काठमाडौं, २४ असार । संसदीय समितिले यौनहिंसामा परेकाहरुले तीनवर्षभित्र उजुरी गर्न सकिने व्यवस्था गर्ने निर्णय गरेको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिले यस्तो निर्णय गरेको हो ।
यौन हिंसाविरुद्ध केही ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदामाथि समितिले यस्तो निर्णय गरेको हो । सर्वसम्मत तरिकाले निर्णय भएको थियो ।
यसअघि एकवर्षमात्रै उजुरीको समय थियो । अब थप दुईवर्ष थपिएको समितिले जनाएको छ । बालिगले दुईवर्षभित्र उजुरी गर्न सकिने तर बालबालिका, अशक्त, मानसिक अवस्था कमजोर भएकाहरुले तीनवर्षमित्र उजुरी गर्न सकिने व्यवस्थ गरिएको छ । सो प्रस्ताव आजै बस्ने प्रतिनिधिसभाको बैठकमा पेस हुँदैछ ।
यसअघि बलात्कारका घटनामा एकबर्षे हदम्याद हटाउनुपर्ने भन्दै महिला अधिकारकर्मीहरुले आन्दोलन नै गरेका थिए । त्यस्तै बालबालिका अपांग, अशक्त, मानसिक अवस्था कमजोर भएकाको हकमा ३ वर्षको हदम्याद राख्ने सहमति भएको छ । बलात्कारमा परेका नाबालिगले बालिग भएको ३ वर्षसम्म उजुरी गर्न सक्ने व्यवस्था बिधेयकमा राखिएको समिति सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए ।