बैतडीमा सार्वजनिकस्थलमा धूम्रपान गर्नेलाई १०० रुपैयाँ जरिवाना

14.3k Shares

बैतडी । बैतडीमा गत फागुनदेखि सार्वजनिकस्थलमा धूम्रपान गर्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा जिल्ला प्रहरी कार्यालय बैतडीले यस अभियानलाई थप प्रभावकारी बनाउन विभिन्न कार्यक्रम गरिरहेको छ । 

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता खेमविक्रम केसीले सचेतना अभिवृद्धि र कारबाही प्रक्रियालाई सँगै अगाडि बढाइएको बताए । उनले गत फागुन ११ गतेदेखि हालसम्म सार्वजनिक स्थानमा धूम्रपान गर्ने २५ जनालाई कारबाही गरिएको जानकारी दिए । उनीहरूबाट जनही १०० रुपैयाँ जरिवाना असुल गरिएको छ ।

गत माघमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालगायत सरोकार भएका निकायका प्रमुख तथा प्रतिनिधिसहितको बैठकले सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि निर्णय गरेअनुसार अभियान अगाडि बढाइएको थियो । शुभारम्भमा सचेतनाका लागि प्रचारप्रसार गरी फागुन ११ गतेबाट प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो । 

“लागुऔषध नियन्त्रण तथा सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि प्रहरी कार्यालय, मातहतका प्रहरी चौकी, सञ्चार माध्यम सामाजिक सञ्जालबाट प्रचारप्रसार र माइकिङ गरेर सुरुमा सचेतना अभिवृद्धिका लागि कार्यक्रम अगाडि बढाएका थियौँ,” प्रहरी प्रवक्ता केसीले भने, “सार्वजनिक स्थानमा धूम्रपान निषेधपश्चात पनि अटेरी गर्नेलाई कारबाही गरिरहेका छौँ । यो अभियान प्रभावकारी बन्दै गएको छ ।”

सम्बन्धित समाचार