ललितपुर । नेपालको दोस्रो कर्णालीको रुपमा हेरिने गरेको ललितपुरको दक्षिणी भेग क्षेत्र नं १ (ख) वाग्मती प्रदेश सभा सदस्यका उम्मेदवार मीन कृष्ण महर्जनले विकासको मुल फुटाउने बताउँदै आएका छन् ।
दक्षिण ललितपुरको चापागाउँमा जन्मेका महर्जनले चापागाउँ बजारदेखि बज्रबाराही मन्दिरसम्म जाने बाटोको स्तरोन्नती, खानेपानी, मठमन्दीर, ऐनिहासिक पोखरीको संरक्षणलगायतका सामाजिक कार्य गरी अनुभव बटुलिसकेका विकास प्रेमी नेताको परिचय दिइसकेका छन् । त्यतिमात्र नभएर महर्जनले ललितपुर क्षेत्र नं. १ मा जनतालाई प्रत्यक्षरुपमा परेको संकटका बेला पनि आफ्नो ज्यानको परवाह नगरी स्वयम् आफै उपस्थित भई उनीहरुलाई परेको गम्भीर समस्यामा सधैं साथ दिँदै आइरहेका छन् । महर्जनले गएको ७२ सालको महाभूकम्प बेला पटक—पटक भूकम्पको पराकम्पनको परवाह नगरी घरघरमा गई खाद्यान्नदेखि लिएर जस्ता पाता, लत्ताकपडाको व्यवस्था गर्न पुग्नुका साथै अन्य बेला पनि जनतालाई दुःख पर्दा सधैं साथ दिने नेताको रुपमा जनमानसमा परिचित भइसकेका छन् । जनताको सुख दुःखमा साथ दिने र जनताको सेवा गर्न औधी रुचाउने र आफूलाई यसैमा खुसी र सन्तुष्टि मिल्ने महर्जनले बताउँदै आइरहेका छन् ।
दक्षिण ललितपुरको मुख्य समस्या भनेको बाटोघाटो भएको हुँदा जसरी पनि गाउँ—गाउँसम्म बाटो विस्तार र क्षेत्रमा अधिकांशले कृषि पेशा अप्नाउने भएकै कारण कृषियोग्य जमिनहरु जोगाएर सिंचाईको उचित व्यवस्थापनका साथै सशक्त योजना बनाएर गाउँमा उत्पादन भएको तरकारी, फलफुल, दुधको उचित मूल्यमा विक्री वितरण गर्न पाउने वातावरण बनाउने आफ्नो मुख्य योजना रहेको महर्जन बताउँछन् । विगतमा दक्षिण ललितपुरका जनप्रतिनिधिहरुले खासै विकासभन्दा पनि आफ्नो विकासमा लागेको र जनताका सुखदुःखमा साथ नदिएको र जितेपछि गाउँ नै नफर्कने जस्ता गतिविधिलाई निमिट्यान्न पारी सधैं जनताको साथमा रहेर उनीहरुको चाहनाअनुरुप विकासको मूल नै फुटाउने योजनाका साथ अगाडि बढेको महर्जन बताउँछन् ।
त्यस्तै, दक्षिण ललितपुर तीन गाउँपालिकाका साथै गोदावरी नगरपालिका चार स्थानीय तहका जनताहरुले उपचारको केन्द्रमा रहेको बज्रबाराही अस्पताललाई प्रदेश मातहतको जिल्ला अस्पताल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका महर्जनले नयाँ आधुनिक प्रविधिसहित उत्कृष्ट सेवा दिने योजनाका साथ आफू अगाडि बढेको जनाएका छन् ।
विगतदेखि जनप्रतिनिधिहरुको लापरवाहीले समस्या झेलिरहेको दक्षिण ललितपुरको विकास निर्माणका सवालमा ऐतिहासिक फड्को मार्ने लक्ष्यका साथ सडक, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य तथा खेलकुद विकासमा दत्तचित्त रहेर कार्य गर्दै जाने उद्देश्यका साथ अगाडि बढिरहेका छन् ललितपुर क्षेत्र नं. १ ‘ख’का नेपाली कांग्रेस प्रदेश उम्मेदवार मीनकृष्ण महर्जन ।
महर्जन खेलकुद पृष्ठभूमिबाट आएका कारण उनले खेलकुद क्षेत्रमा गरेको योगदानको कदर गर्दै उनलाई तत्कालिन सरकारले राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्षको जिम्मेवारी दिएको थियो । महर्जनले राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्षको जिम्मेवारी लिएपछि त्यतिबेला नेपाल खेलकुद मयजस्तै बनाउन सफल बनेका थिए । महर्जनले खेलकुद विकासका लागि त्यतिबेला गरेको कार्य अहिले पनि खेलाडीहरुले बेला—बेला सम्झने गरेका छन् । महर्जनले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका धेरै खेलाडीहरु उत्पादन गरेका छन् । उनले उत्पादन गरेका खेलाडीहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको झण्डा फहराउँदै नेपालका नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन सफल बनेका छन् ।