सार्वजनिक पद धारण गरी करोडौं रुपैयाँ अबैध आर्जन गर्ने इन्जिनियर गुप्तासहित उनका आफन्तविरुद्ध मुद्दा दायर

18.8k Shares

काठमाडौं, २६ भदौं । सरकारी सेवामा हुँदा अकुत सम्पत्ति अबैधरुपमा आर्जन गरेका संघीय आयोजना कार्यान्वयन इकाई, विराटनगरका तत्कालिन सिनियर डिभिजन इन्जिनियर काशीप्रसाद गुप्तासहित उनका आफन्त १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरु उपर बिगो १६ करोड ७२ लाख ५६ हजार ४९६ रुपैयाँ ८६ पैसा कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा बिहीबार विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।
भ्रष्टाचारको छानबिनबाट जोगिन इन्जिनियर गुप्ताले आफन्तको खातामा १० करोड रुपैयाँभन्दा धेरै लुकाएको पाइएको छ । सम्पत्ति लुकाउन सहयोग गर्ने १२ जना आफन्तसहित उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भर्दा २५ गते विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनले सरकारी सेवामा हुँदा १६ करोड ७२ लाख ५६ हजार चार सय ९६ रुपैयाँ अवैध रूपमा आर्जन गरेको आयोगको दाबी छ । सार्वजनिक पद धारण गरेको मितिदेखि अनुसन्धान गर्न कायम गरिएको अवधिमा उनको वैध आय एक करोड ११ लाख ६९ हजार नौ सय ६२ मात्र देखिएको छ । तर, उनीसँग १७ करोड ८४ लाख २६ हजार चार सय ५९ रुपैयाँ सम्पत्ति भेटिएको छ ।
उनले १० करोड ४४ लाख ४३ हजार सात सय तीन रुपैयाँ नौ पैसा विभिन्न आफन्तहरूको नाममा राखेको आयोगले जनाएको छ । उनका आफन्तहरू अन्जुकुमारी महतो, उदीतनारायणप्रसाद रौनियार, चन्देश्वर महतो, धीरजकुमार गुप्ता, प्रीतिकुमारी गुप्ता, डा. रचनाप्रसाद शाह, विकासप्रसाद गुप्ता, विनयकुमार सिंह, विभा रानी, संगीता साह रौनियार र सन्तोषकुमार गुप्तामाथि आयोगले अख्तियार दुररूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम निजहरूलाई सम्पत्ति जफत प्रयोजनार्थ मुद्दा दायर गरेको छ । इन्जिनियर गुप्ताले गत वर्ष अवकाश पाएका थिए ।
 

सम्बन्धित समाचार