काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरिक्षक (आईजीपी) ध्रुवबहादुर प्रधानले आफ्नो पहिलो संसद यात्रामै मन्त्री बनेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी-राप्रपाले आफ्नो भागमा परेका मन्त्रालयका लागि प्रधानलाई सिफारिस गरेको थियो । प्रधानले कानूनमन्त्रीका रुपमा सपथ लिएर कार्यभार सम्हालेका छन् ।
यसअघि राप्रपाको दुई वर्षअघि भएको महाधिवेशनमा प्रधान कमल थापाको खेमाबाट राजेन्द्र लिङ्गेदनतर्फ लागेका थिए । थापालाई हराएर पार्टी अध्यक्ष निर्वाचित भएका लिङ्देन नेतृत्वको केन्द्रीय समितीमा प्रधान उपाध्यक्ष निर्वाचित भएका थिए । गत प्रतिनिधि सभा निर्वाचनमा राप्रपाले देशभर प्रत्यक्षतर्फ जितेका ७ सिटमा प्रधान पनि नवलपरासी–२ बाट निर्वाचित भएका हुन् ।
तत्कालीन सरकारले आईजीपी बनाएको एक महिनामै अच्युतकृष्ण खरेललाई प्रधानलाई जिम्मेवारी दिएपछि उनी विवादमा आएका थिए । प्रधान झण्डै ९ महिना आईजिपी रहेपछि खरेल सर्वोच्चको आदेशबाट पुनर्वहाली भएका थिए । २०५४ मंसिरमा खरेल पदमा फर्किएपछि प्रधान पनि अदालत पुगेका थिए । नेपाल प्रहरीको सेवाबाट बाहिरिएपछि उनी राजनीति र खेलकुदमा सक्रिय भए ।
उनी सन् २००६ देखि २०१५ सम्म लगातार नेपाल ओलम्पिक कमिटीको अध्यक्ष रहेका थिए । त्यतिबेला सर्वोच्च अदालतले रुक्म शमशेर राणा अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटीलाई आधिकारिता दिएपनि प्रधान आफू नेतृत्वको कमिटीलाई अन्तर्राष्ट्रिय मान्यता रहेको भन्दै अन्तर्राष्ट्रिय खेलकुदमा सहभागी हुने गरेका थिए ।