सोलुखुम्बु, १८ बैशाख । छोटै समयमा राजनीतिक फड्को मार्न सफल बनेका छन् सोलुखुम्बु जिल्लाको थुलुङदुधकोशी गाउँपालिकाका अध्यक्ष असिम राई ।
असिम राई युवा उमेरमै ठूलो राजनीतिक छलाङ मार्ने नेताको रुपमा उनले आफ्नो परिचय दिइसकेका छन् । जिल्लाको सक्रिय राजनीति सुरु गरेको केही वर्षमै उनले सोलुखुम्बुमा लिएको उचाई कम आँक्न मिल्दैन । पाँच वर्ष अघि थुलुङदुधकोशी गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुँदै गर्दा असिमले झण्डै दर्जन विकसित देश भ्रमण गरी त्यहाँको मोडलमा आफ्नो गाउँपालिका विकास गर्न तल्लिन भई सफल अध्यक्षको रुपमा परिचय दिइसकेका छन् भने कतिपय कार्य सम्पन्न गर्नको लागि पनि असिमले पुनः सो गाउँपालिकाको अध्यक्ष पदमा फेरि उम्मेदवारी दिएका छन् । असिमले ५ वर्षे कार्यकालमा सो गाउँपालिकाका स्थानीयहरुसँग हातेमालो गर्दै विकास निर्माण कार्यमा तल्लिन रहेकै कारण पनि असिमलाई स्थानीयस्तरबाटै फेरि गाउँपालिकाको अध्यक्ष बन्नको लागि आग्रह गरेकै कारण पनि फेरि गाउँपालिकाको अध्यक्षको लागि आफू तयार रहेको असिम बताउँछन् । सो गाउँपालिकाका स्थानीयहरुले असिमलाई आफ्नो गाउँपालिकाको विकासप्रेमी नेताको रुपमा हेर्ने गर्नुका साथै अधिक माया र भरोसाका नेताको रुपमा हेर्ने गरेका छन् ।
अहिले स्थानीय तहको निर्वाचन बैशाख ३० गते हुँदै गर्दा उनले पुनः अध्यक्षमा उठ्ने निधो गरेकै कारण सो गाउँपालिकाका स्थानीयहरु हर्षित बन्दै जसरी पनि पुनः अध्यक्षको रुपमा असिमलाई हेर्नकै लागि स्थानीय स्तरबाटै जनताहरु अगाडि बढिसकेका छन् । मनोनयन दर्ताको अघिल्लो दिनसम्म पनि आफू उम्मेदवार बन्ने मनस्थितिमा उनी थिएनन् । गाउँपालिका अध्यक्षका लागि माओवादी केन्द्रबाट अरु कसैलाई उम्मेदवार बनाएर प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्ने उनको तयारी थियो । तर ५ वर्षे कार्यकालमा जनताको चाहनाभन्दा धेरै काम सम्पन्न गरेपछि अधिकांश जनताले उनलाई नै गाउँपालिकामा दोहोरिन चाहना राखेकै कारण उनले गाउँपालिकाको अध्यक्ष पदका पुनः उम्मेदवारी दिएर आगामी ५ वर्ष गाउँपालिकामा खटिने निष्कर्षमा पुगेका हुन् ।
थुलुङदुधकोशी गाउँपालिका अन्तर्गत रहेका तातकालिन जुबु, लोखिम, काँगेल, पञ्चन, मुक्ली, देउसा, नेले गाविसहरु नेपाली काँग्रेसको गढ कै रुपमा लिइन्थ्यो । नेपाली काँग्रेसको जिल्ला तहमा राम्रो प्रभाव राख्ने दर्जनभन्दा बढि नेताहरु यही गाउँपालिका भित्रका छन् । त्यसैले जिल्लाको अन्य भूगोल भन्दा यहाँ नेपाली काँग्रेस निक्कै बलियो मानिन्थ्यो । स्थानीय तहको पहिलो