इन्जिनियर बन्न चाहन्थें, तर डाक्टर बनियो

19.8k Shares

‘राम्रो इन्जिनियर बन्न चाहेको मान्छे चिकित्सा क्षेत्रमा छु । जहाँ छु, त्यसमा मलाई पश्चाताप छैन’, बरिष्ठ फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ प्रा।डा। युवराज शर्मा खोजतलाससँगको स्वास्थ्य वार्तामा हामीसँग जीवनको प्रारम्भिक चरणमा राखिएका इच्छा कालन्तरमा अर्कौमा रुपान्तरण भएको क्षण स्मरण गर्दै भन्छन्, ‘चिकित्सक बन्ने मेरो इच्छा थिएन, म इन्जिनियर बन्न चाहन्थे । मैले सिभिल इन्जिनियरिङमा भर्ना पनि भएको हुँ । त्यति बेला आन्दोलन र हड्ताल भएकाले पढाइमा बाधा पुग्यो । बुबाले मलाई भारत पढ्न पठाउनुभयो । बायोलोजी विषय लिएर वाराणासीको क्वीन्स कलेजको होस्टलमा बसेर साइन्स पढें । मेरा पिता–माताको चाहना अनुसार मलाई पनि विस्तारै मेडिसिनतर्फ इच्छा जाग्दै गयो । आइएस्सी सकाएपछि महाराजगन्जमा सिधै मेडिसिन विषय पढ्न पाइने रहेछ । म महाराजगंज भर्ना भएँ । तर, अध्ययनका निम्ति वीरगन्ज मेडिसिन क्याम्पस पठाइयो । त्यहाँ पिसिजिएस कोर्ष पढ्न थाले ।’ त्यसमा सर्वोत्कृष्ठ नम्बर ल्याइ नेपाल सरकारबाट छात्रवृत्तिमा छनोट भइ उच्च शिक्षाका निम्ति बंगलादेशतर्फ लागेँ ।’

कोभिड ‘डेडिकेटेड’ अस्पतालमा कार्यरत चिकित्सकको नाताले नेपालको अवस्था कस्तो देख्नुहुन्छ ?

चीनको वुहानमा देखिएको कोभिड–१९ विश्वलाई त्रसित बनाउने गरी यो रुपमा फैलन्छ भन्ने कुरा हामी कसैले पनि सोचेका थिएनौं । विस्तारै यो भाइरस फैलने तरिका र व्यक्तिको शरीरमा प्रवेश गरेपछि कसरी शिथिल बनाउँछ भन्ने कुरा थाहा हुँदै आयो । चीनबाट युरोपेली मुलुक, अमेरिका हुँदै एसियाली मुलुकमा प्रवेश गरेको कोरोना भाइरस अहिले भारतमा व्यापक रूपमा फैलिएको छ । अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि नेपालमा कोरोना संक्रमण हवाई माध्यमबाट फैलने क्रम बन्द भयो । भारतमा संक्रमण बढेसँगै त्यहाँ रोजगारी तथा अन्य कामका सिलसिलामा बसेका नेपाली स्वदेश फर्कन सुरु गरे । उनीहरू फर्कंदा संक्रमण पनि नेपाल भित्रियो । त्यसपछि नेपालमा संक्रमण बढ्न थालेको हो । खुल्ला सिमाका कारण भारतबाट लाखौं नेपाली भित्रिएका छन् । तर, भित्रिएका सम्पूर्ण नेपालीको परीक्षण हुन सकेको छैन । संक्रमण धेरै फैलिएको ठाउँबाट नेपाल भित्रिनेको संख्या ह्वात्त्तै बढ्नु, तर, तीमध्ये धेरैको परीक्षण नहुनुले नेपालमा कोरोना संक्रमणको प्रकोप वृद्धि हुनुमा भारतबाट स्वदेश आएकाहरू प्रमुख कारक हुन् भन्ने एउटा बलियो आधार हो ।

कोरोनाको संक्रमण दर फैलिरहेको  अवस्थालाई कसरी विश्लेषण गर्नुभएको छ ?

