जर्ज साेराेस
युक्रेनमाथि फरबरी २४ मा रुसले गरेकाे आक्रमण हाम्राे सभ्यतालाई ध्वस्त बनाउन सक्ने जाेखिम भएकाे तेस्राे विश्वयुद्धकाे थालनी थियाे । यस आक्रमणकाे ठीक पहिले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चिनियाँ नववर्ष मनाउने तथा बेइजिङ ओलम्पिक सुरु हुने दिन फरबरी ४ मा लामाे बैठक भएकाे थियाे । बैठककाे अन्त्यमा उनीहरूले दुई देशबीच निकट साझेदारीकाे घाेषणा गरिएकाे ५ हजार ५०० शब्दकाे लिखत जारी गरेका थिए । याे लिखत कुनै सन्धिभन्दा बढी प्रभावशाली हुनाले पक्कै पनि पहिले नै विस्तृत छलफल भएकाे हुनुपर्छ ।
सीले पुटिनलाई युक्रेनमाथि आक्रमण गर्न र युद्ध थाेपर्न खुला सहमति दिएकाेमा म चकित भएकाे थिएँ । सी यस वर्षकाे अन्त्यतिर आफू चीनकाे आजीवन शासक घाेषित हुने कुरा औपचारिकतामात्र हाे भन्नेमा ढुक्क भएकाे हुनुपर्छ । सबै अधिकार आफ्नाे हातमा केन्द्रित गरिसकेपछि सीले आफूलाई माओ त्सेतुङ र देङ सियाओपिङकै तहमा स्थापित गर्ने मार्गचित्र तयार गरिसकेका छन् ।
सीकाे समर्थन प्राप्त गरेपछि पुटिनले आफ्नाे जीवनभरकाे सपना पूरा गर्न अकथनीय बर्बरता अपनाएका छन् । सत्तरी वर्ष पुग्नै लाग्दा पुटिनले रसियन इतिहासमा आफ्नाे छाप अहिले छाड्न नसके कहिल्यै सकिनेछैन । तर, विश्वमा रुसकाे भूमिकासम्बन्धी उनकाे साेच भने विकृत छ । उनले रसियन जनता आँखा चिम्लेर पछि लाग्ने जारकाे आवश्यकता छ भन्ने ठानेकाे देखिन्छ । याे लाेकतान्त्रिक समाजकाे ठीक विपरीत हाे र यसले रुसी संवेदनशीलतालाई पनि क्षतविक्षत बनाउँछ ।
सन् १९४५ मा रसियन फौजले हङ्गेरी कब्जा गरेका बेला म बालकै थिएँ । त्यति बेलाका रसियन सैनिकसँगका मेरा थुप्रै सम्झना जाेडिएका छन् । कसैले माग्याे भने उनीहरू आफूसँग भएकाे राेटीकाे अन्तिम टुक्रासम्म पनि बाँड्न तयार हुन्छन् भन्ने छाप ममा परेकाे थियाे । पछि सन् १९८० काे सुरुतिर म मेले भन्ने गरेकाे ‘राजनीतिक पराेपकार’तर्फ लागेँ ।
पहिले मैले आफ्नाे मुलुक हङ्गेरीमा एउटा प्रतिष्ठान स्थापना गरेँ र साेभियत साम्राज्यकाे विघटनमा सक्रियतापूर्वक सहभागी भएँ । सन् १९८५ मा मिखाइल गाेर्बाचेभ सत्तामा आउने बेला विघटन सुरु भइसकेकाे थियाे । मैले रुसमा एउटा संस्था खडा गरेँ र अलग्गिँदै गएका सबै मुलुकमा त्यसै गरेँ । युक्रेनमा त याे स्वतन्त्र हुनुभन्दा पहिले नै संस्था स्थापना गरेकाे थिएँ । मैले सन् १९८४ मा चीनकाे भ्रमण पनि गरेँ जहाँ संस्था खाेल्ने अनुमति पाउने म पहिलाे विदेशी थिएँ । (त्याे संस्था सन् १९८९ मा तियानआनमेन चाेककाे नरसंहार हुनुभन्दा केही पहिले बन्द गरेकाे थिएँ ।)
