सुमेरुमा अत्याधुनिक रेडियोलोजी विस्तार, सेवाग्राहीले सहज सेवा लिन पाउने

17.4k Shares

     ११ वर्ष अगाडि पढाई सकी धुलिखेल अस्पतालमा करिब पाँच वर्ष कार्य गरी आठ वर्ष अगाडिदेखि सुमेरु अस्पतालमा कार्यरत रेडियोलोजिष्ट डा. कीर्ति सुवास जोशीले एमबीबीएस डीग्री मनिपाल कलेज, पोखरा र एमडी काठमाडौं विश्वविद्यालयबाट गरेका हु्न् । डा. जोशीले रेडियोलोजीको महत्व र यसले गर्ने कार्यलगायतका विषयमा खोजतलास साप्ताहिकका लागि विश्वास भट्टराईसँग गरेको संक्षिप्त कुराकानी :

कोरोना भाइरसको महामारीको अवस्थामा दिन चर्या कसरी वितिरहेको छ ?
कोरोना भाइरसको संक्रमणको कारण खासै धेरै कामहरु हुदैनन्, तर पनि अस्पतालमा आफ्नो ड्यूटी गर्न जाने गरेको छु । फुर्सदको समयमा पत्रपत्रिका पढ्नुका साथै खेलकुद, योगालगायतका कार्यहरु गरी दिन विताउने गरेको छु । 
रेडियोलोजी भन्नाले के बुझिन्छ ?
रेडियोलोजी भन्नाले विरामीको रोग पत्ता लगाउने माध्यमहरु जस्तै एक्सरे, भिडियो एक्सरे, सीटीस्क्यान र एमआरआई हुन् । यसबाटै सामान्यदेखि गम्भीर रोगहरु पत्ता लगाउन धेरै नै सहज हुन्छ । यसैको रिपोर्टबाट चिकित्सकले विरामीको उपचार विधि अप्नाउने गर्छन् ।
रेडियोलोजिस्टले रोगको पहिचान कसरी गर्छन् ?
चिकित्सकले विरामीको परिक्षण मात्र गरेर रोग पत्ता लगाउँदैन । उहाँहरुले अरु टेष्टहरु गराउनुहुन्छ । त्यसमध्ये रेडियोलोजी अन्तर्गतका माध्यमहरु एक हुन् । यसबाट विरामीको शरीरभित्रको सामान्य र असामान्य कुराहरुको जानकारी लिन सकिन्छ र सोही किसिमको रिपोर्ट दिन सकिन्छ । अब यी माध्यमहरुले वास्तवमा कसरी काम गर्छन् भन्ने कुरा चाहिँ नितान्त टेक्निकल विषय हुन् । यसको विस्तृत विवरण दिन यो छोटो अन्तर्वातामा सकिँदैन ।
कस्ता रोग अनुसार यी चार विधिहरु अप्नाउने गरिन्छ ?
ह्ड्डीको समस्या भएमा जस्तै सामान्य एक्सरे नै काफी हुन्छ, तर जटिल खालको रोग देखिएको खण्डमा सीटीस्क्यान र एमआरआईको सहयोग पनि लिनुपर्ने हुन्छ । गर्भावस्थामा भने भिडियो एक्सरे नै काफी छ । पेटका अन्य रोगहरु छन् भने भिडियो एक्सरे र सिटिस्क्यान गरिन्छ । टाउको र मेरुदण्डको समस्या छ भने सीटीस्क्यान र एमआरई गरिन्छ । फोक्सोको समस्या भएमा एक्सरे र सिटीस्क्यान गरिन्छ ।
भिडियो एक्स—रे गर्दा के—के कुरामा ध्यान दिनुपर्छ ?
पेटको भिडियो एक्स—रे गर्न कम्तिमा ४ घन्टा खाली पेट हुनुपर्छ । तर, पानी चाहिँ प्रशस्त खानुपर्छ र पिसाव च्याप्नुपर्छ । यी बाहेक अन्य भिडियो एक्स—रे गर्न खाली पेट चाहिँदैन ।
डा. सा’व गर्भमा रहेको शिषुको लिङ्ग पहिचान गरी एर्वोसन गर्ने माध्यम नै रेडियोलोजिस्टहरु हुन्छन् भनिन्छ नि ?
गर्भमा रहेको शिशुको लिङ्ग पहिचान गर्न रेडियोलोजिस्टको सहयोग चाहिन्छ । विशेष गरी तीन महिना पुग्ने वित्तिकै लिङ्गको पहिचान गर्न सकिन्छ । तर, हाम्रो सुमेरु अस्पतालमा भने यस्तो कार्य गर्ने गरिएको छैन । तर, पाँच महिना नाघेको गर्भावस्था हो भने गर्भवर्त र उसको श्रीमानको आग्रहलाई मध्यनजर राखी लिङ्गको बारेमा जानकारी दिइने गरिएको छ । तर, गर्भ तुहाउने हिसावले चाहिँ यस्तो कार्य हामीहरु गर्दैनौं । 
लिङ्ग पहिचान गराएवापत चाहिने शुल्क भन्दा बढि लिने गरिन्छ भनिन्छ नि ?
