तीन जिल्लाका १६ प्रतिशतले गरे सहुलियतपूर्ण कर्जाको दुरुपयोग

19.2k Shares

लुम्बिनी । लुम्बिनी प्रदेशका तीन जिल्लामा सहुलियतपूर्ण कर्जाको दुरुपयोग गरिएको पाइएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बाँके, बर्दिया र दाङ जिल्लामा सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदनमा यस्तो देखिएको हो । 

यी तीन जिल्लामा सहुलियतपूर्ण कर्जा लिएर १६ प्रतिशत भन्दा बढीले अन्य व्यवसाय गरेको पाइएको छ । उक्त प्रतिवेदनमा भनिएको छ, ‘सर्वेक्षणमा सहुलियतपूर्ण कर्जाका साथै, अन्य शीर्षकमा समेत कर्जा लिई व्यवसाय सञ्चालन गरेका सहभागीहरू १६.२९ प्रतिशत रहेका छन् । ८३.७१ प्रतिशत सहभागीहरूले अन्य शीर्षकमा कर्जा लिएको देखिएको छैन ।’

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ (तेस्रो संशोधन) बमोजिम प्रवाह गरिएको सहुलियतपूर्ण कर्जाको सदूपयोगिताको अवस्था, कर्जा प्रवाहको स्वरूप र प्राप्त कर्जाबाट ऋणीको आर्थिक अवस्थामा पारेको प्रभावबारे अध्ययन गर्न यो सर्वेक्षण गरिएको हो । यस अध्ययनमा लुम्बिनी प्रदेश अन्तर्गतका बाँके, बर्दिया र दाङ जिल्लाका ३५६ ऋणीहरूको सहभागिता रहेको छ ।

सर्वेक्षणमा सहभागीहरूले उद्योग÷व्यवसायमा गरेको जम्मा लगानीमा सहुलियतपूर्ण कर्जाको अंश ४८.६५ प्रतिशत रहेको देखिन्छ । जुन अंश बर्दिया जिल्लामा सबैभन्दा धरै ६८. १० प्रतिशत रहेको छ । त्यसैगरी, बाँके जिल्लामा ३४.५० प्रतिशत र दाङ जिल्लामा ६३.१३  प्रतिशत रहेको देखिन्छ । 

सहुलियतपूर्ण कर्जा बैंक तथा वित्तीय संस्थाबाट सहज ढङ्गले प्रवाह भएको देखिएको छ । केही कागजी प्रक्रिया बाहेक अन्य झन्झट खासै देखिएको छैन । सर्वेक्षणमा ७३.८८ प्रतिशतले सहजरुपमा कर्जा प्राप्त गरेको देखिएको छ । सहुलियतपूर्ण कर्जा सर्वसाधारणको पहुँचसम्म पुगेको देखिन्छ । सर्वेक्षणमा सर्वसाधारणले पनि सहुलियतपूर्ण कर्जा पाउँछन् । 

विश्वास गर्ने सहभागीहरू ८९.०४ प्रतिशत देखिएका छन् भने पहुँचवालाले मात्र सहुलियतपूर्ण कर्जा पाउँछन् भनेर विश्वास गर्ने सहभागीहरू १०.९६ प्रतिशत मात्रै देखिएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले व्यावसायिक योजना मागेर मात्र कर्जा प्रवाह गरेको देखिन्छ भने कर्जा प्रवाह पश्चात् बैंकले ९५.२३ प्रतिशत सहभागीहरूको व्यवसाय अनुगमन गरेको अध्ययनले देखाएको छ ।

सर्वेक्षणमा परिवारका सदस्यहरूलाई व्यवसायमा संलग्न गराई आंशिक रोजगारी प्रदान गर्ने सहभागीहरू १०.४० प्रतिशत रहेका छन् भने ३९.९१ प्रतिशतले आफ्ना परिवारका सदस्य बाहेक अन्य कर्मचारी तथा कामदारहरूलाई रोजगारी उपलब्ध गराएको देखिएको छ ।

सर्वेक्षणमा संलग्न सहभागीहरूद्वारा सञ्चालित व्यावसायिक फर्महरूले औसतमा कूल लगानीको वार्षिक १८.८३ प्रतिशत आम्दानी गरेको देखिएको छ । जसमध्ये औसतमा कृषि कर्जामा १८.८३ प्रतिशत, महिला उद्यमशील कर्जामा १८.७५ प्रतिशत र अन्यमा २८.५७ प्रतिशत आम्दानी गरेको देखिएको छ । बैंक तथा वित्तीय संस्थाबाट प्राप्त गरेको सहुलियतपूर्ण कर्जा रकमको सहभागीहरूले वार्षिक ३८.६९प्रतिशत आम्दानी गरेको देखिएको छ । जसले गर्दा कर्जाको साँवा व्याज भुक्तानीमा समस्या नदेखिएको राष्ट्र बैंकले जनाएको छ ।   

सम्बन्धित समाचार