खेलकुदमा राजनीतिकरणको अन्त्य कहिले ? 

19.6k Shares

करिव ३४ वर्ष अगाडि खुलेर जहाँतही खेल्न नपाउने भए पनि मार्सल आर्टप्रति रुचि भएकाले लुकीलुकी यो खेलतर्फ लागेका हुन् नोर्बु लामा । हालसम्म पनि यसै पेशा अर्थात मार्सल आर्ट ‘तेक्वान्दो’ मै लागिरहेको छु । 
पैसाको लागि अन्य पेशा अंगालेको भए म अहिले कुनै एउटा राम्रो व्यवसायी भन्दा कम हुने थिइन । तर देशको लागि मार्सल आर्ट ‘तेक्वान्दो’ बाटै केही गर्नुपर्छ देशको नाम विश्वसामु चिनाउनुपर्छ भनेर दिनरात यसै पेशा अंगाले । तर, राजनीतिकरणका कारण नेपालमा विशेष गरी खेलकुद क्षेत्रमा लाग्नेहरूको हाल दयनिय अवस्था छ । 
खेलाडीलाई राष्ट्रको गहना भन्ने गरिन्छ, तर नेपालमा कुनै उत्सव अर्थात् खेलकुद कार्यक्रम भएको बेला मात्र खेलाडीको महत्व हुन्छ । तर, पछि विर्सने काम हुन्छ । यसले गर्दा खेलाडीको मनोबल उत्साही हुनुको सट्टा मनोबल गिर्दै जाने काम भइरहेको छ । अझ भन्नुपर्दा खेलकुदलाई माया गर्ने खेलाडीहरू आर्थिक अवस्था कमजोर भएकै कारण विदेशिन बाध्य छन् । कतिपय खेलाडीहरू त विदेशमा खेलकुदको सिलसिलामा गएर उतै पलायनसमेत भएका छन् । यो सबै राष्ट्रले खेलाडीलाई हेर्ने दृष्टिकोणको कारण यस्तो अवस्था आएको हो ।
मैले भन्नुनै पर्छ, हालै भएको १३ साग गेममा सबैभन्दा बढी तेक्वान्दोले १२ स्वर्ण पदक ल्याएको थियो । तर, राष्ट्रकै इज्जत राख्ने खेल भनेको तेक्वान्दो नै हो । आठौं साफ गेममा पनि तेक्वान्दोले १४ स्वर्णपदक ल्याउन सफल बनेको थियो । केही दिन अगाडि संविधान दिवसको दिन खेलाडीहरूलाई दिने पदकमा राजनीतिकरण भयो । सबैभन्दा बढी तेक्वान्दोले स्वर्ण पदक ल्याएका कारण तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा, मुख्य प्रशिक्षक नविक कुमार श्रेष्ठ र दुईवटा स्वर्ण पदकधारी खेलाडी आयुशा शाक्यले कम्तिमा पनि पदक पाउनुपर्ने हो । तर, राष्ट्रकै इज्जत राख्ने यस्ता इभेन्टका सबै प्रशिक्षक र स्वर्णधारी खेलाडीले पाउनुपर्ने थियो । तर, यसरी आफूभन्दा जुनियर खेलाडीहरूलाई राजनीतिक सिफारिस, विभिन्न विभागको सिफारिसको भरमा पदक वितरण गरिएकोप्रति प्रशिक्षक तथा खेलाडीहरू रुष्ट रहेको प्रशिक्षक नोर्बु लामा बताउँछन् । तर, ज—जसले सिफारिस गरे पनि संविधान दिवसको अवसर पारेर राष्ट्रपतिद्वारा वितरण गरेको पदवी पाउने सबै खेलाडी प्रशिक्षकहरूलाई बधाई दिन्छन् प्रशिक्षक लामा ।