म यहाँ, नेपालको झण्डै तीन महिना अघिको समय सम्झन चाहन्छु । त्यत्तिबेला एक सातामा दुई, तीनवटा कोरोना संक्रमणको केसहरू पुष्टि हुन्थ्यो । अहिले हरेक दिन ५–७ सयको हाराहारीमा संक्रमित थएिका छन् । वास्तवमा यो आयातित रोग हो । विदेशबाट नेपाल आउनेलाई नेपाल सरकारले विभिन्न क्वारेन्टिनमा राख्ने व्यवस्था गरेको छ । क्वारेन्टिनमा बस्नेहरूको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ । अझै पनि हाम्रो चुनौति भारतबाट नेपाल भित्रिएका नेपालीको व्यवस्थापनमै छ । आजका मितिसम्म नेपालमा १४ हजारभन्दा बढी मानिसमा कोरोना पोजेटिभ देखिएका छन् । यो आकडा लगभग २०–२५ हजारको हाराहारीमा हुनसक्छ । एकजना संक्रमितको सम्पर्कमा आएका अन्य व्यक्तिको संख्याका आधारमा संक्रमित पुष्टि भएको भन्दा धेरै तथ्यांक हुन सक्ने अनुमान गर्न सकिन्छ । विदेशबाट मान्छे आउने क्रम रोकिएको पनि छैन । उनीहरूसँगै कोरोना भाइरस पनि आइरहेको छ । नेपाल आएपछि गरिएको परीक्षण मध्येबाट यो पुष्टि पनि भइरहेको छ । अहिलेको संक्रमणको दर हेर्दा नेपालमा अझै २ महिना कोभिड संक्रमण बढ्ने देखिन्छ भने यो रोगको निरन्तरता भविष्यमा अनिश्चित अवधिसम्म रहने देखिन्छ । बाहिरबाट आएकाहरू आफू स्वयं सतर्क र संवेदनशील नहुने हो भने, यो रोग समुदायमा फैलने खतरा निकै बढी छ । सहरी क्षेत्रमा समुदायमा फैलिएको छैन । तर, तराई क्षेत्रमा समुदायमा संक्रमणको दर फैलिँदो क्रममा रहेको विश्वस्त आधारहरू धेरै छन् ।

कोभिड परीक्षणको दायरा कस्तो पाउनु भएको छ ?

सुरु सुरुमा कोरोना परीक्षण सिमित थियो । अहिले नेपाल सरकारले परीक्षणको दायरा बढाएको छ । जतिबेला नेपालमा पहिलो पटक भाइरस देखियो त्यतिबेला नेपालमै परीक्षण हुँदैन थियो । परीक्षणका लागि स्याम्पल हङकङ पठाउनु पथ्र्यो । केही समय हङकङ पठाएपछि राष्ट्रिय प्रयोगशाला टेकुमा यसको परीक्षण सुरु भयो । अहिले देशभर विभिन्न २० सेन्टरबाट पीसीआर परीक्षण भइरहेको छ । तर, यो पर्याप्त छैन, यसको दायरा अझै बढाउनुपर्छ ।

कोरोना पोजेटिभको संख्या वृद्धि हुने क्रमलाई यहाँले कसरी लिनु भएको छ ?

म एउटा उदाहरणबाट प्रस्तुत गर्न चाहन्छु । अहिले पाटन अस्पतालमा ४२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । टेकु अस्पतालमा ४–५ जना हुनुहुन्छ । त्यसैगरी सशस्त्र प्रहरीको अस्पतालमा पनि केही बिरामी हुनुहुन्छ । ती सबै केसहरू बाहिरबाट आएका हुन् । विदेशबाट आउनेहरू सबैजना अनिवार्य रूपमा १४ दिनको क्वारेन्टिनमा बस्नुपर्छ । क्वारेन्टिन बसेकै बेला कोरोना परीक्षण हुन्छ । यहाँ सबैले बुझ्नुपर्ने कुरा के हो भने, विदेशबाट फर्कने व्यक्ति जसमा संक्रणको कुनै लक्षणनै छैन उसले भेटेका मान्छेमा पनि संक्रमण सर्न सक्ने भयो । यात्राका सहयात्रीलाई सारेको हुनसक्छ र स्वदेश आइसकेपछि बसेको क्वारेन्टिनमा भाइरस सारेका हुनसक्छन् ।

कोभिड बिरामीको उपचार कसरी गर्र्ने गरिन्छ ?

