बञ्चरेडाँडामा फोहोर बोकेर गएका गाडी बाटोमै रोकिए

18.2k Shares

काठमाडौं, ३० साउन । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा जान लागेका गाडी छन् । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार सोमबार बिहान फोहोर बोकेर ल्याण्डफिल साइट (बञ्चरेडाँडा) हिँडेका गाडी बाटोमा नै रोकिएका हुन् ।

‘हिजो बञ्चरेडाँडामा फोहोर फाल्न नदिने भनेर विज्ञप्ति निकाल्ने समेतले गाडी रोकेको भन्ने जानकारी आएको छ । हिजो साँझ भने ५५ वटा गाडीले फोहोर फालेका थिए,’ उनले भने । हिजो ३ राजनीतिक दलले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै आजबाट बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोर फाल्न जाने गाडी रोक्ने घोषणा गरेका थिए । 

आइतबार सत्तारुढ गठबन्धनका दलहरु नेपाली कांग्रेसका धुनिवेशी नगरपालिकाका सभापति पूर्ण तामाङ, माओवादी केन्द्रका नगर अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादी पार्टीका नगर अध्यक्ष भीषण धितालले संयुक्त विज्ञप्ति निकाल्दै यस्तो घोषणा गरेका थिए । 

१७ वर्षदेखि काठमाडौं महानगरलगायत अन्य धेरै नगरपालिकाको फोहोर धादिङ र नुवाकोटको सीमाना सिसडोल र पछिल्लो समय बन्चरेडाँडामा अव्यवस्थित तरिकाले फाल्दै आएको भन्दै उनीहरूले आक्रोश पोखेका छन् ।

यता काठमाडौंका मेयर बालेन शाहले भने बञ्चरेमा गलत कसरत हुँदै गरेको भन्दै गुनासो गरेका छन्।  ‘दुई अवरोध हटाउनेबित्तिकै अर्को अवरोधको कसरत हुँदै गरेको भन्ने जानकारी पाएका छौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘वास्तवमै त्यो कसरत हो भने त्यो विडम्बनापूर्ण हुनेछ ।’

उनले बञ्चरे डाँडामा फोहोर व्यवस्थापनका लागि कतिपय संरचनाहरू बनिसकेको बताउँदै अब अर्को कुनै बहानामा अवरोध गर्न नहुने बताए। भूमि अधिग्रहण तथा संरचना निर्माण र प्रभावितहरूले पाउने सुविधा तथा मुआब्जा जस्ता काममा ५ अर्ब खर्च भइसकेको उनले जानकारी गराएका छन् ।


सम्बन्धित समाचार