११ वर्ष अगाडि पढाई सकी धुलिखेल अस्पतालमा करिब पाँच वर्ष कार्य गरी आठ वर्ष अगाडिदेखि सुमेरु अस्पतालमा कार्यरत रेडियोलोजिष्ट डा. कीर्ति सुवास जोशीले एमबीबीएस डीग्री मनिपाल कलेज, पोखरा र एमडी काठमाडौं विश्वविद्यालयबाट गरेका हु्न् । डा. जोशीले रेडियोलोजीको महत्व र यसले गर्ने कार्यलगायतका विषयमा खोजतलास साप्ताहिकका लागि विश्वास भट्टराईसँग गरेको संक्षिप्त कुराकानी :
कोरोना भाइरसको महामारीको अवस्थामा दिन चर्या कसरी वितिरहेको छ ?
कोरोना भाइरसको संक्रमणको कारण खासै धेरै कामहरु हुदैनन्, तर पनि अस्पतालमा आफ्नो ड्यूटी गर्न जाने गरेको छु । फुर्सदको समयमा पत्रपत्रिका पढ्नुका साथै खेलकुद, योगालगायतका कार्यहरु गरी दिन विताउने गरेको छु ।
रेडियोलोजी भन्नाले के बुझिन्छ ?
रेडियोलोजी भन्नाले विरामीको रोग पत्ता लगाउने माध्यमहरु जस्तै एक्सरे, भिडियो एक्सरे, सीटीस्क्यान र एमआरआई हुन् । यसबाटै सामान्यदेखि गम्भीर रोगहरु पत्ता लगाउन धेरै नै सहज हुन्छ । यसैको रिपोर्टबाट चिकित्सकले विरामीको उपचार विधि अप्नाउने गर्छन् ।
रेडियोलोजिस्टले रोगको पहिचान कसरी गर्छन् ?
चिकित्सकले विरामीको परिक्षण मात्र गरेर रोग पत्ता लगाउँदैन । उहाँहरुले अरु टेष्टहरु गराउनुहुन्छ । त्यसमध्ये रेडियोलोजी अन्तर्गतका माध्यमहरु एक हुन् । यसबाट विरामीको शरीरभित्रको सामान्य र असामान्य कुराहरुको जानकारी लिन सकिन्छ र सोही किसिमको रिपोर्ट दिन सकिन्छ । अब यी माध्यमहरुले वास्तवमा कसरी काम गर्छन् भन्ने कुरा चाहिँ नितान्त टेक्निकल विषय हुन् । यसको विस्तृत विवरण दिन यो छोटो अन्तर्वातामा सकिँदैन ।
कस्ता रोग अनुसार यी चार विधिहरु अप्नाउने गरिन्छ ?
ह्ड्डीको समस्या भएमा जस्तै सामान्य एक्सरे नै काफी हुन्छ, तर जटिल खालको रोग देखिएको खण्डमा सीटीस्क्यान र एमआरआईको सहयोग पनि लिनुपर्ने हुन्छ । गर्भावस्थामा भने भिडियो एक्सरे नै काफी छ । पेटका अन्य रोगहरु छन् भने भिडियो एक्सरे र सिटिस्क्यान गरिन्छ । टाउको र मेरुदण्डको समस्या छ भने सीटीस्क्यान र एमआरई गरिन्छ । फोक्सोको समस्या भएमा एक्सरे र सिटीस्क्यान गरिन्छ ।
भिडियो एक्स—रे गर्दा के—के कुरामा ध्यान दिनुपर्छ ?
पेटको भिडियो एक्स—रे गर्न कम्तिमा ४ घन्टा खाली पेट हुनुपर्छ । तर, पानी चाहिँ प्रशस्त खानुपर्छ र पिसाव च्याप्नुपर्छ । यी बाहेक अन्य भिडियो एक्स—रे गर्न खाली पेट चाहिँदैन ।
डा. सा’व गर्भमा रहेको शिषुको लिङ्ग पहिचान गरी एर्वोसन गर्ने माध्यम नै रेडियोलोजिस्टहरु हुन्छन् भनिन्छ नि ?
गर्भमा रहेको शिशुको लिङ्ग पहिचान गर्न रेडियोलोजिस्टको सहयोग चाहिन्छ । विशेष गरी तीन महिना पुग्ने वित्तिकै लिङ्गको पहिचान गर्न सकिन्छ । तर, हाम्रो सुमेरु अस्पतालमा भने यस्तो कार्य गर्ने गरिएको छैन । तर, पाँच महिना नाघेको गर्भावस्था हो भने गर्भवर्त र उसको श्रीमानको आग्रहलाई मध्यनजर राखी लिङ्गको बारेमा जानकारी दिइने गरिएको छ । तर, गर्भ तुहाउने हिसावले चाहिँ यस्तो कार्य हामीहरु गर्दैनौं ।
लिङ्ग पहिचान गराएवापत चाहिने शुल्क भन्दा बढि लिने गरिन्छ भनिन्छ नि ?
