गुटउपगुटका कारण कांग्रेस अलोकप्रिय बन्दै

17.7k Shares

काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा गुट उपगुटको सक्रियता एकसाथ देखिएको छ । गुटउपगुटकै कारण प्रमुख प्रतिपक्षको भूमिका समेत निर्वाह गर्न सकिरहेको छैन । 
तर, देश, जनता र कार्यकर्ताको हितका लागि नेपाली कांग्रेसका शिर्ष नेताहरू गुटउपगुटमा नलागी आउँदै गरेको महाधिवेन कसरी सफल बनाउने र पदको महत्वकांक्षीहरूले बन्द सत्रमा आफ्नो उम्मेदवारी घोषणा गर्नुपर्ने थियो । तर, अधिवेशन आउनु कहिले हो कहिले अहिलेदेखि नै नेताहरूले आफू पनि सभापतिको दावेदार भन्दै विभिन्न संचारमाध्यमहरूलाई अन्तरवार्ता दिनुले राष्ट्र, पार्टी र कार्यकर्ताको हितमा नभएको प्रष्ट छ । सोही कारण पनि कांग्रेस पार्टीभित्रका शिर्ष नेताहरु देश, जनता र इमान्दार कार्यकर्ताको लागि राजनीतिक गरेको भन्दा पनि आफ्नो पद कसरी सुरक्षित हुन्छ भन्दै गुट उपगुटमा लाग्नुले पछिल्लो समय कांग्रेस जनमानसमा अलोकप्रिय बन्दै गइरहेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पार्टी केन्द्रीय कार्यालयमा १४ औं महाधिवेशन स्वच्छ र निष्पक्ष ढंगले तोकिएको मितिमै गराउन मागपत्र दर्ता गराएको छ । 
 सभापति शेरबहादुर देउवा गुटका प्रभावशाली नेता उपसभापति विमलेन्द्र निधिले पनि आफूलाई पार्टीको सभापतिको दावेदारसहित राजनीतिक भेटमा व्यस्त बन्दै आइरहेका छन् । सोही क्रममा निधीले कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलासँग भेटवार्ता गरे । उनले आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने भन्दै त्यसका लागि सहयोग गर्न सिटौलालाई आग्रह गरेको बुझिएको छ । त्यसअघि उनले काँग्रेसका चिन्तकका रुपमा चिनिने प्रदीप गिरीसँग भेटवार्ता गरेका थिए । गिरीसँग पनि आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने विषयमा छलफल गरेका थिए ।
काँग्रेसभित्र एकै साथ देखिएको यो सक्रियताले नयाँ संकेतहरू गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले शक्ति प्रदर्शन गरेका छन् । उनले आफूनिकट पदाधिकारीसहित २६ केन्द्रीय नेताहरू लिएर तोकिएको मितिमा महाधिवेशन स्वच्छ र निष्पक्ष तरिकाले गर्न वातावरण बनाउन मागपत्र दर्ता गर्नु अर्थपूर्ण छ । तर, उक्त मागपत्र दर्ता गर्ने कार्यक्रममा सिटौला पक्ष सहभागी भएनन् ।
सिटौला पक्षका नेता भीमसेनदास प्रधानले आफूहरूको अलग धारणा रहेको बताए । प्रधानले आफूहरूले अलग्गै ढंगले विगतबाट नै प्रस्तुत भएकोले पौडेल पक्षको पार्टी केन्द्रीय कार्यालयमा पत्र दर्ता गर्ने कार्यक्रममा नगएको बताए । यसबाट सिटौला गुट अझै सक्रिय रहेको सन्देश गएको छ । उक्त गुटमा भीमसेनदास प्रधानसहित प्रभावशाली नेताहरू गगन थापा र प्रदीप पौडेललगायत छन् ।
काँग्रेसभित्र सिटौलाको सक्रियताले नेतृत्वको प्रतिष्पर्धामा असर पर्ने देखिएको छ । विगतमा सिटौलाकै भूमिकाका कारण पौडेल सभापतिमा पराजित भई देउवा विजयी भएका थिए । तर, यसबीच सिटौला कमजोर भएको पौडेल पक्षको दाबी छ । केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सिटौलाको हैसियतमाथि नै प्रश्न गरेका छन् । उनी सिटौलालाई पार्टीभित्र कुनै ठुलो शक्ति मान्न तयार भएनन् । सिटौलाकै कारण महाधिवेशनमा त्यति ठुलो असर नपर्ने उनको भनाई छ ।
एकातर्फ सिटौलाले आफ्नो गुटलाई बलियो बनाउन खोजेका छन् । अर्कोतर्फ पौडेल पक्षले सिटौलालाई कुनै शक्तिशाली गुट मान्न छाडेको छ । 
 

सम्बन्धित समाचार