काठमाडौं । माघ महिनाको पहिलो साता भएको ६५ किलो सुन काण्डमा सिन्धुपाल्चोक प्रहरीले फितलो अनुसन्धान गरेपछि बागमती प्रदेश प्रहरीले यसतर्फ चासो देखाएको छ ।
चर्चित ३३ किलो सुन काण्डलाई समेत माथ गर्ने गरी माघको पहिलो हप्ता तस्करी भएको ६५ किलो सुन काण्डलाई भने सुन तस्कर र सिन्धुपाल्चोक प्रहरीको मिलोमत्तोमा सामसुम पार्न खोजिएको पाइएको छ । विभिन्न संचार माध्यममा ६५ किलो सुन तस्करीको विषयमा समाचार प्रकाशित भइसकेको छ । यस्तो अवस्थामा पनि प्रहरीले सुन तस्करमा संलग्नहरुलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याउनुका सट्टा उनीहरुलाई संरक्षण गरेको भान हुने कार्य गरेको स्रोतले दाबी गरेको छ । सिन्धुपाल्चोक प्रहरीले ६५ किलो सुन काण्डको अनुसन्धान फितलो गरेपछि बागमती प्रदेश प्रहरी प्रमुख डीआईजीले पनि यसतर्फ चासो देखाएका कारण प्रदेश प्रहरीले समेत अनुसन्धान थालेको स्रोतले दाबी गरेको छ ।
माघ पहिलो साता सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा ६५ किलो सुन लुटेको विषयलाई लिएर प्रहरीले अनुसन्धान तिब्र पारेको बताए पनि फरार भएका सुन तस्करहरु भने पक्राउ गरेको छैन ।
६५ किलो सुन तस्करीमा संलग्न भएका सुन तस्करहरु अहिले काठमाडौंको बौद्ध क्षेत्रको नयाँ बस्ती, माकलबारी र जोरपाटी क्षेत्रमा लुक्दैछिप्दै बसेको स्रोतले दाबी गरेको छ । तर, त्यतातर्फ खासै प्रहरीले नजर नलगाएको पनि स्रोत बताउँछ ।
सो सुन तस्करको विषयलाई लिएर खोजतलास साप्ताहिक र खोजतलास अनलाइनमा समाचार प्रकाशित गरेपछि सुन तस्करीमा मुछिएका मध्येका पेम्बा शेर्पाले फोनमार्फत धम्की दिँदै आइरहेका छन् । ६५ किलो सुन काण्डको विषयलाई लिएर जनरक्षा डटकममा पनि समाचार प्रकाशित भएको थियो । सो समाचारको विषयलाई लिएर पेम्बा शेर्पाले जनरक्षाका प्रधान सम्पादक रामशरण काफ्लेको परिवारै सखाप पार्ने सम्मको धम्की दिएको काफ्लेले खोजतलासलाई बताए । पेम्बा शेर्पा पनि अहिले बौद्धको नयाँ बजार क्षेत्रमा बस्दै आइरहेको बुझिएको छ ।
सुन तस्करीमा संलग्न पेम्बा शेर्पा र मिङमार शेर्पा (धाप्से) नाताले मामा चेला र फुपु चेला पर्छन् भने दोलखा जिल्ला बिगु गाउँपालिकाका फुङिमा शेर्पा पनि आफ्नै नाताभित्र पर्छन् । गत २०७२ साल बैशाख १२ गतेको महाभुकम्पमा परी घाइते र पीडितलाई उद्दार गर्ने बहानामा झण्डै सय किलो सुन तस्करी गरी फुङिमा मालामाल बन्न सफल बनेका थिए । त्यतिबेलाको सुन तस्करीको विषयलाई लिएर प्रहरीले अहिले पनि अनुसन्धान गरिरहेको प्रहरीका स्रोतले बताउँछन ।
नेपालको उत्तरी नाका रसुवाबाट ६५ किलो सुन छिमेकी मुलुक भारत लाने उद्देश्यले क्यारिङ्ग सिस्टमबाट भरिया लगाई ल्याउने क्रममा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नं. ५ को वाङगेल तामाङको घरमा भरियाले ४ किलो सुन छाडेका थिए ।
चार किलो सुन भरियाले वाङगेल तामाङको घरमा छाडेको थाहा पाएपछि सुन तस्करहरु पेम्बा शेर्पा, मिङ्मा शेर्पा (धाप्से), फुङिमा शेर्पा, सुब्बा लामा, लाक्पा शेर्पालगायतको टोली वाङगेलको घरमा पुगी वाङ्गेललाई ‘गन’ तेस्र्याई ४ किलो सुन लान सफल भएको स्थानीयले जानकारी गराएका थिए ।
यसरी ‘गन’ तेस्र्याई सुन लगेपछि वाङगेलले तत्काल इलाका प्रहरी कार्यालय बाह्रबिसेमा गई आफूलाई ‘गन’ तेस्र्याई चार किलो सुन लगेको भनी उजुरी हाल्न पुगे । त्यसपछि प्रहरी तत्काल घटनास्थलमा पुगे पनि सुन तस्करहरु त्यहाँबाट फरार भइसकेका थिए ।
प्रहरीले सुन तस्कर फरार भएपछि उजुरी हाल्ने वाङ्देललाई नियन्त्रणमा लिई सुन तस्करीको बारेमा अनुसन्धान गर्ने क्रममा वाङदेलले पेम्बा शेर्पा, मिङ्मा शेर्पा (धाप्से), फुङिमा शेर्पा, सुब्बा लामा, लाक्पा शेर्पालगायतको नाम प्रहरी समक्ष पोलेका थिए ।
६५ किलो सुन काण्डको विषयलाई लिएर इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रमुख इन्स्पेक्टर मुकेश न्यौपानेसँग बुझ्दा उनले भने ‘सुन तस्करीको विषयलाई लिएर कुरा आएको हो, तर ६५ किलो नभई ४ किलोको बारेमा लाक्पा शेर्पा, पेम्बा शेर्पा, सुब्बा लामा, फुङिमा शेर्पा फरार छन् । उनीहरुको खोजी कार्य जारी राखेका छौं चाँडै पक्रिन सफल हुन्छौकी उनले भने ।’ तर, स्थानीयका अनुसार सुन तस्कर र प्रहरीको मिलोमत्तोमा ६५ किलो सुन तस्करको विषयलाई लिएर तस्कर र प्रहरीको मिलोमत्तोमा घटनालाई सामसुम पार्न खोजिएको बुझिएको छ ।
चार किलो सुन लुटिएको भनी उजुरीकर्तां वाङगेल तामाङलाई किन सोधपुछका लागि नियन्त्रणमा लिई चार दिनसम्म प्रहरी कार्यालयमा राखियो, त्यसपछि किन उनलाई छाडियो, यस विषयमा सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्स्पेक्टर हरिबोल केसीसँग बुझ्दा उनले भने ‘यस विषयमा अनुसन्धान भइरहेको छ, सुन भन्ने एकिन भएको छैन,’ भन्ने जवाफ दिए, तर हाम्रा स्रोतका अनुसार यस घटनालाई सामसुम पार्न प्रहरी र तस्करबीच कुरा मिलाउन मोलमोलाई भइरहेको जानकारी गराएको छ । स्मरणीय छ, सुन तस्करीमा मुछिएका पेम्बा शेर्पा एमाले निकट शेर्पा संघको उपाध्यक्ष रहेको बुझिएको छ ।