निर्वाचन २०७४ मा मुख्य गरी नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र एक्ला एक्लै मैदानमा उत्रिएका थिए । त्यसबेला नेपाली काँग्रेस पहिलो, एमाले दोस्रो र माओवादी केन्द्रको संगठन तेस्रो स्थानमा रहेको आँकलन गरिन्थ्यो । तर नेपाली काँग्रेसभित्रको आन्तरिक कलह र बागी उम्मेदवारी नै युवा नेतृत्व असिम राईलाई गाउँपालिकाको अध्यक्ष बन्न बलियो हतियार बन्यो । त्यसपछि असिम राइले गाउँपालिका हाँक्ने आफ्नो ५ वर्षे कार्यकालमा यति रफ्तारमा काम गरे कि उनको कार्यक्षमता, सहनशिलता, इमान्दारीता, जाँगर र अठोटका कारण थुलुङदुधकोशीका जनता उनको प्रशंसक बने । यस अवधीमा विना कुनै चाप्लुसी, चाकडी थुलुङदुधकोशीमा माओवादी केन्द्रको शक्तिशाली संगठन निर्माण गरिसकेका छन् । स्थानीय बुद्धिजिविहरुका अनुसार यस गाउँपालिकाका अधिकांश युवाहरु अहिले विकासका खातिर असिम राईको समर्थनमा देखिएका छन् ।
असिम राई निर्वाचित भएलगत्तै सोलुखुम्बुका अन्य स्थानीय तहका जनप्रतिनिधि भन्दा फरक शैलीबाट उनले थुलुङदुधकोशीमा विकासको रेखा कोर्न थाले । अन्य स्थानीय तहले पहिलेका गाविस भवनलाई टालटुल पारी गाउँपालिका प्रशासन चलाउन खोज्दा उनले जग्गा व्यवस्थापन गरि मुक्लीमा गाउँपालिकाको स्थायी प्रशासनिक भवन बनाइसकेका थिए । अन्य स्थानीय तहले संघीय ऐन पल्टाउँदै गर्दा उनले गाउँपालिका ऐन जारी गरिसकेका थिए । सरकारको बजेट अभावलाई ध्यानमा राखेर सप्ताह ज्ञान महायज्ञ आयोजना गरी करोडौँ रकम भेटी दान संकलन गरी गाउँमै ५० शैयाको अस्पताल निर्माण सुरु गरे । उक्त अस्पताल निर्माणको अन्तिम चरणमा छ । सुविधासम्पन्न ५० शैया अस्पताल निर्माण घोषणा कतिपयले ‘हल्लाखल्ला’ मात्रै ठानेका थिए ।
गाउँपालिकाको विभिन्न स्थानमा सरकारी प्रयोजनका लागि संरचनाहरु निर्माणका लागि उनले दुई सय रोपनी भन्दा बढि नीजि जग्गा दान गराई सरकारीकरण गराउन सफल भइसकेका छन् । सुविधासम्पन्न भवन निर्माण गरि गाउँमै बहुप्राविधिक शिक्षालय सञ्चालन गरेको पनि दुई शैक्षिक सत्र पूरा भइसकेको छ । पूरै गाउँलाई राष्ट्रिय विद्युत प्रसारण लाइनबाट जडान गर्नु, सबै वडाहरुमा स्वास्थ्य चौकीको व्यवस्थापन गर्नु, हरेक टोलहरुमा पुर्याइएका सडकहरुलाई ग्राभेल गरी बाह्रैमास चल्ने बनाउनु उनको सम्झन लायकका भौतिक पूर्वाधारका योजनाहरु हुन् ।