उपचारको कुरा गर्नुपर्दा, बिरामी कुन अवस्थामा कोभिड पोजेटिभ देखिएको हो त्यसका आधारमा हामीले उपचार पद्धति निर्धारण गर्छौं । विदेशमा विभिन्न खालका लक्षणसहित संक्रमण फैलिएको देखिए पनि हाम्रा बिरामी अधिकांसमा लक्षण देखिएको छैन । नेपालमा कोभिड पोजेटिभ बिरामीमध्ये ८५ प्रतिशत भन्दा बढीमा लक्षण देखिएको छैन । बाहिरबाट आउँदा रोग ल्याएको अनुमानकै आधारमा परीक्षण भइरहेको छ । लक्षण बिनाका बिरामी आउनु हाम्रा लागि ठूलो चुनौति हो । लक्षण नदेखिएका बिरामी सिकिस्त हुनुहुन्न, त्यो राम्रो पक्ष होे, तर, लक्षण नदेखिँदा अन्यलाई सहजै सार्ने खतरा उच्च दरमा रहन्छ त्यो नराम्रो पक्ष हो । अहिले हामी कहाँ केही बिरामीमा मात्र ज्वरो आउने, जिउ दुख्ने, रुघाखोजी लाग्ने, पेट दुख्ने, झाडा पखला लाग्ने, नाक बग्ने जस्ता लक्षणहरू देखिएको छ । पारासिटामोल, पानी, राम्रो खानपिनका साथ आराम गरेपछि ठिक हुने माइल्ड ९हल्का० लक्षण भएका बिरामीहरू हुनुहुन्छ । अर्को, सिभियर ९जटिल० खालको बिरामी हुनुहुन्छ । जसको फोक्सोमा संक्रमणका कारण निमोनिया हुन्छ । निमोनिया भएर अक्सिजन नपुगेका बिरामीलाई आइसीयुमा भर्ना गरी एन्टीबायोटिक, सलाइन र अन्य सर्पोटिभ केयर दिनुपर्छ । अर्को, क्रिटिकल खालका बिरामी छन्, उपयुक्त उपचारको बावजुद भेन्टिलेटरको आवश्यकता पर्छ । यस्ता बिरामीको फोक्सोले काम नगर्ने हुँदा अक्सिजन कमि हुन्छ । अक्सिजन कमी हुँदा शरीरका अन्य महत्वपूर्ण अंगमा क्षति पुग्छ । यस्ता बिरामीको बाँच्ने संभावना पनि कम हुँदै जान्छ । यस्तो संख्या लगभग ५ प्रतिशतसम्म हुन्छ ।

संक्रमितको दर बढेको बढ्यै हुनु तथा मृत्यु दरमा पनि क्रमैसँग बढिरहेको अवस्थालाई कसरी हेर्नु भएको छ ?

नेपाल सरकारले पाटन अस्पताललाई डेडिकेटेड कोभिड अस्पतालको रूपमा घोषणा गरेपछि सुरुदेखि नै कोभिड उपचारमा संलग्न भएको चिकित्सकको नाताले, विदेशका कोभिड केस, लिट्रेचर तथा वैज्ञानिक तथ्यहरूलाई आधार मानेर विश्लेषण गर्दा नेपालमा कोभिडकै कारणले मात्रै मृत्यु भएको केस निकै कम छ । हालसम्म २९ जना मृत्यु भएका बिरामीमध्ये धेरै जसो पहिले देखि नै अन्य रोगबाट ग्रसित हुनुहुन्थ्यो, उहाँहरू कोरोना भाइरसबाट संक्रमित हुनुभयो, परीक्षण गर्दा पोजेटिभ देखियो । तर, मृत्यु हुनुमा अन्य रोगको कारण पनि त्यतिकै सबल भएको देखिन्छ । जस–जसको मृत्यु भयो, उहाँहरूको कोरोनाको कारणले मात्रै मृत्यु भएको हो भनेर स्वीकार गर्न हामी तयार छ्रैनौं । कोरोनासहित अन्य रोगका कारण मृत्यु भएको हो भन्ने हाम्रो भनाइ हो । उदाहरणका लागि पाटन अस्पतालमा मृत्यु भएका बिरामी पनि यस्तै हुनुहुन्थ्यो । उहाँको ५–६ महिना अघि मिर्गौला प्रत्यारोपण भएको थियो, मिर्गौला प्रत्यारोपणपछि उहाँमा निमोनिया देखिएको थियो । लगभग एक महिना अघिदेखि नै उहाँको दाहिने पट्टीको फोक्सोमा संक्रमण देखिएको रहेछ । टिबिको औषधि खानुहुन्थ्यो । पछि गएर प्रत्यारोपण गरिएको मिर्गौलाले पनि क्रमशः काम गर्न छाडदै गएको थियो । भारतबाट आएर क्वारेन्टिनमा बसेकाको मृत्युको कारण पनि कोरोनाले भन्दा अन्य रोगले भएको देखिन्छ । भारतको विभिन्न ठाउँबाट सात–आठ दिनसम्म भोक भोकै यात्रा गर्नु, पहिलेदेखि शरीर भित्र भएको मिर्गौला, मुटु, सुगर, प्रेसर टिबि, एड्स आदि सम्बन्धी रोगका बारेमा अनविज्ञ हुनु । क्वारेन्टिमा यी सबै रोगको परीक्षण संभव हुँदैन । बहुसंख्यक केसमा अन्य रोगका कारणबाट बिरामीको मृत्यु भएको हुन सक्छ ।

