काठमाडौं । काठमाडौं उपत्यका छिर्ने नाकामा चुकजाँच फितलो भएको पाइएको छ ।
४ महिना लामो लकडाउनको अन्त्य भएपछि जारी भएको निषेधाज्ञापछि केही खुकुलो भएको छ । नाकाहरुमा पनि चेकजाँच फितलो बन्दै गएको छ । विगतभन्दा निषेधाज्ञापछि केही कडाई गरिएको चेकजाँच निषेधाज्ञा खुकुलो भएसँगै फितलो बन्दै गएको हो ।
प्रहरीले अहिले अत्यावश्यक मालबाहक सवारी मात्रै उपत्यका भित्रिन दिइरहेको छ । खाद्यान्न, तरकारी र फलफुल, दुध, दुग्धजन्य पदार्थ बोकेका सवारी र मासुजन्य सामग्री बोकेका सवारीहरु मात्रै भित्रिन दिएपनि चेकजाँच फितलो देखिएको छ । तर नागढुंगा नाका भएर भित्रिने सवारीहरु प्रहरीले चेकजाँच गर्दा स्वास्थ्य सुरक्षाका मापदण्ड नै पालना नगरेको पाइएको छ ।
उपत्यका भित्रिने सवारी चालकका कागजपत्र चेकजाँच गर्दा सामाजिक दुरी नै कायम नगरेको, चेकजाँचमा खटिएका सुरक्षाकर्मीले मन लागे कागजपत्र हेर्ने र मन नलागे नहेरी पठाउने गरिएको दृश्य नागढुंगा नाकामा देखिएको छ । उपत्यका नगरपालिका मेयर फोरमले संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएकाले नाकामा कडाइ गर्न आग्रह गर्दा पनि त्यसो हुन सकेको छैन ।
यात्रुबाहक सवारीलाई प्रवेश दिइएको छैन । सरकारले नै जिल्लाभित्र मात्रै छाटो दुरीका सवारी सञ्चालनको अनुमति दिएको छ । लामो दुरीका सवारी सञ्चालनको मिति अझै तय भएको छैन । उता साँगा नाकामा सवारीको चाप कम देखिए पनि चेकजाँचमा स्वास्थ्य सुरक्षाका मापदण्ड भने अपनाइएको पाइँदैन ।