कोरोना महामारीका कारण देश पूरै सुतिरहेको बेला गाउँपालिका अन्तर्गत थुप्रै सडकहरु उनले ग्राभेल गरे । स्थानीयले रोजगारी पनि पाए, सडक पूर्वाधार पनि स्तरोन्नती भयो । अहिले स्तरोन्नती गरिएका पुराना सडकहरुलाई धमाधम कालोपत्रे गर्ने उनको लक्ष्य छ । आफू निर्वाचित भए आगामी जेष्ठ महिनाबाटै कालोपत्रेको कामलाई निरन्तरता दिने राइले बताए । उनले यस अवधीमा गाउँका हरेक युवाहरुलई स्वरोजगार बनाउन पहल लिएका छन् । उत्पादनमुखी योजनाहरुलाई प्राथमिकतामा राखेका छन् । यस गाउँपालिकालाई किवि जोन घोषणा गरि केन्द्रीय सरकारबाट ठूलो परिणाममा बजेट लैजान असिम सफल रहे ।
उनले रुस, चीन, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, इटली लगायतका देश भ्रमण गरि विकासको मोडलहरुको अध्ययन गरेका छन् । विश्वका विकसित देशरुको विकासको मोडललाई आफ्नो गाउँ र जिल्लामा उतार्न आफु तल्लिन रहेको राईको भनाई छ ।
३८ बर्षिय असिम राईको घर पञ्चनमा पर्दछ । उनले एमबीए उत्तिर्ण गरेका छन् । लामो समय काठमाडौँमै रहेका उनी २०७१ साल देखि जिल्ला राजनीतिमा सक्रिय बनेका थिए । नेकपा माओवादी केन्द्रको जिल्ला सचिवालयमा लामो समय काम गरेका उनी अहिले माओवादी केन्द्रको जिल्ला अध्यक्ष छन् । उनको कार्यकुशलता ध्यानमा राखी पार्टीले जिल्ला हाँक्ने जिम्मेवारी दिएको हो । पार्टीको अध्यक्ष बने लगत्तै उनले माओवादी पार्टीको संगठन सुधारका लागि असाधारण काम गरेका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा तेस्रो स्थानमा रहेको माओवादी केन्द्र पार्टीको संगठन सुधारका लागि स्थानीय तहको निर्वाचन माहोलमा एमाले र नेपाली काँग्रेसका थुप्रै नेता कार्यकर्ताहरुलाई असिमले आफ्नो पार्टीमा स्वागत गर्न सफल भएका छन् । आफ्नै गाउँपालिकामा अघिल्लो पटक नेपाली काँग्रेसबाट उपाध्यक्षमा विजयी सविता राईलाई माओवादी केन्द्रमा प्रवेश गराई पुन उपाध्यक्षको उमेदवार बनाएका छन् ।
जिल्ला अध्यक्ष समेत रहेका असिम राइले सोलुदुधकुण्ड नगरपालिकामा पनि काँग्रेस नेतृ शारदामाया तामाङलाई माओवादी पार्टीमा प्रवेश गराएका छन् । उनी अहिले सो नगरपालिकामा उपमेयरको उमेदवार बनेकी छिन् । अन्य २० भन्दा बढि गाउँस्तरमा प्रभावशाली राजनीति गर्ने अन्य पार्टीका नेताहरुलाई माओवादी पार्टीमा प्रवेश गराएका छन् । असिमले भने, ‘म एक पटक फेरि सोलुखुम्बु माओवादी पार्टीले लिड गरेको हेर्न चाहन्छु । त्यसैको संघर्षमा हामी निरन्तर खटिइरहेका छौँ ।’ असिम राईको कार्यक्षमताको मुल्यांकन गर्दै अर्थ मन्त्रालयले समेत अर्थ समितिमा मनोनित गरेको छ । देशको अर्थतन्त्रको अवस्था, सुधारका योजनाहरु र दिगो विकासको खाका बारेमा सुझाव दिने, योजना निर्माण गर्ने उद्देश्यले अर्थमन्त्रीको अध्यक्षतामा गठन गरिएको ९ सदस्यीय समितिमा उनी पनि मनोनित भएका थिए ।