कोभिड बिरामीमा कस्तो मनोभव पाउनु भएको छ ?

अस्पताल भर्ना भएका ४२ जना मध्ये अधिकांश बिरामीसँग मैले कुराकानी गरेको छु, उहाँहरूको मनोभाव बुझ्दा स्वदेश आउन पाएकोमा खुसी हुनुहुन्छ । कोरोना लाग्यो यो ठिक हुन्छ भन्ने पनि कतिपय हुनुहुन्छ । लक्षण बिना नै कोरोना देखिएका कारण निमोनिया होला की भन्ने तनाव कतिपयमा छ । निमोनिया भइहाले पनि चिन्ता नलिनुस् हामी कहाँ सबै उपचार आधुनिक आइसीयूको समेत व्यवस्था छ भन्ने गरेका छौं । अस्पतालबाट कहिले घर जान पाइएला भन्नेमा बिरामीको चासो बढी रहन्छ । अस्पतालमा निःशुल्क खानपिनको व्यवस्थासहित वाइफाईको सुविधा भएकाले बिरामीले परिवारसँग भिडियो च्याट गरिरहनु भएको छ ।

संक्रमणको दर बढेको बढ्यै छ तर हामी रत्ति भर पनि डर नभएको झैं गरेका छौं । यसलाई कुन रूपमा लिनु भएको छ ?

नयाँ कुरा हुँदा सुरुमा डर नै हुन्छ । कोरोनाको पनि सुरुमा धेरै नै डर थियो । अहिले पनि हामी खतराकै चरणमा छौं । संक्रमणको दर बढ्दै जानु तर खुकुलोपन हुनु खतरा हो । मानिसले राम्रोसँग उपयुक्त मास्क मात्रै लगाए भने पनि भाइरस सर्ने क्षमतामा ९८ प्रतिशतले कमी आउँछ । स्यानिटाइजर प्रयोग गर्ने हो भने कोरोनाको संक्रमण निकै कम हुन्छ । जनसमुदायमा सचेतनाको धेरै नै आवश्यकता छ । सामाजिक दूरी कायम राखे पनि कोरोना भाइरस सर्ने खतरा कम हुन्छ । कोरोनाको किटाणु स्यानिटाइजरको प्रयोगले २० सकेन्डमै मर्छ । सावुन पानीले हात धुँदा पनि भाइरस मर्छ । यो भाइरस सजिलोसँग सर्ने भएपनि सजिलोसँग मर्छ पनि ।

