काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा हालसम्मकै धेरै जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार २०९ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ४३९ जनामा कोभिड संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो अपडेटअनुसार २५ हजार ७ जना सक्रिय संक्रमित पुगेका छन् । स्वास्थ्य मन्त्रालयले यसअघि २५ हजार सक्रिय संक्रमित संख्या नाघेमा लकडाउनमा जाने भनेको थियो ।
देशभर कोभिड संक्रमितको संख्या केही दिनमा लाख पुग्ने अनुमान गरिएको छ । हालसम्म संक्रमितको संख्या ९४ हजार २५३ जना पुगिसकेको छ ।
कोभिड संक्रमणका कारण पछिल्लो २४ घण्टामा देशभर १५ जनाको मृत्यु भएको छ। योसँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७८ जना पुगेको छ ।