आवश्यक भन्दा बढी नै शुल्क लिने गरिन्छ भन्ने मैले पनि सुनेको छु, तर, मैले यसतर्फ त्यति ध्यान नदिएकोले मलाई राम्रो जानकारी छैन ।
अबैध गर्भ रहेको अवस्थामा यदि कसैले भिडियो एक्सरे गरेर गर्भ तुहाउने कार्य गर्न आएको खण्डमा त्यस्ता व्यक्तिलाई कस्तो सल्लाह दिनुहुन्छ ?
अबैध गर्भ रहेका जो कोही पनि मकहाँ आएमा मैले सिधै स्त्रीरोग विशेषज्ञकोमा जाने सल्लाह दिन्छु । उहाँले भनेबमोजिम के गर्नुपर्छ त्यही अनुसार गर्न सल्लाह दिन्छु ।
सीटीस्क्यान अरुको दाँजोमा महँगो भनिन्छ नि ?
सीटीस्क्यान महँगो टेस्टमै गनिन्छ । तर, यसले दिने इन्फरमेसन एक्स—रे र भिडियो एक्स—रे भन्दा उच्च कोटीको हुन्छ । सोही कारण विरामीको रोग पहिचान गर्न र उपचारको विधि अप्नाउन निकै सहज हुन्छ । सीटीस्क्यानमा एक्सरे विकिरण नै प्रयोग हुन्छ । त्यसकारण गर्भावस्था, बालकहरुलाई सकेसम्म सिटीस्क्यान गर्नु राम्रो मानिदैन । तर, अहिलेको सिटिस्क्यानहरुमा एक्सरे विकिरण निकै थोरै हुने भएकोले जुनसुकै उमेरको व्यक्तिलार्ई पनि सिटिस्क्यान गर्ने गरिन्छ ।
सुमेरुमा सीटीस्क्यानको सुविधा छ ?
सुमेरु अस्पताल धापाखेलमा विगत ७ वर्षदेखि विरामीलाई सीटीस्क्यानको सुविधा दिँदै आइरहेका छौ्रं । अब सुमेरु सीटी अस्पताल पुल्चोकमा पनि सीटीस्क्यान संचालनमा आइसकेको छ । यो अत्याधुनिक ६४ स्लाइस सिटिस्क्यान भएकोले अन्य सिटिस्क्यानको दाँजोमा निकै नै प्रभावकारी हुन्छ भन्ने विश्वास लिएको छु ।
एमआरआई भनेको के हो ?
एमआरआई भनेको ९ःबनलभतष्अ च्भकयलबलअभ क्ष्mबनष्लन० हो । यो अति आधुनिक विधि हो । यसले चुम्बकको सहायताले शरीरका विभिन्न अंगहरुको रोग पहिचान गर्छ । त्यसकारण गर्भावस्था र जुनसुकै उमेर समूहका व्यक्तिहरुलाई पनि यो अति सुरक्षित मानिन्छ । तर, हड्डी भाँचिएर रड लगाएका व्यक्ति र दिमागमा नसा फुटेर क्लीप लगाएका व्यक्तिहरुको चाहिँ एमआरआई गर्नै मिल्दैन । अथवा प्रशस्त सावधानी अप्नाउनुपर्छ ।
एमआरआई कत्तिको सर्वसुलभ छ ?
एमआरआई भनेको आधुनिक विधि हुनुका साथसाथै महँगो पनि भएकोले जुनसुकै अस्पतालमा यसको सुविधा पाइँदैन । राजधानीका केही नाम चलेका अस्पतालहरुमा मात्रै यसको सुविधा छ । हाम्रो सुमेरुमा पनि एमआरआई शिघ्र संचालनमा आउँदैछ । हामीसँग १.५ टेस्ला एमआरआई मेशिन उपलब्ध छ । नेपालको परिप्रेक्षमा भन्ने हो भने यस्तो खालको एमआरआई रोग पहिचानको लागि अति उपयोगी मानिन्छ ।
एमआरआई कत्तिको महँगो छ ?
धेरै महँगो हुन्छ । यो खरिद गर्दा झण्डै ५—१२ करोड रुपैयाँसम्म लाग्ने गर्छ । यसका लागि मेन्टिनेन्स खर्च पनि धेरै लाग्ने गर्छ । त्यसकारण पनि विरामीले एमआरआई गर्न महँगो शुल्क तिर्नुपर्ने अवस्था छ । तर, सुमेरु अस्पतालले भने अरु अस्पतालको दाँजोमा कम शुल्क लिई विरामीको एमआरआई गर्छ भन्ने मैले विश्वास लिएको छु । किनकी सुमेरु अस्पताल अहिलेसम्म नाफमूक भन्दा पनि सेवामूलक हिसावले चलेका कारण पनि मैले यो अनुमान लगाएको हुँ ।
सुमेरु अस्पतालको रेडियोलोजी विभागमा कतिजना डाक्टरहरुले सेवा दिँदै आइरहनुभएको छ ?