सरकार तथा सञ्चारमाध्यमको दायित्व जनतामा सचेतना फैलाउनु नै हुनुपर्छ । अहिलेकै जस्तो अवस्था रहने हो भने कम्तिमा २ महिनासम्म कोरोना भाइरस व्यापक रूपमा फैलने खतरा छ । खास लकडाउन गर्नुपर्ने  बेला अहिलेको हो । क्वारेन्टिनको व्यवस्थापनमा ध्यान दिन सकेको भए कोरोनालाई हामीले सजिलै नियन्त्रणमा लिनसक्थ्यौं । पहिलो संक्रमणको दर कम थियो, सुरुमा हामी धेरै नै डराएर कडा लकडाउन ग¥यौं, अहिले संक्रमणको दर बढी छ खुकुलोपन अहिले नै छ । यो मामिलामा सरकारले अपनाउनु पर्ने कार्य योजनामा कमजोरी छ भन्ने मेरो भनाइ छ । सरकारले अहिले जुन रणनीति अपनाउनु पर्ने थियो त्यो अपनाउन सकेन । सुरु–सुरुमा विदेशबाट आएका सबैलाई क्वारेन्टिनमा राखेर परीक्षण गर्दा नेगेटिभ आएपछि समुदायमा पठाएको भए देशै भर लकडाउन गर्नु पर्ने पनि थिएन ।

प्रसंग अलि बदलौं, उच्च ओहदाका व्यक्तिको चिकित्सक हुँदा र सर्वसाधारण बिरामीको चिकित्सक हुँदा भिन्नता हुन्छ ?

चिकित्सकहरूले एक किसिमको हिपोक्रेटिक ओथ ९कसम० खाएका हुन्छन् । चिकित्सा शास्त्र पढेपछि त्यो सपथ नगरी प्राक्टिस गर्न पाइँदैन । त्यसमा ठूलो–सानो, धनी–गरिब, राजनीतिक आधार, लिङ्ग, जाति, धर्म कुनै कुरालाई मान्यता नदिइ सबैलाई समान सेवा र व्यवहार गर्छौं भन्ने हुन्छ । उच्च पदका नेताहरू पनि गरिब जनताकै वातावरणमा हुर्केर देशलाई नेतृत्व गरिरहनु भएको छ । चिकित्सकले गरिब, दुःखी तथा सम्पन्न सबै खालका बिरामीको समस्या बुझ्नु पर्छ । दूरदराजबाट आएको गरिब बिरामीको अवस्था हेरेर हामीले सक्दो सेवा दिन सक्नुपर्छ । दुरदराजबाट उपचारका लागि आएका बिरामीलाई एक–दुई सातापछि रिपोर्ट लिएर देखाउन आउनुस् भनेर व्यवहारिक हुँदैन । बिरामी सहरमा बस्दा हुने असुविधा र लाग्ने खर्चलगायतका कुरा बिचार गरेर काम गर्नुपर्छ । सर्वसाधारण बिरामीको उपचारलाई पनि त्यत्तिकै महत्व दिनुपर्छ । उच्च ओहोदाको व्यक्तिको निजी चिकित्सक हुँदा उहाँहरूलाई मैले स्वास्थ्य राख्नु पर्छ किनकी उहाँको आवश्यकता सारा  जनता र देशलाई छ भन्ने नैतिकताले बढी काम गर्दोरहेछ । आफूले ‘फुल एटेन्सन’ ले काम गर्नुपर्छ । त्यसकारण एक प्रकारको तनाव त पक्यै हुन्छ । तर, चिकित्सकको पेशागत धर्म र मूल्य मान्यताका आधारमा कुरा गर्ने हो भने, सामान्य जनताको उपचार गर्नु र नेताको उपचार गर्नुमा फरक छैन । कुनै रोगको विदेशमा राम्रो उपचार हुन्छ भन्ने हामीलाई लाग्यो भने मात्र उच्च पदमा रहेका व्यक्तिलाई उपचारका लागि रेकमेन्ड गर्छौ । गरिब बिरामीलाई विदेश वा सुविधा सम्पन्न अस्पतालको कुरा गरिदिएर अर्थ हुँदैन । उपचार सम्पूर्णले पाउनुपर्छ र यो नैसर्गिक अधिकार हो । आफ्ना नागरिकलाई उपचार दिनु सरकारको दायित्व हो ।

प्राध्यापक हुनु र ंचिकित्सक मात्रै हुनुमा के फरक छ ?

