काठमाडौं । नेपाल प्रहरीमा एआइजी बढुवा रोक्ने खेलहरु भएका छन् । हालै तीनजना डिआइजीलाई एआइजी बढुवाको सिफारिश गर्ने निर्णयविरुद्ध उजूरी गरेर रोक्न खोजिएको छ । यसमा भावी आइजीपीको प्रतिष्पर्धालाई खलबलाउन खोजिएको बुझिएको छ ।
डिआइजी इश्वरबाबु कार्कीले लोकसेवा आयोगमा बढुवाविरुद्ध उजूरी गरेका हुन् । कार्कीले बढुवाविरुद्ध सर्वोच्च अदालतमा समेत रिट दायर गर्ने तयारी गरेका छन् । सर्वोच्चबाट अन्तरिम आदेश जारी गराएर मन्त्रिपरिषदबाट निर्णय रोक्ने प्रयास समेत भएको छ ।
सरकारले यसअघि तीन एआइजीको दरबन्दी सृजना गरेर गृह मन्त्रालयमार्फत् बढुवा सिफारिश गरेको थियो । १ चैत्रमा बढुवा सिफारिश हुनेहरुमा आइजीपी शैलेश थापा क्षेत्रीका ब्याची वसन्त पन्तका अलावा डिआइजीहरु धीरजप्रताप सिंह र रवीन्द्र धानुक छन् । बढुवामा आफूभन्दा पछिल्लो ब्याचका सिंह र धानुकको नाम सिफारिश गरिएको भन्दै हालका आइजीपी थापाका ब्याची असन्तुष्ट थिए ।
अहिले बढुवा सिफारिश भएका धीरज सिंहलाई आइजीपी बनाउने गरी बढुवा गर्न लागिएको चर्चा छ । उनीप्रति प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको बुझिएको छ । आइजीपीका मुख्य दाबेदार मानिएका एआइजीद्वय विश्वराज पोखरेल र सहकुल थापामाथि सिंहको बढुवा सिफारिश सँगै चुनौती बढेको छ । १९ वैशाखमा हालका आइजीपी शैलेश थापा क्षेत्री सेवानिवृत्त हुँदैछन् । त्यसपछि एआइजीमध्येबाट बढुवाको प्रतिष्पर्धा हुनेछ । सीआइबीको प्रमुख रहेर देउवाको मन जितेका सिंहलाई रोक्न प्रहरीभित्रै प्रयास चल्न थालेको छ । सिंहलाई नै आइजीपी बनाउने गरी तयारीहरु बढ्न थालेका छन् । यसबाट उनका मुख्य प्रतिष्पर्धी आत्तिएका थिए । उनका प्रतिष्पर्धी विश्वराज पोखरेल र सहकुल थापाले केपी शर्मा ओलीको पालामा एआइजी दरबन्दी थप्न लगाएर बढुवाको फूली लगाएका थिए । यसकारण पनि दुवैप्रति देउवा नकारात्मक रहेको बुझिएको छ ।