आईजीपी विवादको मुद्दामा सुनुवाइ हुन सकेन

16k Shares

काठमाडौं, १७ जेष्ठ । अवकास प्राप्त डीआईजीको मुद्दा पनि साथै राखिएका कारण आज (मंगलबार) आईजीपी बढुवा विवादको मुद्दामा सुनुवाइ हुन सकेन । डीआईजीको मुद्दामै म्याद तामेली गर्न बाँकी रहेकाले सुनुवाइ हुन नसकेको जनाइएको छ । 

सर्वोच्चले एआईजी विश्वराज पोखरेलको रिट र तीन जना डीआईजीको रिट सँगै राखेर हेर्ने गरी पेसी तोकिएको थियो । यसअघि प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा विवादबारे रिटको सुनुवाइ न्यायाधीश विश्वम्भर श्रेष्ठ र कुमार चुडालको इजलासमा परेको थियो । आजबाट अन्तिम सुनुवाइ सुरु हुने गरी गोलाप्रथाबाट पेसी न्यायाधीशद्वयको इजलासमा परेको थियो ।

गत वैशाख १८ गते सरकारले धिरजप्रताप सिंहलाई आईजीपी बनाउने निणर्य गरेपछि एआईजी विश्वराज पोखरेलले रिट दायर गरेका हुन् । आफू पहिले एआईजी भएकाले आफैं आईजीपी हुनु पर्ने पोखरेलको माग छ । यसअघि गत २२ वैशाखमा न्यायाधीश सुष्मातला माथेमाको एकल इजलासले मुद्दाको अन्तिम सुनुवाइ १७ गते गर्ने आदेश दिएको थियो । माथेमाको इजलासले लिखित जवाफ माग गर्दै दुवैका कागजात झिकाएको थियो ।

पोखरेलले आफूलाई तत्काल निमित्त दिन र धिरजलाई काम गर्न रोक लगाउन माग गरे पनि सर्वोच्चले त्यसलाई अस्वीकार गरेको थियो । यसअघि सिंहलाई एआईजीमा बढुवा गर्दाको रिट पनि सँगै राखिएको छ । त्यतिबेला तीन डीआईजीले आफूभन्दा जुनियरलाई बढुवा गरिएको भन्दै रिट दायर गरेका थिए ।

एआईजीमा बढुवा हुनु पर्ने माग गर्ने तीनै जना डीआईजी अवकाश भइसकेका छन् । डीआईहरु ईश्वरबाबु कार्की, धनश्याम अर्याल र प्रकाशजंग कार्कीले डीआईजी बढुवाविरुद्ध रिट दायर गरेका थिए ।

सम्बन्धित समाचार