काठमाडौं । स्ट्रेन्थ लिफ्टीङ्ग खेललाई नवौं राष्ट्रिय खेलकुद २०७९ को प्रतियोगितामा प्रदर्शनी खेलको रुपमा खेलाइने भएको छ ।
नेपाल सरकार (मन्त्रिपरिषद्) बाट भएको निर्णायानुसार युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद्को आयोजना तथा त्यस प्रदेशको सह—आयोजनामा मिति २०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद २०७९ को प्रतियोगिता संचालन हुन गइरहेको छ । सो अवसरमा नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिको मिति २०७९ असोज २८ गतेदेखि कात्तिक ६ गतेसम्म गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद २०७९ को प्रतियोगिता संचालन हुन गइरहेको अवसरमा २०७९ असोज १२ गते बसेको बैठकको निर्णायानुसार ‘स्ट्रेन्थ एण्ड लिफ्टीङ्ग’ खेललाई प्रदर्शनी खेलको रुपमा स्वीकृति प्रदान भएको हो । उक्त खेलको प्रदर्शनको लागि एक लाख पचास हजार रुपैयाँ उपलब्ध गराइने भएको छ ।
स्ट्रेन्थ लिफ्टीङ्ग खेलका खेलाडीहरुले छोटै समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत आफ्नो खेल प्रस्तुत गरी पदक हासिल गर्न सफल भइसकेका छन् । स्ट्रेन्थ एण्ड लिफ्टीङको अध्यक्षमा भरत महर्जन आएपछि राष्ट्रिय स्तरका धेरै खेलहरु संचालनमा आउनुका साथै अन्तर्राष्ट्रियस्तरमा समेत यो खेलका खेलाडीहरुले पदक ल्याई नेपालको झण्डा विश्वसामु फहराउन सफल भएका छन् ।
केही समय अगाडि मात्रै किर्गिस्तानमा आयोजना भएको नवौ विश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाली खेलाडीले १ स्वर्ण र ३ रजत पदक ल्याएर नेपालको नाम विश्वसामु चिनाउन सफल बनिसकेका छन् ।
किर्गिस्तानमा आयोजना भएको कुल १३ देशको सहभागिता रहेको सो प्रतियोगितामा दिपा विष्टले स्वर्णपदक ल्याउन सफल भएकी थिइन् । उनले ७२ केजी आईबीपी सिनियर समूहमा स्वर्णपदक ल्याउन सफल हुनुका साथै स्ट्रेन्थ लिफ्टिङतर्फ रजत पदक ल्याउन सफल बनेकी हुन् । त्यस्तै, स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा १०५ के.जि. भन्दा माथिको आई.बी.पी.सिनियर तौल समुहमा जीवन गिरी रजत, ७६ के.जी. आई.बी.पी. मस्टर २ तौल समुहमा केदारमान स्थापीत रजत ल्याउन सफल भएका थिए । गत बर्षमात्र नेपालमा भित्रिएको यो खेलले नेपालमा छोटो समयमा राम्रो लोकप्रियता हासिल गरेको छ ।
विशेष गरी स्ट्रेन्थ लिफ्टीङको अध्यक्षता भरत महर्जनले गर्नुभएपछि राष्ट्रियस्तरका धेरै प्रतियोगिताहरु संचालन गरी खेलाडीहरुको मनोबल बढाउने कार्य अध्यक्ष महर्जनले गर्दै आइरहनुभएको छ । उहाँकै पहलमा किर्गिस्तानमा भएको नवौ विश्व स्ट्रेन्थ लिफ्टिङ प्रतियोगितामा नेपाली खेलाडीहरुलाई सहभागिता गराई छोटै समयमा विना तयारीका बाबजुद पनि नेपाली खेलाडीहरुले १ स्वर्ण र ३ रजत पदक ल्याएउन सफल भएका थिए । अध्यक्ष महर्जनले स्ट्रेन्थ लिफ्टीङ्ग स्तरीय खेलाडीहरु उत्पादनका लागि देशै भरी प्रतियोगिताहरु गर्न सहयोग गर्दै आइरहनुभएको छ भने खेलाडीहरुको मनोबल बढाउनका लागि खेलाडीहरुलाई सक्दो सहयोग गर्नुका साथै पदक ल्याउने खेलाडीहरुलाई सम्मानित पनि गर्दै आइरहेको महासचिव जीवन गिरीले बताउनुभएको छ ।
स्मरणीय छ, नेपाल तेक्वान्दो महासंघको उपाध्यक्ष हुँदा पनि महर्जनले तेक्वान्दोको खेलाडीहरुको मनोबल बढाउनका लागि उहाँले ठूलो योगदान गर्नुभएको थियो । उहाँकै योगदानका कारण तेक्वान्दो खेलले अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा धेरै नै पदक ल्याउन सफल भएका थिए । यस्ता व्यक्तिलाई राज्यले पहिचान र उचित मूल्यांकन गरेको खण्डमा नेपाली खेलाडीहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको झण्डा फहराउन गाह्रो नहुने महासचिव गिरी बताउँछन् ।