काठमाडौं, १९ फागुन । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले चुनावी तालमेलबारे सत्ता गठबन्धनमा रहेका दलहरूले आन्तरिक छलफल गरेपछि गठबन्धनले निर्णय लिने बताएका छन् ।
बिहीबार गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठकपछि निर्णयबारे जानकारी दिँदै उनले गठबन्धन देशमा स्थायित्व कायम गर्न गठन गरिएकाले अब पनि अघि बढ्ने बताए ।
“चुनावका विषयमा आ–आफ्ना दलका आ–आफ्ना धारणा, सजिला र अप्ठ्यारा पक्षहरूका बारेमा छलफल गरेर एउटा निष्कर्षमा पुग्छौँ । गठबन्धनमा पनि छलफल गर्छौँ,” उनले भने ।
अमेरिकी सहयोग परियोजना (एमसीसी)का विषयमा मात्रै राष्ट्रिय जनमोर्चाको फरक मत रहेकाले सरकारलाई दिएको समर्थन कामय रहने र पुनः पाँचदलीय गठबन्धन बन्ने उनको भनाइ छ । एमसीसी सम्झौता अनुमोदन भएसँगै जनमोर्चा गठबन्धनबाट अलग भएको थियो ।