पूर्णकालिन अर्थात फुल टाइम डाक्टरहरुमा म मात्रै भए पनि अब एमआरआई सुरु हुने भएकोले अरु दुई जना डाक्टरहरु पनि थप्ने हाम्रो योजना रहेको छ । यसमाथि हामीलाई प्राध्यापक डा. उमेश शर्माजीको पनि साथ हुनेछ । यसले गर्दा हामीले दिने रेडियोलोजी सुविधा धेरै प्रभावकारी हुनेछ भन्ने मैले विश्वास लिएको छु । यसबाहेक पार्टटाइममा सेवा दिने डाक्टरहरु पनि उपलब्ध हुनुहुन्छ । जसले गर्दा हाम्रो रेडियोलोजी सेवा चौविसै घन्टा र जुनसुकै विदाको दिनमा पनि उपलब्ध हुन्छ ।
रेडियोलोजिस्ट र अरु चिकित्सकबीच कस्तो मेल हुनुपर्छ ?
एउटा रेडियोलोजिस्ट र अरु चिकित्सकबीच धेरै नै मेल हुनुपर्छ । अरु चिकित्सकले दिएको जानकारी अनुसार हामीले आफ्नो रिपोर्ट तयार पार्नुपर्ने हुन्छ । हाम्रो रिपोर्ट अनुसार अरु चिकित्सकले उपचार विधि अप्नाउनुपर्ने हुन्छ । त्यसकारण बिरामीको उपचारको क्रममा हामी र उहाँहरुबीच हुन कार्य निकै नै महत्वपूर्ण हुन्छ । हामी र उहाँहरुबीच थारै असमझदारी भएमा विरामीलाई निकै ठूलो असर पर्न जान्छ । कहिले काहिँ हाम्रो रिपोर्टमा मानवीय त्रुटी हुने गर्छ । यस्तो अवस्थामा अरु चिकित्सकले हामीलाई जानकारी गराई पुनः रिपोर्ट गरिदिन अथवा सच्याउन आग्रह गर्नुहुन्छ । हामी पनि उहाँहरुले गरेको शंका विपरित अरु रोग पहिचान हुन गएमा तुरुन्त उहाँहरुलाई जानकारी गराई उचित उपचार गर्न सल्लाह दिने काम गर्छौं ।
रेडियोलोजी कत्तिको जोखिमयुक्त छ ?
चिकित्सकीय र कानुनी दुबै हिवासले जोखिमयुक्त छ । चिकित्सकीय हिसावले भन्ने हो भने धेरै एक्सरे र सिटिस्क्यान गर्नुपरेमा एक्सरे विकिरणको कारणले कहिले काहिँ क्यान्सर पनि हुनसक्छ । यो कुरा विरामीलाई मात्र होइन स्वयम् रेडियोलोजिस्टलाई पनि लागू हुन्छ । त्यस्तै, कानुनी रुपमा पनि हामीले दिएको रिपोर्ट गलत भएमा कानुनी कारबाहीको दायरामा आउनुपर्ने अवस्था आउन सक्छ । तर, नेपालको परिप्रेक्षमा कानुनी दायरामा आउनुहुने रेडियोलोजिस्ट निकै नै कम हुने गरेको छ । यसको कारण नेपालको कानुन केही फितलो, केही अलिखित र कमजोर कार्यान्वयन पक्षले गर्दा पनि यस्तो अवस्था आएको हुनसक्छ ।
एमआरआईलगायत अरु रेडियोलोजी सुविधा सर्वसुलभ हुनसक्छ ?
एक्सरे र भिडियो एक्सरेका सुविधाहरु निकै सर्वसुलभ भइसकेको छ । यसको दाँजोमा सीटीस्क्यान र एमआरआई भने त्यति सर्वसुलव हुनसकिरहेको छैन । किनकी यी टेस्टहरु निकै महँगो हुने गरेको छ । जोकोही विरामीले यो सेवा लिन सक्ने अवस्था नै छैन । नेपालमा मात्र होइन विश्वका धेरै मुकुकहरुमो पनि यो समस्या छ । विशेष गरी सहरी क्षेत्रमा बसोबास गर्नेहरुले मात्र यो सुविधा सजिलै पाउने अवस्था छ । तर, ग्रामीण भेगमा यो सुविधा पाउन गाह्रो छ । किनकी त्यस्ता ठाउँमा अन्य चिकित्सकहरु र अन्य स्वास्थ्यकर्मीहरुको कमी हुने भएको कारण पनि धेरै लगानी गरी यी सुविधाहरु उपलब्ध गराउन सकिने अवस्था नै छैन । सुमेरु सीटी अस्पतालले छिट्टै नै एमआरआई संचालन गर्ने भएकाले काठमाडौं उपत्यकाका विरामीका साथै विशेष गरी ललितपुरवासीलाई यो निकै नै लाभदायक र सुलव हुनेछ ।