आवश्यक भन्दा बढी नै शुल्क लिने गरिन्छ भन्ने मैले पनि सुनेको छु, तर, मैले यसतर्फ त्यति ध्यान नदिएकोले मलाई राम्रो जानकारी छैन ।
अबैध गर्भ रहेको अवस्थामा यदि कसैले भिडियो एक्सरे गरेर गर्भ तुहाउने कार्य गर्न आएको खण्डमा त्यस्ता व्यक्तिलाई कस्तो सल्लाह दिनुहुन्छ ?
अबैध गर्भ रहेका जो कोही पनि मकहाँ आएमा मैले सिधै स्त्रीरोग विशेषज्ञकोमा जाने सल्लाह दिन्छु । उहाँले भनेबमोजिम के गर्नुपर्छ त्यही अनुसार गर्न सल्लाह दिन्छु ।
सीटीस्क्यान अरुको दाँजोमा महँगो भनिन्छ नि ?
सीटीस्क्यान महँगो टेस्टमै गनिन्छ । तर, यसले दिने इन्फरमेसन एक्स—रे र भिडियो एक्स—रे भन्दा उच्च कोटीको हुन्छ । सोही कारण विरामीको रोग पहिचान गर्न र उपचारको विधि अप्नाउन निकै सहज हुन्छ । सीटीस्क्यानमा एक्सरे विकिरण नै प्रयोग हुन्छ । त्यसकारण गर्भावस्था, बालकहरुलाई सकेसम्म सिटीस्क्यान गर्नु राम्रो मानिदैन । तर, अहिलेको सिटिस्क्यानहरुमा एक्सरे विकिरण निकै थोरै हुने भएकोले जुनसुकै उमेरको व्यक्तिलार्ई पनि सिटिस्क्यान गर्ने गरिन्छ । 
सुमेरुमा सीटीस्क्यानको सुविधा छ ?
सुमेरु अस्पताल धापाखेलमा विगत ७ वर्षदेखि विरामीलाई सीटीस्क्यानको सुविधा दिँदै आइरहेका छौ्रं । अब सुमेरु सीटी अस्पताल पुल्चोकमा पनि सीटीस्क्यान संचालनमा आइसकेको छ । यो अत्याधुनिक ६४ स्लाइस सिटिस्क्यान भएकोले अन्य सिटिस्क्यानको दाँजोमा निकै नै प्रभावकारी हुन्छ भन्ने विश्वास लिएको छु ।   
एमआरआई भनेको के हो ?
एमआरआई भनेको ९ःबनलभतष्अ च्भकयलबलअभ क्ष्mबनष्लन० हो । यो अति आधुनिक विधि हो । यसले चुम्बकको सहायताले शरीरका विभिन्न अंगहरुको रोग पहिचान गर्छ । त्यसकारण गर्भावस्था र जुनसुकै उमेर समूहका व्यक्तिहरुलाई पनि यो अति सुरक्षित मानिन्छ । तर, हड्डी भाँचिएर रड लगाएका व्यक्ति र दिमागमा नसा फुटेर क्लीप लगाएका व्यक्तिहरुको चाहिँ एमआरआई गर्नै मिल्दैन । अथवा प्रशस्त सावधानी अप्नाउनुपर्छ ।
एमआरआई कत्तिको सर्वसुलभ छ ?
एमआरआई भनेको आधुनिक विधि हुनुका साथसाथै महँगो पनि भएकोले जुनसुकै अस्पतालमा यसको सुविधा पाइँदैन । राजधानीका केही नाम चलेका अस्पतालहरुमा मात्रै यसको सुविधा छ । हाम्रो सुमेरुमा पनि एमआरआई शिघ्र संचालनमा आउँदैछ । हामीसँग १.५ टेस्ला एमआरआई मेशिन उपलब्ध छ । नेपालको परिप्रेक्षमा भन्ने हो भने यस्तो खालको एमआरआई रोग पहिचानको लागि अति उपयोगी मानिन्छ । 
एमआरआई कत्तिको महँगो छ ?
धेरै महँगो हुन्छ । यो खरिद गर्दा झण्डै ५—१२ करोड रुपैयाँसम्म लाग्ने गर्छ । यसका लागि मेन्टिनेन्स खर्च पनि धेरै लाग्ने गर्छ । त्यसकारण पनि विरामीले एमआरआई गर्न महँगो शुल्क तिर्नुपर्ने अवस्था छ । तर, सुमेरु अस्पतालले भने अरु अस्पतालको दाँजोमा कम शुल्क लिई विरामीको एमआरआई गर्छ भन्ने मैले विश्वास लिएको छु । किनकी सुमेरु अस्पताल अहिलेसम्म नाफमूक भन्दा पनि सेवामूलक हिसावले चलेका कारण पनि मैले यो अनुमान लगाएको हुँ ।
सुमेरु अस्पतालको रेडियोलोजी विभागमा कतिजना डाक्टरहरुले सेवा दिँदै आइरहनुभएको छ ?
