काठमाडौं – सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइने भएको छ।
दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हुन्।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन आदेश बुधबार दिएको थियो। योसँगै केन्द्रीय कारागारले शोभराजलाई कैदमुक्त गरी अध्यागमन विभाग बुझाउने तयारी गरेको हो।
केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेका अनुसार जिल्ला अदालत भक्तपुरबाट पत्र आएपछि आज बिहीबार उनलाई अध्यागमन विभागमा बुझाइने छ। कैद बसेर छुटेपछि उनलाई अध्यागमनमार्फत निष्कासन गरिनेछ।