्ट भनिन्छ । यो ट्रिटमेन्ट लामो समयसम्म गर्नुपर्ने हुन्छ । बाङ्गोटिङ्गो भएर उपचार गर्ने भन्दा बाङ्गोटिङ्गो हुन नदिने उपायतिर पनि लाग्नुपर्छ । बच्चाहरुको दाँतमा हामी धेरै ध्यान पु¥यायौं भने यस्तो हुनबाट जोगिन सक्छौं । जस्तै समयमै किरा लागेका दाँतको उपचार गर्ने, पोषणको कमी हुन नदिने, औंला चुस्ने बानी भएका बच्चाहरुलाई उपचारको माध्यमबाट बानी छुटाउने, समयमै बाल दन्तरोग विशेषज्ञसँग परामर्श लिने ।
० विशेष गरी बच्चाहरुलाई दाँतको धेरै समस्या देखिन्छ कारण के होला ?
बच्चाहरुको दाँतको समस्या धेरै नै देख्नु भनेको खानपिन, दाँतको ख्याल नगर्नु नै मुख्य कारण हो । खानाको अधिक सेवन, दाँत नमाझ्नाले अथवा सही तरिकाले दाँत नमाझ्नाले पनि बच्चाहरुमा दाँतको समस्या देखिन्छ । बच्चाहरुमा विशेष गरी दाँतमा किरा लाग्ने रोगले सताउने गरेको पाइन्छ । यसको मुख्य कारण भनेको बच्चाहरुले गुलियो चिज चकलेट बढी खाने गर्छन्, चकलेट खाएपछि खासै दाँत सफा गर्ने प्रचलन नभएकै कारण पनि गुलियोका कारण दाँतमा असर गर्ने गर्छ र चाँडै नै दाँतमा किरा लाग्ने रोगले समाउने गर्छ । अझ हाम्रो समाजमा बच्चाको अर्को दाँत आइहाल्छ भन्दै त्यसलाई बचाउन तिर लाग्दैनन् । वास्तवमा त्यस्ता दाँतलाई उपचार गरी बचाउने कार्य गर्नुपर्छ । नत्र पछि नझर्ने दाँत बाङ्गोटिङ्गो आउने सम्भावना बढ्छ । यसले दिगोरुपमा समस्या आउने हुनसक्छ । 
० बुद्धि बंगरा आउँदा कतिपयलाई ज्वरो नै आउने गर्छ, के कारणले यस्तो हुन्छ ?
बुद्धि बंगरा प्रायः १८ वर्षदेखि २४ वर्षसम्मको उमेरमा आउने गर्छ । यो अन्तिममा आउने दाँत भएकाले कोही कोही मानिसलाई ठाउँ नपुगेर बाङ्गोटिङ्गो आउने, च्यापुको हड्डीमा अड्किएर बस्ने हुन्छ यस्तोलाई mयबिच क्ष्mउबअतष्यल भनिन्छ । यस्तो अवस्थामा वरीपरीको गिजामा पटक पटक संक्रमण हुन सक्छ । यही संक्रमणकै कारण कतिपय मानिसमा बुद्धि बंगरा आउने बेला विरामीसमेत पर्ने गर्छन् । दाँत च्यापुको हड्डीमा अड्कीएर बस्ने, बाङ्गोटिङ्गो आएर गिजा सुन्निे अवस्था आएको खण्डमा सर्जरी नै गरेर दाँत निकाल्नुपर्ने हुन्छ ।
० सास गन्हाउने दाँतकै कारण हो वा अन्य कारणले गन्हाउँछ ?
सास गन्हाउने समस्या धेरैमा हुन्छ । यसको कारण दाँतमा धेरै फोहोर हुँदा, किरा लागेको अवस्थामा, ध्रुमैपान, सुर्तिसेवन र मद्यपान गर्नाले, मुखबाट सास फेर्ने बानीले, मुख सुख्खा हुने कारण पनि सास गन्हाउने हुन्छ ।
० यसको उपाय के होला ?