पूर्णकालिन अर्थात फुल टाइम डाक्टरहरुमा म मात्रै भए पनि अब एमआरआई सुरु हुने भएकोले अरु दुई जना डाक्टरहरु पनि थप्ने हाम्रो योजना रहेको छ । यसमाथि हामीलाई प्राध्यापक डा. उमेश शर्माजीको पनि साथ हुनेछ । यसले गर्दा हामीले दिने रेडियोलोजी सुविधा धेरै प्रभावकारी हुनेछ भन्ने मैले विश्वास लिएको छु । यसबाहेक पार्टटाइममा सेवा दिने डाक्टरहरु पनि उपलब्ध हुनुहुन्छ । जसले गर्दा हाम्रो रेडियोलोजी सेवा चौविसै घन्टा र जुनसुकै विदाको दिनमा पनि उपलब्ध हुन्छ । 
रेडियोलोजिस्ट र अरु चिकित्सकबीच कस्तो मेल हुनुपर्छ ?
एउटा रेडियोलोजिस्ट र अरु चिकित्सकबीच धेरै नै मेल हुनुपर्छ । अरु चिकित्सकले दिएको जानकारी अनुसार हामीले आफ्नो रिपोर्ट तयार पार्नुपर्ने हुन्छ । हाम्रो रिपोर्ट अनुसार अरु चिकित्सकले उपचार विधि अप्नाउनुपर्ने हुन्छ । त्यसकारण बिरामीको उपचारको क्रममा हामी र उहाँहरुबीच हुन कार्य निकै नै महत्वपूर्ण हुन्छ । हामी र उहाँहरुबीच थारै असमझदारी भएमा विरामीलाई निकै ठूलो असर पर्न जान्छ । कहिले काहिँ हाम्रो रिपोर्टमा मानवीय त्रुटी हुने गर्छ । यस्तो अवस्थामा अरु चिकित्सकले हामीलाई जानकारी गराई पुनः रिपोर्ट गरिदिन अथवा सच्याउन आग्रह गर्नुहुन्छ । हामी पनि उहाँहरुले गरेको शंका विपरित अरु रोग पहिचान हुन गएमा तुरुन्त उहाँहरुलाई जानकारी गराई उचित उपचार गर्न सल्लाह दिने काम गर्छौं ।
रेडियोलोजी कत्तिको जोखिमयुक्त छ ?
चिकित्सकीय र कानुनी दुबै हिवासले जोखिमयुक्त छ । चिकित्सकीय हिसावले भन्ने हो भने धेरै एक्सरे र सिटिस्क्यान गर्नुपरेमा एक्सरे विकिरणको कारणले कहिले काहिँ क्यान्सर पनि हुनसक्छ । यो कुरा विरामीलाई मात्र होइन स्वयम् रेडियोलोजिस्टलाई पनि लागू हुन्छ । त्यस्तै, कानुनी रुपमा पनि हामीले दिएको रिपोर्ट गलत भएमा कानुनी कारबाहीको दायरामा आउनुपर्ने अवस्था आउन सक्छ । तर, नेपालको परिप्रेक्षमा कानुनी दायरामा आउनुहुने रेडियोलोजिस्ट निकै नै कम हुने गरेको छ । यसको कारण नेपालको कानुन केही फितलो, केही अलिखित र कमजोर कार्यान्वयन पक्षले गर्दा पनि यस्तो अवस्था आएको हुनसक्छ ।
एमआरआईलगायत अरु रेडियोलोजी सुविधा सर्वसुलभ हुनसक्छ ?
एक्सरे र भिडियो एक्सरेका सुविधाहरु निकै सर्वसुलभ भइसकेको छ । यसको दाँजोमा सीटीस्क्यान र एमआरआई भने त्यति सर्वसुलव हुनसकिरहेको छैन । किनकी यी टेस्टहरु निकै महँगो हुने गरेको छ । जोकोही विरामीले यो सेवा लिन सक्ने अवस्था नै छैन । नेपालमा मात्र होइन विश्वका धेरै मुकुकहरुमो पनि यो समस्या छ । विशेष गरी सहरी क्षेत्रमा बसोबास गर्नेहरुले मात्र यो सुविधा सजिलै पाउने अवस्था छ । तर, ग्रामीण भेगमा यो सुविधा पाउन गाह्रो छ । किनकी त्यस्ता ठाउँमा अन्य चिकित्सकहरु र अन्य स्वास्थ्यकर्मीहरुको कमी हुने भएको कारण पनि धेरै लगानी गरी यी सुविधाहरु उपलब्ध गराउन सकिने अवस्था नै छैन । सुमेरु सीटी अस्पतालले छिट्टै नै एमआरआई संचालन गर्ने भएकाले काठमाडौं उपत्यकाका विरामीका साथै विशेष गरी ललितपुरवासीलाई यो निकै नै लाभदायक र सुलव हुनेछ । 
 

सम्बन्धित समाचार