काठमाडौं । नेपाल प्रहरीका उच्च अधिकारीले सुडान काण्डबाट अझै पाठ नसिकेको पाइएको छ । प्रहरीमा सामान खरिदमा पुरानै शैलीमा सेटिङको धन्दा सुरु भएको छ ।
गत आर्थिक वर्षको अन्तिममा यसरी ठूलो अनियमितता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रारम्भिक छानबिनले सार्वजनिक खरिद ऐनको ठाडो उल्लंघन गरी खरिद गरिएको देखिएको छ । आयोगले खरिदसम्बन्धि सम्पूर्ण फाइल झिकाएर छानबिन अघि बढाएपछि प्रहरी प्रधान कार्यालयमा हंगामा मच्चिएको छ ।
गत आर्थिक वर्षको अन्तिममा प्रहरीले ठेक्का टुक्राएर एउटै कम्पनीसँग १५ करोड रुपैयाँ बराबरको कोयर म्याट्रेस खरिद गरेको थियो । एक सय ६५ वटा यूनिटका लागि म्याट्रेस खरिद गर्न भनेर १०–१० लाख रुपैयाँ बजेट पठाइयो । सामान्यतया यसरी ठूलो सामान खरिद गर्दा प्रहरी हेडक्वार्टरले नै टेण्डर गर्नुपर्ने हुन्छ । तर, समय छोटो भएकाले टेण्डरबाट खरिद गर्दा सेटिङ मिलाउन पनि समस्या हुने भएपछि यसरी १६५ वटा कार्यालयबाटै सिधैं म्याट्रेस खरिद गरियो । अचम्म के छ भने सबै कार्यालयको टेण्डर भने एउटै कम्पनी दिइएको छ । २० वर्षदेखि प्रहरीमा ठेक्का गर्दै आएका राजमान मिश्रको जेएमबिडी इन्टरनेशनललाई यस्तो ठेक्का दिइएको छ ।