काठमाडौं । आगामी मंसिरमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपालको साख विश्वसामु राख्न सफल नेपाल तेक्वान्दो संघका खेलाडीहरुलाई समावेश नगर्ने प्रदेश खेलकुद मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्द्वारा षड्यन्त्रको जालो बुनेको पाइएको छ ।
यस विषयलाई लिएर नेपाल तेक्वान्दो संघ बागमती प्रदेशका अध्यक्ष केशव पुरीसँग यसबारेमा बुझ्दा उहाँ भन्नुहुन्छ, ‘नेपालकै साख जोगाउने र विश्वसामु नेपालको नाम राख्न सफल खेल तेक्वान्दोे खेलमाथि विगतदेखि नै षड्यन्त्र हुँदै आइरहेको हो, आगामी दिनमा हुन लागेको नवौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा तेक्वान्दो खेलको जिल्ला, प्रदेशको छनौट प्रक्रिया नगरी एकतर्फीरुपमा आठ महिना पहिले बागमती प्रदेशद्वारा गरिएको तेक्वान्दो खेलाडी छनौट गर्दादेखि नेपाल तेक्वान्दो संघका खेलाडीहरुप्रति अन्याय गर्दै आएको पाइएको छ ।’ किन भने त्यतिबेला पनि नेपाल तेक्वान्दो संघसँग कुनै समन्वय नगरी एकतर्फीरुपबाट केही डोजाङका खेलाडीहरु तथा युनियनका खेलाडीहरुलाई समावेश गरी प्रतियोगिता गरिएको थियो । जुन खेलाडीको हित र नियमसंगत नभएको स्पष्टरुपमा देखिन्छ ।
यसैगरी, नबौं वृहत राष्ट्रिय खेलकुदमा पनि छनौट प्रक्रियाबाट नेपाल तेक्वान्दो संघका खेलाडीहरुलाई छनौट नगरी उही पुरानै खेलाडीहरुलाई छनौट गरी प्रतियोगितामा सहभागिता गराउने प्रदेश खेलकुद मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्को निर्णय भएको स्रोतले दाबी गरेको छ ।
तेक्वान्दो संघको माघ के हो भने, अहिलेको सन्दर्भमा विश्व तेक्वान्दो महासंघले खेलका नियमहरु र रेफ्रीको नियमहरु परिवर्तन गरी परिवर्तन गरिएको नियमहरु पूर्ण पालना गर्नुपर्ने वाध्यता रहेको छ । तर, प्रदेश खेलकुद परिषद्ले यी सबै कुरालाई वेवास्था गरी खेलाडीहरुको मनोबल गिराउने काम गरिएको पाइयो । अर्कोतर्फ आठ महिना छनौट गरिएका खेलाडीहरु कहाँ छन्, नियमित प्रशिक्षणमा छन् कि छैनन्, स्वदेशमै छन् कि विदेशमा छन्, तौलको अवस्था के कस्तो छ यस्ता कुरालाई ध्यानमा नराखी नेपाल तेक्वान्दो संघ बागमती प्रदेशसँग सहकार्य नै नगरी एकतर्फीरुपमा गरिएको निर्णय तेक्वान्दो संघलाई मान्य नभएको बागमती प्रदेश तेक्वान्दो संघका अध्यक्ष केशव पुरी बताउनुहुन्छ ।
यस विषयमा थप जानकारी गराउँदै पुरी बताउनुहुन्छ, ‘मैले प्रदेशको तर्फबाट बागमती प्रदेशका युवा तथा खुलकुद मन्त्री रत्न ढकालज्यूसँग समन्वय गरी प्रदेश खेलकुद परिषद्ले गरेको गलत कार्यको जानकारी गराइसकेको छु ।’ प्रदेश खेलकुद परिषद्को गलत कार्यको जानकारी गराएपछि मन्त्री ढकालबाट सकारात्मकरुपमा लिएका छन् । तर, बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्य भण्डारी तेक्वान्दो संघप्रति सकारात्मक छैनन् ।
यी सबै भएगरेका कुराहरु खेलकुद र विशेष गरेर तेक्वान्दो खेल विद्या नबुझेका परिषद्का सदस्य सचिवका कारण यो अवस्था सिर्जना भएको हो । किन भने तेक्वान्दो खेल विश्व तेक्वान्दो महासंघको निर्देशन तथा नियममा खेलिने खेल हो । खेलका नियम नै नबुझेका रेफ्रीहरुले तेक्वान्दो खेल खेलायो भने त्यसको परिणाम के हुन्छ ? अर्कोतर्फ खेलाडीहरुले पनि अबदेखि खेल्ने खेलमा नयाँ नियम पालना गर्नुपर्ने हुन्छ । त्यो सम्बन्धी जानकारी र प्रशिक्षण नेपाल तेक्वान्दो संघले दिने गर्दै आइरहेको छ । अब भन्नुहोस्, हाम्रो नबौं बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा नियम पालना नगरी खेल खेलाइयो भने त्यसको नतिजा के आउला ? र अन्तर्राष्ट्रिय जगतमा हाम्रा खेलाडीहरुले विदेशी खेलाडीहरुसँग प्रतिस्पर्धा गर्दा कुन नियमले प्रतिष्पर्धा गर्लान् ? यतिसम्म पनि जानकारी नभएका सदस्य सचिव भण्डारीले के प्रदेशको जिम्मेवारी दिनु ठिक हो ? सम्बन्धित क्षेत्रका विज्ञहरुले प्रश्न गर्न थालेका छन् ।
पछिल्लो समय तेक्वान्दो संघका खेलाडीहरुप्रति जेजस्तो गतिविधि प्रदेश खेलकुद परिषद्ले गरिरहेको छ त्यो प्रति कुनै पनि तेक्वान्दो खेलाडीले चित्त बुझाउने ठाउँ छैन । यसर्थ, आशा गरौं प्रदेश खेलकुद मन्त्रीले जे आश्वासन दिएका छन् त्यो पूरा होला भन्ने बागमती तेक्वान्दो संघका पदाधिकारीहरुले विश्वास लिएका छन् ।