धादिङ, काठमाण्डौ र झापामा भएका साहित्य महोत्सव सकियो : पोखराको महोत्सव आजसम्म

10.9k Shares

काठमाण्डौ – धादिङको सदरमुकाम धादिङबेसीमा भएको दुई दिने बागमती साहित्य महोत्सव सकिएको छ । अस्ति र हिजो भएको महोत्सवमा कला र साहित्यका विभिन्न विषयमा सर्जकसँग भलाकुसारी भएको थियो ।

महोत्सवले बागमती प्रदेशका कला, साहित्य, संस्कृति तथा सभ्यताको  प्रवर्द्धनमा  महत्त्वपूर्ण टेवा पुर्‍याएको आयोजकले जनाएको छ ।

यसैगरी पहिलो संस्करणको ‘काठमाण्डौ उत्सव’ पनि सम्पन्न भएको छ । हिजो र अस्ति नेपाल पर्यटन बोर्डको हलमा भएको उत्सवमा साहित्यसँगै काठमाण्डौ संस्कृति, सभ्यता, पर्यटन, रैथाने खाना र आममान्छेका जीवनका कथाहरू समेटिएका थिए ।

झापाको मेचीनगरमा बुधवारदेखि शुरू भएको ‘कला साहित्य उत्सव’ पनि हिजो सकिएको छ । यस वर्षको उत्सव ‘पर्यावरण विमर्श’विषयमा केन्द्रित थियो । रिडर्स झापाले देही आर्ट, परिवर्तन थिएटर र मेची चरा तथा वन्यजन्तु संरक्षण समाजको सहकार्यमा पूर्वकै ठूलो बौद्धिक तथा कलात्मक मेला आयोजना गरेको हो ।

विश्वको पाँचौँ अग्लो हिमाल मकालु आरोहणको ७०औँ वर्षगाँठको अवसरमा सङ्खुवासभाको मकालु गाउँपालिकामा दक्षिण एशियाली साहित्यिक–सांस्कृतिक महोत्सव पनि सकिएको छ ।

पोखरामा बिहीवारदेखि शुरू भएको १२ औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल भने आजसम्म चल्नेछ । पोखराको बाराहीघाट, लेकसाइडमा भइरहेको फेस्टिभलमा देश–विदेशका साहित्यानुरागीको जमघट रहेको आयोजक बुकवर्म फाउन्डेसनले जनाएको छ ।

देशका विभिन्न ठाउँमा भएका साहित्यिक उत्सवहरुमा कला, साहित्यसँगै समसामयिक राजनीतिक, आर्थिक र सामाजिक विषयवस्तुमा छलफल हुने गरेका छन् ।

सम्बन्धित समाचार