प्राध्यापक हुनु र स्टेथोस्कोप मात्र भिरेर बिरामी जाँच गर्नुमा धेरै फरक छ । प्राध्यापकको जिम्मेवारी एमबीबीएस तथा एमडीका विद्यार्थीलाई पढाएर भविष्यका कुशल डाक्टर निर्माण गर्नु  हो  । विशेषज्ञ चिकित्सक तयार पार्नु उसको दायित्व हुन्छ । चिकित्सा शिक्षाका लागि नीति तर्जुमादेखि विद्यार्थीका पाठ्यक्रम तयार पार्नु, परीक्षा लिनु जस्ता सबै काम प्राध्यापकले गर्नुपर्छ । समय अनुसार अपडेट हुनुपर्र्ने प्राध्यापकको अर्को महत्वपूर्ण भूमिका हो । उदाहरणका लागि कोभिडका बारेमा दुई महिना अघि जे जति ज्ञान थियो, अहिले यसका बारेमा धेरै ज्ञान थपिइसकेका छन् । प्राध्यापक हुँदा विशेषज्ञ तहको अध्यापनमा ताजा विवरण दिनसक्ने ज्ञान आवश्यक पर्छ । विद्यार्थीलाई बिरामी र रोगसँग ‘लिङक’ गराउन सक्नु पर्छ । प्राध्यापकको जिम्मेवारी अनुसन्धानमा सहभागी हुनु, सेमिनार र गोष्ठीमाहरूमा पेपर प्रस्तुत गर्नु पनि हो । अनुसन्धान, अध्ययन र बिरामीको उपचार यी तीनै पक्षलाई समान रूपमा प्राध्यापकले लैजानु पर्छ । अर्कोतर्फ खाली प्राक्टिसमात्र गर्ने चिकित्सकले बिरामीको उपचारमा संलग्न भए पुग्छ । तर आफूलाई  अपडेट राख्न सकें राम्रो हो ।

दुई–दुईवटा विषयमा एमडी गर्नुपर्ने अवस्था कसरी बन्यो ?

पहिले एमबीबीएस पढ्ने वित्तिकै डाक्टर भइयो, पढाइ सकियो भन्ने हुन्थ्यो । एमबीबीएस चिकित्सा शास्त्रको आधारभूत ज्ञान हो । एमडी विशेषज्ञ तहको पढाइ हो  । एमडीमा एउटा पक्ष मेडिसिन हुन्छ अर्को पक्ष सर्जरी हुन्छ । मेडिसिन र सर्जरीका पनि धेरै हाँगा छन् । एमबीबीएस पढ्दा उत्कृष्ट अंक ल्याएर सरकारी छात्रवृत्तिमा पढेको हँु । एमडीको अध्ययन पनि डब्लुएचओको छात्रवृत्तिमै पढेको हुँ । पहिलो एमडी मेरो इन्टरनल मेडिसिनबाट हो । त्यसमा पनि मैले युनिभर्सिटीमा राम्रो नम्बर ल्याएको थिए । तत पश्चात, ग्यास्टोइन्टरोलोजीमा मैले ६ महिनाको टे«निङ गरें । नेपाल मेडिकल काउन्सिलले एक वर्ष नभइकन मान्यता नदिने कुरा ग¥यो । ढाका विश्वविद्यालयका प्राध्यापकले मलाई अर्को पेट तथा कलेजो विषयमा एमडी गर्न सल्लाह दिनुभयो । सिमित सिट भए पनि मेरो नाम निस्कियो ।

दुईवटा विषयमा एमडी डिग्री लिएर म नेपाल आएर काठमाडौं विश्वविद्यालयमा पढाउन थालेँ । काठमाडौं विश्वविद्यालयमा नै मेडिसन विभाग स्थापना गराउने प्रयास गरेँ । त्यो विभागलाई स्थापित गराउन धेरै मेहनत गर्नुप¥यो । ज्ञान र डिग्री भए पनि चिकित्सा क्षेत्रमा विकिसित भइरहेका नयाँ उच्च प्रविधि तथा मेसिनहरू चलाउनु पर्ने दक्षिता आर्जन गर्नुपर्छ भन्ने लाग्यो । जापानको विश्वविद्यालयमा आवेदन दिएँ । फेलोसिप प्राप्त भयो । जापानमा एक वर्षको फेलोसिप इन्डोस्कोपी सबन्धी पढाई सकेपछि नेपाल फर्किएको हुँ । जापानबाट फर्किएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संलग्न हुन प्रस्ताव आयो । काम गर्न सुरु गरेँ । छोटो अवधिमा म मेडिकल डाइरेक्टर पनि भएँ । हाल मेडिसिन विभागको विभागिय प्रमुखको रुपमा कार्यरत छु । यसै वर्ष मलाइृ बेलायतबाट एफआरसीपी–डिग्रीबाट अननरी फेलिसिप अवार्ड दिइएको छ ।

सुमेरुसँगको सहकार्य कसरी सुरु भयो ?

