काठमाडौं । लागूऔषध दुव्र्यसनीदेखि लिएर कुनै पनि लतमा फसेकाहरुको उपचारका लागि स्थापना गरिएको सुधारगृहहरु तोकेको मापदण्ड विपरित संचालन गर्दै आएको पाइएको छ ।

लागूऔषध नियन्त्रण शाखाले ‘पुनः एकता (रि—युनिटी) नेपाल पुनस्र्थापना केन्द्र, बुढानिलकण्ठ—२ मा आकस्मिक अनुगमन गर्दा सरकारले तोकेको मादण्डविपरित संचालन गरिएको पाइएको हो ।
अनुगमनको क्रममा सो संस्था २०७० सालमा स्थापना भई हाल ३५ जना उपचाररत सो पुनस्र्थापना केन्द्र २०७९ असारसम्म मात्र नविकरण भएको पाइएको थियो । त्यस्तै केन्द्रको नाम उल्लेखित होर्डिङबोर्ड नै नरहेको, सरसफाईमा ध्यान दिनुपर्नेमा त्यस्तो नभएको, विद्युत आपुर्ति नभएको अवस्थामा चाहिने ब्याकअप बिग्रिएको तर मर्मतमा ध्यान नदिएको, शौचालयदेखि लिएर नुहाईधुवाई गर्ने वाथरुम फोहोर रहेको, उपचाररत व्यक्तिहरुको भर्ना गर्दा विवरण भर्नुपर्नेमा त्यस्तो नपाएकोदेखि लिएर सरकारले तोकेको मापदण्ड विपरित जसरी हुन्छ पैसा कमाउने हेतुले संचालन गर्दै आएको पाइएको हो ।

त्यस्तै, निर्देशिकाको मापदण्ड अनुसार चाहिने आवश्यक कर्मचारी नराखी संचालन गरेको, उपचारका लागि आउने विरामीहरुको लागि चाहिने विज्ञहरू नभएको जस्ता धेरै कमजोरीहरू पाइएकोले केन्द्रको सेवालाई गुणस्तरीय बनाउन निम्न सुझावहरू दिइएको लागूऔषध नियन्त्रण शाखाले सुझावहरु दिएको छ ।
लागू औषध नियन्त्रण शाखाले बिरामी सुत्ने वेडहरु तत्काल नयाँ बदल्नुपर्ने, निर्देशिका बमोजिम कर्मचारीहरुको तत्काल नियक्ती हुनुपर्ने, केन्द्रमा रहेका कर्मचारी (डाक्टर, स्वास्थ्यकर्मी, सुरक्षा गार्ड, परामर्शदाता, भान्छे)सँग करार सम्झौता गरेर मात्र काममा लगाउनुका साथै सम्झौता गरिएका कर्मचारीहरुलाई नेपाल सरकारले न्यूनतम मापदण्ड अनुरुप पारिश्रमिक दिनुपर्ने, केन्द्रको नाम स्पष्ट देखिने गरी ४८ घण्टाभित्र होर्डिङ बोर्ड राख्नुपर्नेलगायतका सुझावहरु दिएको छ ।

आगामी दिनमा गरिउको अनुगमनको क्रममा सुझाव दिएअनुसार सुधार नभएको पाइएमा संस्थाको आवद्धता खारेज गरी कारबाही अगाडि बढाइने लागूऔषध नियन्त्रण शाखाले जनाएको छ ।