सास गन्हाउने समस्या धेरै कारणले हुने गर्छ । के कारणले भयो पहिचान गरेर उपचार गर्न सकिन्छ । जस्तै दाँतमा फोहोर जमेर भएको छ भने दाँत सफा (स्केलिङ) गराउने, धुम्रपान, मद्यपान, सुर्तिसेवन नगर्ने, मुखबाट सास फेर्ने बानी भएकाले बानी सुधार्ने अथवा चिकित्सकसँग परामर्श गर्ने, कुनै औषधि सेवन गरिराखेको अवस्थामा मुख सुख्खा भई सास गन्हाउने हुन्छ । त्यसको लागि सम्बन्धित चिकित्सकसँग सल्लाह लिने, किरा लागेका दाँतको उपचार गर्ने, बाङ्गोटिङ्गो दाँत छ भने मिलाउने, प्रशस्त पानी पिाउने, पोषणयुक्त खाना खाने गर्नाले पनि सास गन्हाउने कम हुन्छ ।
० दाँत नभएकाहरुलाई फिक्स वा अस्थायी कस्तो दाँत राख्दा उपयुक्त हुन्छ ?
कुनै एउटा दाँत नहुनु वा सम्पूर्ण दाँतहरु झरेको अवस्थामा जसले खाना चपाउनदेखि लिएर बोल्नसमेत समस्या पर्छ । दाँत नहुँदा सौन्दर्य र व्यक्तित्वमा पनि ह्रास हाउने गर्छ । त्यस्ता व्यक्तिले नक्कली दाँत लगाएर पनि त्यस्ता समस्याबाट मुक्त हुन सक्छन् । कुनै पनि दाँत नभएका व्यक्तिदेखि एउटा मात्र दाँत नभएका व्यक्तिले पनि तिन किसिमको दाँतहरु राख्न सक्छन् । निकाल्न राख्न मिल्ने (रिमोभेबल), निकाल्नु नपर्ने (फिक्स) अथवा दाँत रोप्ने (डेन्टल इमप्लान्ट) आदि गर्न सक्छन् ।
० दाँतको उपचार खर्चिलो हुन्छ भनिन्छ नि ?
ऋवस्य पनि दाँतको उपचार खर्चिलो हुन्छ । किनकी एउटा दाँतको उपचार गर्न धेरै समय लाग्ने गर्छ । त्यसैले दाँतको रोग लाग्न नदिनु नै उत्तम उपाय हो । दाँतको रोगबाट बच्नका लागि निमित रुपमा बिहान—बेलुकी खानापछि दुई पटक ब्रस गर्ने, फ्लोराइयुक्त मञ्जन प्रयोग गर्ने, नरम ब्रशको प्रयोग गर्ने, गुलियो खाना जस्तै चकलेट, मिठाई, चिनी कम खाने, चिसो पेय पदार्थ र रेडिमेड जुस कम खाने, धुम्रपान, सुर्तिसेवन, मध्यपान र सुपारी सेवन नगर्ने, ६ महिना अथवा वर्ष दिनमा एक पटक दन्त चिकित्सकसँग दाँत र मुखको परिक्षण गराउँदा दाँत सम्बन्धी रोग लाग्न कम हुन्छ ।
० अन्तिममा तपाईंंलाई दाँत सम्बन्धी रोगका बारे भन्नुपर्ने कुरा केही छन् कि ?
शरीरका अरु अंगजस्तै दाँत र मुखको स्वास्थ्यलाई महत्व दिने बानी बसालौं । हामीले दाँतको सरसफाईलगायत खानपिनमा ध्यान दिने हो भने धेरै रोगबाट बच्न सक्छौं । कम्तिमा ६ महिना वा वर्षमा एक पटक दाँतको परिक्षण गर्ने बानी बसालौं ।