अध्ययनका हिसाबले दुईवटा विषयमा एमडी भएकाले आफूसँग भएको ज्ञान र कामको ख्यातिलाई व्यापक बनाउन पाएको थिइनँ । पाटन अस्पतालमा काम गर्दै गर्दा मलाई विभिन्न अस्पतालहरूबाट ‘फुलटाइम दिनुप¥यो’ भन्ने प्रस्ताव आयो । त्यो प्रस्ताव आउँदा मैले मलाई बिरामी जाँचेर मात्रै हुँदैन, डाक्टरलाई पढाउने ठाउँ पनि चाहिन्छ भन्ने लाग्यो । त्यो सुविधा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र महाराजगञ्जको शिक्षण अस्पतालमा थियो । ललितपुरवासी भएकाले पाटन अस्पतालमा सेवा गर्ने अठोट गरें । मेरो कामको चर्चा भइसकेका थियो । सुमेरु अस्पतालबाट पनि प्रस्ताव भयो । सुमेरुको व्यवस्थापन पक्षसँग चरणवद्ध वार्ताहरू भए । मलाई पनि प्राइभेट प्राक्टिस गर्ने एउटा भरपर्दो सेन्टर चाहिएको थियो । सुमेरु सिटी अस्पतालमार्फत म सेवामा संलग्न भएको हुँ । धापाखेलको सुमेरु अस्पताल पनि भर्खरै सुरु भएको थियो । उहाँहरूमा सुमेरु सिटी अस्पताललाई राम्रो बनाउने प्रवल इच्छा र मलाई पनि भरपर्दो संस्थाको आवश्यकता । दुबै पक्षको आवश्यकता र रुचि मिलेकाले मैले सुमेरुमा काम गर्न थालेँ । सुमेरुमा म संलग्न भएपछि अन्य ख्याति प्राप्त चिकित्सकहरू पनि यहाँ संलग्न हुनुभयो, उहाँहरूलाई ल्याउन मेरो भूमिका महत्वपूर्ण रह्यो । सर्वसाधारण देखि भिआइपी, भीभीआइपी बिरामीको सुमेरु सिटीमै जाँच गर्ने गरेको छुँ । प्रधानमन्त्री, मन्त्री, सांसद्, सचिवल, कलाकार तथा बहुआयामिक व्यक्तित्वहरू जाँच गर्न सुमेरु सिटीमै आउनुहुन्छ । सबै खालका बिरामीलाई सन्तुष्टि दिनुपर्छ भन्ने मेरो मान्यता र सुमेरु अस्पतालको सवल व्यवस्थापनका कारण हामी सहकार्यमा छौ । विदेशबाट पनि धेरै बिरामीहरू मलाई खोज्दै आउनु हुन्छ । उहाँहरूलाई प्राय सुमेरु सिटी अस्पतालनै आउनु हुन्छ ।

विद्यालय जीवन कस्तो रह्यो बताइदिनुस् न ?