१३ औंल साग गेममा स्वर्ण पदक ल्याउने खेलाडी र स्वर्ण पदक ल्याउन महत्वपूर्ण भूमिका खेल्ने प्रशिक्षकलाई राज्यले भविष्यका लागि कस्तो योजना ल्याएको छ भन्ने प्रश्नमा लामा बताउँछन्, ‘भविष्यको लागि बास्तवमै भन्नुपर्दा जिरो नै हो । हाम्रो भविष्य भनेको अन्धकार नै हो, स्वर्ण पदक ल्याउने खेलाडीको हकमा भन्ने हो भने आजिबन भत्ता भनेर मासिक ६ हजार दिने गरिएको छ । तर, प्रशिक्षकको हकमा भने त्यस्तो कुनै सुविधा र व्यवस्था गरेको छैन । अझ भन्नुपर्दा एउटै पदमा २५ वर्षसम्म काम गर्दा पनि प्रमोशनसमेत गरेको छैन । यस्तो अवस्थामा राज्यले हाम्रो भविष्य सुनिश्चित गर्छ भनेर कसरी विश्वास गर्ने ? यसै कारण २०५२ सालमा १ सय७० जना प्रशिक्षक नियुक्ति भएकोमा हाल आएर प्रशिक्षकहरूको घट्दो क्रम छ । अहिले घट्दै आएर जम्मा ९९ जना प्रशिक्षक मात्र भएको लामा बताउँछन् । 
पछिल्लो समयको अवस्थालाई हेर्ने हो भने, सिँगो देशको नाम विश्वमा चिनाउने तेक्वान्दोको अवस्था कस्तो छ ? भन्ने प्रश्नमा लामा बताउछन्, ‘वास्तवमा भन्ने हो भने विश्वलाई नेपालको नाम चिनाउन सफल नेपाल तेक्वान्दो संघ हुँदाहुँदै अर्को संघ गठन गरेर दुईवटा संघ बनाएका छन् । दुईवटै संघ राष्ट्रिय खेलकुद परिषद्मा नै दर्ता भएका कारण खेलाडी तथा प्रशिक्षकहरूलाई विभिन्न प्रतियोगितामा छनोट गर्ने समयमा समेत खेलाडी र प्रशिक्षकलाई मानसिक तनाव दिने कार्य हुन्छ । यस्तो अवस्थामा राज्यले एउटै प्रकृतिको दुईवटा संघ हुँदा त्यसलाई मिलाएर एउटा बनाउन सकिरहेको अवस्था छैन । अब यस्तो अवस्थामा प्रशिक्षकले कस्तो प्रशिक्षण दिने, खेलाडीले कस्तो खेल खेल्ने यही प्रश्न उठ्ने गरेको लामा बताउँछन् । 
हालै विश्वलाई नै आतंकित पारेको कोरोना भाइरसका कारण लामो समय नेपालमा पनि लकडाउन भयो, यो अवधिमा पनि खेलाडीहरूले घरमै व्यक्तिगत प्रशिक्षण गर्दै विभिन्न राष्ट्रबाट अनलाइन भर्चुअलमा समेत विभिन्न पदक जित्न सफल बन्दै आएका छन् ।
आगामी दिनहरूमा यस्ता खेलाडीहरूको पहिचान गरी तेक्वान्दो संघले सही निर्णय र कार्य गर्ने हो र राष्ट्रिय खेलकुद परिषद्को मुख ताक्ने काम नगरी खेलाडीको हितमा विभिन्न संघसंस्था र सहयोगी दाताहरूसँग सहकार्य गरी तेक्वान्दाका राष्ट्रिय टिमका खेलाडीहरूलाई नियमित प्रशिक्षण गराउने र आर्थिक अभाव नहुने वातावरण बनाइदिएको खण्डमा तेक्वान्दोले साफ गेममा मात्र सिमत नरही ओलम्पिकमा समेत पदक ल्याउने सक्ने ठोकुवा गर्छन् प्रशिक्षक लामा । हाल लामा प्रशिक्षक मात्र नभई तेक्वान्दोको पुम्से र गेरुगीको समेत अन्तर्राष्ट्रिय रेफ्री हुन् । 

सम्बन्धित समाचार