काठमाडौं/सबैभन्दा ठूलो ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०७९-८० को दोस्रो त्रैमाससम्ममा २ अर्ब ७८ करोड रुपियाँ खुद नाफा कमाएको छ । बैंकले आज प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा उक्त तथ्याङ्क उल्लेख छ ।
गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ६६ करोड खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा खुद नाफा ४.४७ प्रतिशतले बढेको हो । यो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ११ करोड छ । बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ६ अर्ब ५४ करोड खुद ब्याज आम्दानी गरेको छ ।
बैंकको चुक्तापुँजी ३५ अर्ब ७७ करोड छ । रिजर्भ पनि ७१.१४ प्रतिशतले बढेर १८ अर्ब ३१ करोड पुगेको छ । समीक्षा अवधिसम्म बैंकले ४ खर्ब ३ अर्ब निक्षेप संकलन गरी ३ खर्ब ६३ अर्ब कर्जा परिचालन गरेको छ ।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) बढेर २.९२ प्रतिशत पुगेको छ भने सीडी रेसियो ८९.४३ प्रतिशत रहेको बैंकको आधार दर १०.८० प्रतिशत छ । प्रतिशेयर आम्दानी (ईपीएस) घटेर १८.०७ छ भने पीई रेसियो ११.६४ गुणा, प्रतिशेयर नेटवर्थ १५४.३४ रुपियाँ र तरलता अनुपात २३.०५ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ ।