कांग्रेसबाट राष्ट्रपतिमा रामचन्द्र उम्मेदवार

17k Shares

काठमाडौँ, ९ फागुन । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ । फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा कांग्रेसले पौडेललाई उम्मेदवारका रुपमा अगाडि बढाउन लागेको हो । सत्तासीन माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा साथ दिने विश्वासका साथ कांग्रेसले पौडेललाई उम्मेदवार बनाउने परिस्थिति बनेको कांग्रेसका नेताहरु बताउँछन् । कांग्रेस नेता विमलेन्द्र निधिले कांग्रेसबाट पौडेल उम्मेदवार बन्ने सम्भावना प्रबल रहेको बताए ।

उनले भने, ‘राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने औपचारिक निर्णय गरिसकेको छ । राष्ट्रपतिको उम्मेदवारबारे मात्र निर्णय हुन बाँकी हो । रामचन्द्र पौडेल उम्मेदवार हुने ९९ प्रतिशत सम्भावना छ ।’

माओवादीले राष्ट्रपतिमा समर्थन गर्ने निर्णय गरेको भोलिपल्ट कांग्रेसको कार्यसम्पादन समितिको बैठक बसेर पौडेललाई उम्मेदवार बनाइने उनको भनाइ छ । यस्तै कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले पनि राष्ट्रपतिको उम्मेदवार पौडेल नै हुने बताएको छ ।

देउवा सचिवालयका अनुसार गत पुस ६ गते भएको संसदीय दलको निर्वाचनमा पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने संस्थापन पक्षमा सहमति भएको थियो । सोही सहमति अनुसार संसदीय दलको निर्वाचनमा पौडेल देउवाको प्रस्तावक बसेका थिए । नेता एनपी साउदले पनि राष्ट्रपतिको उम्मेदवार पौडेल नै बन्ने दाबी गरे । तर कांग्रेसमा नेता सिटौला, गोपलमान श्रेष्ठ, मानबहादुर विक पनि राष्ट्रपतिको उम्मेदवारका लागि लबिङमा छन् ।

शुक्रबार साँझ सिटौलाले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राष्ट्रपतिमा सदभाव खोजेको नेताहरु बताउँछन् । उनले पार्टीका नेताहरुसँग पनि राष्ट्रपतिको उम्मेदवार बन्न भेटघाट तीव्र परेको पाइन्छ । तर अहिलेसम्मको परिस्थिति हेर्दा कांग्रेसमा राष्ट्रपतिको उम्मेदवार बन्न पौडेलको पल्लाभारी छ । पौडेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई राष्ट्रपतिमा आफूलाई सहयोग गर्न आग्रह गर्दै आएका छन् । शुक्रबार मात्र पौडेल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री प्रचण्डसँग संवादमा रहेका कांग्रेसका नेताहरु  कांग्रेसको उम्मेदवार निर्वाचित हुनेमा विश्वासमा छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, नेता रमेश लेखक लगायत प्रधानमन्त्री प्रचण्डसँग निरन्तर संवादमा छन् । गत हप्ता कांग्रेस नेताहरुले प्रधानमन्त्री प्रचण्डसँग तीव्र छलफल गरेका थिए । बिहीबार कांग्रेस उपसभापति पूर्णबहादुर खड्का प्रधानमन्त्री प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेका थिए । यस्तै शुक्रबार साँझ नेता सिटौलाले प्रधानमन्त्री प्रचण्डसँग लामो संवाद गरेका थिए ।

‘राष्ट्रपतिमा राष्ट्रिय सहमतिका लागि सरकारलाई विश्वासको मत दिएका थियौं । राष्ट्रिय सहमतिका लागि तपाईँले एमालेलगायत सत्तारुढ दलहरूलाई मनाउनुस्,’ सिटौलाले भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले एमाले तत्काल ब्याक हुने अवस्थामा नरहेको सिटौलालाई जवाफ दिएका थिए। ‘राष्ट्रिय सहमतिमा जाऔं भन्ने मेरो नीति हो । पार्टीकाे पनि यही नीति यही छ । गठबन्धनमा आबद्ध दलहरूसँग निरन्तर छलफल भइरहेको छ । राष्ट्रपतिबाट एमाले तत्कालै ब्याक हुने अवस्थामा छैन,’ उनले भने ।

किनभने शुक्रबार दिउँसो बालकोट पुगेका प्रधानमन्त्री प्रचण्डलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले १० पुसकै सहमति स्मरण गराएका थिए । जसमा माओवादीले प्रधानमन्त्री पाउँदा राष्ट्रपति र सभामुख एमालेले पाउनुपर्ने सहमति भएको थियो । तर सहमति विपरीत प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमतिको अडान लिएको एमाले नेताहरुको गुनासो गुनासो छ ।

कांग्रेस महामन्त्री गगन थापाका अनुसार प्रधानमन्त्री प्रचण्ड अहिले एमालेलाई राष्ट्रपति दिने मुडमा छैनन् । प्रधानमन्त्री प्रचण्डलाई शनिबार भेटेका निधि पनि राष्ट्रपतिमा माओवादीको सर्मथन कांग्रेसलाई रहने दाबी गर्छन् । ‘राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने कुरामा प्रचण्डजी सकारात्मक नै पाएँ । कांग्रेससँगको भावी सहकार्यका लागि पनि उहाँ तयार नै देखिनु भएको छ ,’ निधिको दाबी छ ।

आइतबार साझ कांग्रेसका शीर्ष नेता राष्ट्रपति निर्वाचनमा सहयोग माग्न प्रधानमन्त्रीको बालुवाटार पुगेका थिए । कांग्रेस सभापति देउवा, नेता पौडेल, सिटौला, उपसभापति खड्का, धनराज गुरुङ र महामन्त्री थापाले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका थिए । राष्ट्रपति निर्वाचन र सत्ता सहकार्यका विषयमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेताहरुबीच आइतबार दुई घण्टा छलफल भएको छ । सो क्रममा प्रचण्डले पार्टीमा छलफल गरेर निर्णय गर्ने बताएका थिए ।

जसअनुसार सोमबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले राष्ट्रपतिबारे निर्णय लिने जिम्मा प्रचण्डलाई दिएको छ । यद्यपि प्रचण्डले बैठकमा ब्रिफिङ गर्दै पार्टीको जोड यही गठबन्धनलाई अघि बढाउँदै राष्ट्रिय सहमति गर्ने रहेको बताएका थिए ।




सम्बन्धित समाचार