म स्याङजा जिल्लाको किचनास गाविसमा जन्मेको हुँ । मेरो ठूलो बुवाले विरुवा बजारमा स्थापना गरेको विद्यालयमै एसएलसीसम्म पढेको हुँ । मैले एसएलसी दिने वर्ष एक दिन अकस्मात आमा लडेर घाइते हुनुभयो । उहाँको ढाडमा चोट लाग्यो । उपचारका लागि आमा भारत जानु भयो । दुई महिना भारतमै बस्नुपर्ने भयो । आमा उपचार गर्न जाँदा परिवारको जेठो सदस्य भएकाले मेरा दुई भाइको रेखदेख गर्दै घरको काम गरेर मैले पढाई अगाडि बढाएँ । बुबाले ‘तैले पढ्न पाएको छैनस्, यस पटक एसएलसी नदे’ भन्नु भएको थियो । तर, मेरो मनले मानेन । परीक्षामा सामेल भएँ । एसएलसीको रिजल्ट भयो । हाम्रो स्कुलका दुई जनाले पहिलो श्रेणीमा उत्तीर्ण गरे भन्ने सुनें । तर को भन्ने थाहा भएन । एक जना साथीले मेरो पनि प्रथम श्रेणीमा प्रकाशित भएको सुनाए । हेडसरले ‘तिम्रो पहिलो श्रेणी आएको छ’ भन्नुभयो । उच्च अध्ययनका लागि  विषय छनोट गर्ने बेलामा म धेरै  दोधारमा परेको थिए । मेरो भित्रि इच्छा इन्जिनियर बन्नेतिर झुकाव भएपनि मेरा बुबा–आमाको डाक्टर बनाउने इच्छा थियो । आएएस्सी पढ्न त्रिचन्द्र छाडें, अस्कल छाँडे, महाराजगन्जमा भर्ना हुन गएँ । भर्ना हुने बेलामा एउटा फोटो पुगेन । फोटो बनाउन पकनाजोल आएँ । फोटो बनाएपछि मन परिवर्तन भयो । मैले इन्जिनियरिङ पढ्ने निधो गरँे । पुल्चोकमा सिभिल इन्जिनियरिङमा भर्ना भएँ । छात्रवृत्ति पनि पाए । त्यति बेला आन्दोलन चर्केकाले पढाइमा बाधा भयो । मेरो पढ्ने तीब्र चाहना र यहाँ पढाइ नहुने देखेपछि बुबाले मलाई भारत पढ्न पठाउनुभयो । बायोलोजी लिएर क्वीन्स कलेज वाराणासीमा साइन्स पढें । मलाई मेडिसिनतर्फ विस्तारै इच्छा जाग्न थाल्यो । आइएस्सीपछि सिधै नेपालमा एक मात्र मेडिसिन पढ्न पाइने क्याम्पस महाराजगञ्जमा पिसिजिएममा भर्ना भएँ । वीरगञ्ज पढ्न पठाइयो । त्यहाँ सर्वोच्कृष्ठ नम्बर प्राप्त गरेँ । उच्च शिक्षा पढ्न नेपाल सरकारको छात्रवृत्तिमा बंगलादेश पढ्न गएको हुँ । पञ्चायत कालमा प्राप्त भएको स्कलरसिप काटियो । स्कलरसिप काटिए पनि बुबाको आर्थिक सहयोगले पढाई सकेँ । एमबीबीएस पनि मैले क्लास टप गरेको थिए । नेपाल आएपछि वीर अस्पतालमा एक वर्ष इन्टर्नसिप सम्पन्न गरँे । त्यसपछि पुनः ढाका विश्वविद्यालयमा डब्लुएचओको  छात्रवृत्तिमा एमडी अध्ययन गर्न गएको हुँ ।

जीवनलाई फर्केर हेर्दा कस्तो लागिरहेको छ ?

राम्रो इन्जिनियर बन्न हिँडेको मान्छे चिकित्सा क्षेत्रमा छु । जहाँ छु, त्यसमा मलाई पछुतो छैन । काममा इमान्दार  सिन्सियर भएपछि कहिल्यै धोका हुँदैन । मनमा अनावश्यक प्रलोभन राख्नु हँुदैन । सबैलाई इज्जत गर्न सक्नुपर्छ । बिरामीको दुःखलाई अन्तरआत्माले महसुस गर्न सक्नुपर्छ । बिरामीको सन्तुष्ठिमा आनन्द लिन जान्नुपर्छ । केही व्यक्तिबाट गल्ती हुँदा सम्पूर्ण डाक्टर समुदायमा प्रहार हुन्छ । अनावश्यक विवाद हुन्छ ।  सबैलाई एउटै श्रेणीमा राखेर हेरिदिँदा राम्रो काम गर्नेलाई अन्याय हुन्छ ।  नरमाइलो महसुस हुन्छ । राम्रो काम गर्नेको आत्मवल गिराउनु हुँदैन । सत्कर्ममा नै परम सुःख लिन जान्नु पर्दछ जस्तो मलाई लाग्दछ ।

सम्बन्धित समाचार