म पुटिनलाई व्यक्तिगतरूपमा चिन्दिन । परन्तु, उनकाे उदयलाई नजिकबाट नियालेकाे छु र उनकाे निर्ममताका सम्बन्ध पनि जानकार छु । उनले चेचेन्याकाे राजधानी ग्राेन्झी ध्वस्त पारे । अहिले त्यसरी नै युक्रेनकाे राजधानी किभ ध्वस्त पार्ने धम्की दिइरहेका छन् । पुटिन त केजीबीका चतुर सदस्य थिए तर हालै उनी बदलिएजस्ताे भान हुन्छ । मनले ठानेपछि वास्तविकताप्रति आँखा चिम्लेजस्ताे छ । उनले युक्रेनकाे अवस्थाकाे पक्कै पनि गलत मूल्याङ्कन गरे । उनले रुसियन भाषी युक्रेनियनहरूले रुसी फौजलाई खुला हृदयले स्वागत गर्ने अपेक्षा गरेका थिए तर उनीहरू त युक्रेनियन भाषीभन्दा फरक भएनन् । आफूभन्दा धेरै बलियाे देखिएकाे शक्तिविरुद्ध युक्रेनियनहरूले आश्चर्यजनक वीरतापूर्ण प्रतिराेध गरेका छन् । सन् २०२१ काे जुलाईमा पुटिनले एउटा लामाे आलेखमा रसियन र युक्रेनियनहरू एउटै जाति हुन् र युक्रेनियनहरूलाई नवनाजी अतिक्रमणकारीले भ्रममा पारेका हुन् भन्ने तर्क दिइएकाे थियाे । यस तर्ककाे पहिलाे भाग पूरै ऐतिहास तथ्यविपरीत पनि हाेइन । मौलिक रसियन अर्थाेडक्स चर्च नै किभमा थियाे । परन्तु, दाेस्रो भागमा भने भ्रम फैलाउने काम पुटिनले गरेका हुन् । यसबारेमा त बढी जानकार उनी नै हुनुपर्छ । कैयाैं युक्रेनियनहरूले सन् २०१४ काे स्वाभिमानकाे आन्दाेलनमा वीरतापूर्वक सङ्घर्ष गरेका थिए ।
सन् २०१४ का घटनाले उनलाई धेरै क्रुद्ध बनायाे । परन्तु, युक्रेनियनहरूमाथि आक्रमण गर्न पठाउँदा रुसियन फौज राम्ररी लड्न सकेन । रक्षा सामग्रीकाे खरिदमा व्याप्त भ्रष्टाचारकाे पनि रुसियन फौजकाे असफलतामा विशेष भूमिका थियाे । तैपनि आफूलाई दाेष दिनुकाे साटाे पुटिन विक्षिप्त हुन पुगेकाे देखियाे । उनले युक्रेनलाई आफूविरुद्ध उभिएकाेमा सजाय दिने निर्णय गरेका छन् र कुनै बाधा अवराेधविन त्यसै गर्दैगरेकाे देखिएकाे छ । उनले गैरसैनिक नागरिकमाथी समेत व्यापक बम प्रहार गरेर युद्धका सबै नियमहरूकाे अवज्ञा गर्दै पूरै रुसी सेनालाई युद्धमा हाेमेका छन् । कतिपय अस्पतालहरूमा प्रहार गरिएकाे छ विद्युत् आपूर्ति गर्ने चेर्नाेविल आणविक ऊर्जा केन्द्र (हाल रुसियन सेनाले कब्जा गरेकाे) क्षतिग्रस्त बनाइएकाे छ । रसियन कब्जामा परेकाे मारिउपाेलमा चार लाख मानिसहरूले एक सातादेखि पानी र खाना पाएका छैनन् ।
रुसले युद्ध हार्न सक्ला । अमेरिका र युराेपियन युनियन दुवैले युक्रेनमा प्रतिरक्षात्मक हतियार पठाइरहेका छन् र युक्रेनका विमान चालकले चलाउन जानेकाे रुसमा बनेका एमआईजी लडाकु विमानहरू खरिद गर्ने पनि प्रयास भइरहेकाे छ । यसबाट धेरै फरक पर्न सक्छ । परिणाम जे भए पनि पुटिनका कारण युराेपियन यनियनकाे एकता सुदृढ गर्ने चमत्कार भने भइसकेकाे छ ।
यसबीच सीले पुटिनले विश्वासघात गरेकाे ठानेजस्ताे देखिएकाे छ । मार्च ८ मा चिनियाँ विदेशमन्त्री वाङ यीले रुस र चीनकाे मित्रता ‘चट्टानजस्ताे ठोस’ रहनुपर्छ भनेर जाेड दिइरहेकै बेला राष्ट्रपति सीले भने फोन गरेर फ्रेन्च राष्ट्रपति एमानुयल म्याक्रों र जर्मन चान्सलर ओलाफ साेल्जलाई उनीहरूले गरेकाे शान्ति स्थापनाकाे प्रयासमा समर्थन जनाएका थिए । उनले मानवीय सङ्कट नआओस् भनेर युद्धमा अधिकतम संयम अपनाउन आग्रह गरेका थिए ।
पुटिनले सीका चाहना पूरा गर्ने सम्भावना एकदमै अनिश्चित छ । हाम्राे सभ्यताकाे नाश हुनुभन्दा पहिले नै पुटिन अपदस्थ हुने कामनामात्र गर्न सक्छाैँ ।
(अध्यक्ष, साेराेस फन्ड मेनेजमेन्ट तथा ओपन सोसाइटी फाउन्डेसन)