काठमाडौं । हिरासतमा रहेका अभियुक्तलाई प्रहरीले कुटपिट, मानसिक तनाव दिन नपाइने कानुनी प्रावधान भए पनि महानगरीय प्रहरी बृत्त बानेश्वरका प्रहरीले अभियुक्तलाई कुटपिटका साथै मानसिक तनाव दिएको समाचार छ ।
महानगरीय प्रहरी बृत्त बानेश्वरका इन्स्पेक्टर निर्मल पनेरुले हिरासतमा रहेका ज्ञानु लामा, कुमार भण्डारीलगायतलाई कुटपिट गरी घाइते बनाएको पीडितले खोजतलासलाई गुनासो पोखेका छन् ।
कोटेश्वरस्थित जोन गेष्ट हाउसकी संचालिका उर्मिला पौडेलको उजुरीमा पक्राउ परेका लामा र भण्डारीलाई इन्स्पेक्टर पनेरुले अब कांग्रेसका दिन गए भन्दै कुटपिट गरी घाइते बनाएको पीडितका आफन्तले बताएका छन् । इन्स्पेक्टर पनेरु विगतमा केपी शर्मा ओलीको पिएसओ बसेको समेत स्रोतले दावी गरेको छ ।
गेष्ट हाउस संचालिका उर्मिला पौडेलले भाडामा अर्कै पार्टीलाई गेष्ट हाउस संचालन गर्न दिए पनि सो पार्टीले गेष्ट हाउसको भाडा नदिएपछि भाडा उठेको केही प्रतिशत दिने सर्तमा भाडा उठाई दिने वा त्यहाँबाट भगाउने सर्तमा ज्ञानु लामा र कुमार भण्डारीलाई पौडेलले आग्रह गरेकी थिइन् ।
गेष्ट हाउस संचालिका पौडेलको आग्रह अनुसार लामा र भण्डारीले गेष्ट हाउस संचालकलाई २७ लाख रुपैयाँ भाडा दिन भनेपछि उनीहरु गेष्ट हाउस नै छाडेर गएका थिए । त्यसपछि पौडेल आफैले सो गेष्ट हाउस संचालन गरेकी छिन् । तर, पौडेलले भाडा र गेष्ट हाउस संचालकलाई भगाएवापत दिनुपर्ने रकम नदिएपछि विवाद भई सो गेष्ट हाउसमा लामा र भण्डारीले एउटा हुक्का र गिलास फुटाएपछि विवाद सिर्जना भएको थियो ।
यही निहु पारी गेष्ट हाउस संचालिका पौडेलले प्रहरीलाई प्रभावमा पारी जाहेरी दिई हिरासतमा राख्न सफल बनेकी छिन् ।
हिरासतमा रहेका लामा र भण्डारीलाई भेट्न जाने आफन्तहरुलाई समेत केरकार गरी भित्र हालिदिने भन्दै इन्स्पेक्टर पनेरुले दुःख दिने गरेको लामा र भण्डारीका आफन्तले खोजतलासलाई जानकारी गराएका छन् । यस विषयमा इन्स्पेक्टर पनेरुसँग ९८५१२४१९९४ मा सम्पर्क गर्दा फोन नै उठाएनन् ।